राजनीतिक अधिकार नपाएपछि मुसहरहरु चुनाव बहिस्कारको तयारीमा

जनबाटो संवाददाता । मंसिर ६, काठमाडौं । देशैभरी अहिले चुनावी माहौल रहे पनि दलितभित्र पनि सबभन्दा बढी पिछडिएको जाति मुसहर खुशी छैनन् । सधैँ छुवाछुतविरुद्ध संघर्ष गर्दै आएका मुसहरहरु अब राजनीतिक अधिकारको खोजी गर्दैछन् । सरकारी तथ्यांक अनुसार मधेशमा मुसहरको जनसंख्या दुई लाख ३४ हजार चार सय ९० छ । तर मुसहरसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले देशैभरी मुसहरको जनसंख्या १२ लाखको हाराहारीमा रहेको दाबी गर्छन् ।

चुनावी दलहरुले मुसहरलाई भोट बैंकको रुपमा प्रयोग आरोप लगाएका छन् । स्थानीय निकायको निर्वाचनमा पनि एक जना पनि मुसहरले प्रमुख अथवा उपप्रमुखमा जितेनन् ।  धनुषाका मुसहर अगुवा रामदयाल सादा भन्छन्, ‘राज्यले मुसहरको नाममा पहाडका दलितलाई हाल्ने गरेका छन् । आरक्षण होस् अथवा कुनै अवसर सबैमा उताकै दलितहरु परेका छन् । मधेशका दलित पनि बहिस्कृत नै छन् ।’

निर्वाचन बहिस्कारको तयारी
देशभरका २४ जिल्लाका मुसहर अगुवाहरु काठमाडौंमा भेला भएर राजनीतिक आन्दोलन अगाडि बढाउने निर्णय गरेका छन् ।
उनीहरुले सोही अनुसार प्रतिनिधि सभा अथवा प्रदेश सभाको निर्वाचनमा कुनै पनि मुसहर उम्मेदवार नभएको भन्दै निर्वाचन बहिस्कार गर्ने तयारी गर्दैछन् ।

विभिन्न राजनीतिक दलका नेताहरुलाई राष्ट्रिय सभामा मुसहरको प्रतिनिधित्व गराउन आग्रह गरिएको । तर हालसम्म कुनै दलले आश्वासनसमेत नदिएको मुसहरहरुले बताएका छन् । उनले मुसहरहरु चुनाव बहिस्कारको तयारीमा लागेको बताउँदै राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने कुनै पहल नभए अन्तिम निर्णय लिइने बताएको छ ।

कात्तिक २५ र २६ गते काठमाडौंमा भएको मुसहरहरुको भेलाले ६ बुँदे निर्णय गरेको थियो । अभियानका प्राविधिक सहयोगी राजकुमार महतोले प्रत्यक्षतर्फ यो समुदायका कसैलाई पनि अवसर नदिइएको बताउँदै समानुपातिकतर्फ समेत बेवास्ता गरिएकोमा बताए । महतोले भने,‘प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनाव र राष्ट्रिय सभामा मुसहर समुदायको जनसंख्याको आधारमा सम्मानजनक प्रतिनिधीत्व गराउन मुसहरहरु लागि परेका छन् ।’