दार्चुलामा भारतीय हस्तक्षेप, सहमति विपरित चल्यो डोजर

रासस/भारतीय पक्षले नेपालको सहमतिबिना महाकाली नदीमाथि ४ वटा काठे पुल बनाएको छ। केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालको सहमतिबिनै पुल लगाएको हो।

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो। दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायी रुपमा काठे पुल लगाएको स्थानीयवासीले बताएका छन्।

हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवतजावत गर्ने गरेका छन्। भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ। केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हेभी इक्युपमेन्ट (डोजर) ढुवानी गर्न भन्दै पत्रमार्फत अनुरोध गरेको थियो

भारतीयको अनुरोधबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ भने गृह मन्त्रालयबाट अझै स्वीकृति नआएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

भारतले लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमिमा तीन वटा डोजरसमेत चलाएको छ। डोजरले नेपाली भूमिमा बाटोसमेत खनेको छ। नेपालको तम्बाकु खोलादेखि थिइको भीरको फेदसम्म भारतीय पक्षले पैदल बाटोसमेत निर्माण गरेको व्यास गाउँपालिका अध्यक्ष दिलीप सिंह बुढाथोकीले जानकारी दिए।

भारतले लगाउने झोलुंगे पुल तथा बाटो निर्माणका बारेमा आगामी फागुन २१ गते पिथौरागढमा हुने नेपाल र भारतका अधिकारीको समन्वय बैठकमा एजेण्डासमेत बन्ने भएको थियो।

काठेपुल निर्माण गरे नगरेको विषयमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, दार्चुला र जिल्ला प्रहरी कार्यालय बाट खटिएको संयुक्त टोलीले अनुगमन गरेपछि पुल निर्माण गरेको पुष्टि भएको हो। ‘सीमा नदीमा अस्थायी पुल निर्माण तथा दुई देशबीच सुरक्षाका हिसाबले कुनै पनि कार्य गर्दा समन्वय गर्नुपर्ने हो, भारतीय पक्षबाट समन्वय भएन,’ प्रजिअ गौतमले भने।