मगरात स्वायत्त जनपरिषदले गर्यो दलाल पुँजीवादी सत्तालाई कर नतिर्न अपील

जनबाटो संवाददाता । फागुन ३–समानान्तर सत्ताको अभ्यास गर्दै आइरहेको नेपाल कम्युनिष्ट पार्टी निकट मगरात स्वायत्त प्रादेशिक जनपरिषद् नेपालले महान जनयुद्धको २३ औं बर्षगाँठको अवसरमा प्रेश विज्ञप्ती जारी गरेको छ । मगरात स्वायत्त प्रादेशिक जनपरिषद् नेपालका प्रमुख नन्दबहादुर बुढा मगरद्धारा हस्ताक्षरित विज्ञप्तीमा कथित तीन तहको चुनाव लगत्तै अत्यधिक करवृद्धि गरि जनताको ढाड सेकिएको बताउदै दलाल संसदीय व्यवस्थालाई कुनै पनि कर नतिर्न अपील गरेको छ ।
विज्ञप्तीमा भनिएको छ–“दलाल पुँजीवादी संसदीय व्यवस्थाले चुनाव गरेलगत्तै सिंहदरवारको भ्रष्टाचार गाउँसम्म पुगेको छ । सिंहदरवारको भ्रष्टाचारले सबैखाले करबृद्धि गरी जनताको ढाड सेकिएको छ । नेपाली जनताका लागी आकसिएको करबृद्धि थेग्नै नसक्ने बोझ बनेको छ । हामी यी बोझबाट मुक्त हुन दलाल संसदीय व्यवस्थालाई कुनैपनि कर नतिर्न हार्दिक अपील गर्दछौं ।”

माथिल्लो कर्णाली, अरुण तीन र उच्च कोशी बाँध जस्ता राष्ट्रघाती सम्झौता गरेर दलाल पुँजीवादी वर्गको लागी सत्ता र कुर्सी टिकाउने साधन बनेको भन्दै दलाल पुँजीवादी र सामाजिक दलाल पुँजीवादी वर्ग सयौं बर्ष सत्तासीन भएपनि जनघात र राष्ट्रघातको श्रृंखला नरोकिने बताइएको छ ।

“अब एउटा मात्र विकल्प क्रान्ति हो । शान्ति, संवृद्धि, स्वाधिनता र समानताका लागी वैज्ञानिक समाजवादले नै समस्याको हल गर्नेछ । हामी वैज्ञानिक समाजवाद स्थापनाका लागी तीनै तहमा जनपरिषद् नेपालको झण्डामुनि गोलबन्द हुन यसै विज्ञप्तीमार्फत हार्दिक आब्हान गर्दछौं ।” –विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीको पूर्णपाठ–
आदरणीय जनसमुदाय,
महान जनयुद्धको २३ औं बार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण जनसमुदायप्रति हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं । दलाल पूँजीवादी संसदीय व्यवस्थाले तीन तहको कथित चुनावको सम्पन्न गरेको छ । हामीले पनि दुई वर्षअघि नै केन्द्रीय जनपरिषद नेपाल, १२ वटा स्वायत्त प्रादेशिक जनपरिषद र स्थानीय तहको जनपरिषद नेपाल, जनप्रतिनिधि सभाको अधिवेशनद्धारा जनपरिषदको सुसंगठित गर्दै आएका छौं । नेपालमा यतिवेला समानान्तर सरकार चलिरहेको छ ।

दलाल पुँजीवादी संसदीय व्यवस्थाले चुनाव गरेलगत्तै सिंहदरवारको भ्रष्टाचार गाउँसम्म पुगेको छ । सिंहदरवारको भ्रष्टाचारले सवैखाले करवृद्धि गरी जनताको ढाड सेकिएको छ । नेपाली जनताका लागी आकासिएको करवृद्धि थेग्नै नसक्ने बोझ बनेको छ । हामी यी बोझबाट मुक्त हुन दलाल पुँजीवादी व्यवस्थालाई कुनैपनि कर नतिर्न हार्दिक अपील गर्दछौं ।

देशमा सवैखाले जनताका उपभोग्य वस्तुहरुमाथिको गरिएको मूल्यवृद्धिले जनतालाई दैनिक जीविका चलाउन कठीन भएको छ । शिक्षामा भएको व्यापारिकरण र दलालीकरणले गरिबका छोराछोरी शिक्षा र प्राविधिक शिक्षा पढ्नबाट बञ्चित हुँदै आएका छन् भने यो मुटठीभर दलालहरुको एक्लौटी पेवा बनिरहेको छ । स्वास्थ्य उपचारमा अत्याधुनिक प्रविधिबाट प्राप्त सुविधा पनि गरिबका लागी आकाशको फल हुन पुगेको छ । यो पनि केही सम्भ्रान्त वर्गको सेवामा मात्र सीमित रहेको छ । मेसीनिकरणले श्रमीकहरु दिनदिनै बेरोजगार हुदै गएका छन् । श्रमजीवी वर्ग दलालहरुको पुँजी कमाउने स्रोत र साधन मात्र बनिरहेका छन् ।

माथिल्लो कर्णाली, अरुण तीन र उच्च कोशी बाँध जस्ता राष्ट्रघाती सम्झौता दलाल पुँजीवादी वर्गको लागी सत्ता र कुर्सी टिकाउने साधन बनेका छन् । दलाल पुँजीवादी तथा सामाजिक दलाल पुँजीवादी वर्ग सयौं बर्ष स्थायी सरकार बनाएर सत्तासीन भएपनि जनघात र राष्ट्रघातको श्रृंखला रोकिनेवाला छैन ।

अब एउटा मात्र विकल्प क्रान्ति हो । शान्ति, संमृद्धि, स्वाधिनता र समानताका लागी वैज्ञानिक समाजवादले नै समस्याको हल गर्नेछ । हामी वैज्ञानिक समाजवाद स्थापनाका लागि तीनै तहमा जनपरिषद नेपालको झण्डामुनि गोलबन्द हुन यसै प्रेश विज्ञप्तीमार्फत हार्दिक आब्हान गर्दछौं । बाटो चुनौतिपूर्ण छ, तर भविष्य उज्ज्वल छ ।
क्रान्तिकारी अभिवादन सहित
………………………
नन्दवहादुर बुढा मगर
प्रमुख
मगरात स्वायत्त प्रादेशिक जनपरिषद् नेपाल