दमन र गिरफ्तारीको विरोधमा अखिल (क्रान्तिकारी)ले गर्यो देशव्यापी शैक्षिक आमहड्ताल (विज्ञप्ती सहित)

जनबाटो संवाददाता । फागुन १९–नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आइतवार देशभर शैक्षिक आमहड्तालको आब्हान गरेको छ ।
अखिल क्रान्तिकारीले आफ्नो संगठनका महासचिव दीपेन्द्र चलाउने, सचिवालय सदस्य गणेश रैकाल, केन्द्रीय सदस्य, शन्तोष भट्टराई लगायत विद्यार्थी नेताहरु गिरफ्तार गरेको विरोघमा आइतवार देशभर शैक्षिक आमहड्ताल आब्हान गरेको छ ।

संगठनका अध्यक्ष पूर्णवहादुर सिंहले एक प्रेश विज्ञप्ती जारी गर्दै सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुले दुहाई दिदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजा धुजा भएको भन्दै हाम्रा नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न माग गरेको छ । संगठनले फागुन १६ गतेदेखि आन्दोलन गर्दै आएको छ ।

त्यसैगरी लुम्बिनी व्युरो अन्तर्गतका सवै शैक्षिक संघसंस्थाहरुलाई बन्द गरी आन्दोलनलाई सहयोग गर्न अपील गरिएको केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक प्रेमचन्द्र भुसालले जानकारी दिए । उनले भने–“हामीले लुम्बिनी अंचलका सवै जिल्लामा रहेका शैक्षिक संघसंस्थाहरुलाई बन्द गरी सहयोग गर्न अपील गरेको छौं ।” उनले संगठनका महासचिव लगायत नेताहरुलाई तत्काल रिहा नगरे दलाल सत्ताले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।