झक्कु सुवेदी र लेखनाथ न्यौपानेले छाडे माओवादी केन्द्र

जनबाटो संवाददाता । माघ १६–नेकपा माओवादी केन्द्रका दुई चर्चित नेताले राजिनामा दिएका छन् । प्रदेश नम्बर ३ का संयोजक समेत रहेका नेता सुवेदीले राजनामा पत्र केन्द्रीय कार्यालयमा पेश गरेका छन् ।

त्यसैगरी काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले पनि राजिनामा दिएका छन् । सुवेदी र न्यौपानले एक महिना पहिले नै राजिनामा दिइसकेको बताइएको छ । सुवेदी स्थायी समिति सदस्य हुन् भने न्यौपाने पोलिट्‍ब्यूरो सदस्य ।

पेरिसडाँडा स्रोतका अनुसार प्रतिनिधि र प्रदेशसभामा पार्टीले खराब परिणाम ल्याएको भन्दै दुबै नेताले नैतिक रुपमा जिम्मा लिँदै राजनामा दिएका हुन् । यसबारे माकेले अाधारिक रुपमा केही बताएको छैन । पार्टी अध्यक्षले प्रचण्डले नै राजिनामालाई सार्वजनिक नगर्न भनेपछि गुपचुपमै राखिएको छ ।

एमालेसँगको एकताप्रति पनि दुबै नेताहरुले फरक मत राख्दै अाएका छन् । केही दिन पहिले पार्टीकै एउटा कार्यक्रममा इन्चार्ज न्यौपानेले माकेले एमालेमा विलय हुन लागेको तर त्यो भन्न नमिल्ने भएका कारण अाफू चुप लागेको बताएका थिए ।

संयोजक सुवेदी छोरा सन्तोषको लाइनमा र न्यौपाने श्रीमतीको लाइनमा भएकै कारण राजिनामा दिएको भन्दै माओवादी केन्द्रका नेताहरुले व्यांग्य गर्न थालेका छन् । सन्तोष नेपाल कम्युनिस्ट पार्टीका रोल्पा सेक्रेटरी हुन् भने न्यौपानेकी श्रीमती कर्मचारी तथा गृहणी हुन् ।

संयोजक सुवेदीले पहिलो संविधान सभामा एमाले नेता माधव कुमार नेपाललाई हराएर चर्चामा अाएका थिए भने न्यौपानले लामो समय अखिल क्रान्तिकारीको शसक्त नेतृत्व गरेका थिए ।