प्रचण्डले भने– ‘प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन’

जनबाटो संवाददाता । मंसिर ४, काठमाडौं । छोरा प्रकाश दाहालको आकस्मिक निधन भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी कार्यक्रम सकेर झापाबाट काठमाडौं फर्के ।

बल्खुस्थित बयोधा अस्पतालमा उनी चढेको हेलिकोप्टर ल्याण्ड भएपछि उनी सिधै लाजिम्पाटस्थित निवास पुगे, पत्नी सीता दाहालको अवस्था बुझ्न, उनलाई सम्झाउन ।

प्रचण्ड निवासमा पुगेको केही समयपछि नै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, मुख्य सचिव लोकदर्शन रेग्मी र गृहसचिव मोहनकृष्ण सापकोटा प्रचण्ड परिवारलाई समवेदना प्रकट गर्न प्रचण्ड निवास पुगे ।
मुख्य सचिव रेग्मी र गृहसचिव सापकोटासँगै प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दीलिप रेग्मीपनि प्रचण्ड निवास पुगेका थिए ।

प्रचण्ड निवासमा यो टोली करिव आधा घण्टा रह्यो । प्रचण्ड परिवारलाई समवेदना प्रकट गरेपछि उच्च प्रशासनिक र सुरक्षा प्रमुखहरुको टोलीले प्रचण्डसँग सोध्यो, ’उहाँ (प्रकाश) को असामयिक निधन भएको छ । उहाँको निधनका सम्बन्धमा हजुरहरुलाई कुनै शंका छ कि ! यस विषयमा अनुसन्धान गर्नुपर्ने हो कि !’

स्रोतका अनुसार, मुख्य सचिवको उपस्थितिमा सुरक्षा निकाय प्रमुखहरुले यस्तो कुरा राखेपछि प्रचण्डले प्रकाशको निधनबारे छोटो जानकारी दिएका थिए ।

नाम उल्लेख गर्न नचाहने एक सुरक्षा निकायका प्रमुखका अनुसार, प्रचण्डले भनेका थिए, ‘प्रकाश ३–४ दिनदेखि विरामी थियो । खाने कुरामा पनि त्यति रुचि थिएन । ज्वरो पनि आइरहेको थियो । विरामी भएकाले बाहिर कसैसँग सम्पर्क पनि थिएन ।’

यति भन्दै प्रचण्डले के पनि जानकारी दिए भने, ‘ज्वरो सामान्य नै थियो । त्यसलाई हामी सबैले सामान्य नै ठान्यौ । तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो । यदि ज्वरो नघटेको भए आइतबार बिहानै अस्पताल लगिन्थ्यो ।’
‘तर अकस्मात यस्तो घटना भयो । ३–४ दिन यता उसको कसैसँग सम्पर्क नभएको र घरमा पनि कोही नआएकाले त्यस्तो शंका गर्नुपर्ने स्थिति छैन ।’

छोरा प्रकाशसँग आफ्नो शनिबार दिउँसो पनि फोनमा कुरा भएको जानकारी पनि प्रचण्डले दिए ।