८८ किलो सुन तस्करी ‘सशस्त्र प्रहरीको मिलेमतोमा’

जनबाटो संवाददाता, कार्तिक १३, काठमाडौं । भदौ १९ मा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भूमिका देखिएको छ ।
महानगरीय अपराध महाशाखा उच्च स्रोतका अनुसरा ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राइभर खोजिदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए । प्रहरीले सुन बरामद भएलगत्तै तस्करीको सुन ओसार्न प्रयोग गरिएको गाडी चलाएका मनोज अधिकारी सहितका तीन चालक पक्राउ गरेको थियो ।
तिनै चालकहरूले दिएको बयानका आधारमा नेपाल प्रहरीले तस्करीमा सशस्त्र प्रहरीको शंकास्पद भूमिकामाथि छानबिन सुरु गरेको थियो । प्रहरीका अनुसार सुन ओसार्न भदौ १५ मै गाडी केरुङ नाका हुँदै चीन पुगेको थियो । त्यसैलेले काठमाडौं प्रहरी परिसरले अनुसन्धानका क्रममा उक्त दिन ड्युटीमा खटिएका सशस्त्र प्रहरीको नामावली माग्दै पत्राचार गरेको थियो ।
लामो समयसम्म पत्रको जवाफ नदिएपछि परिसरले नामावली माग्दै सोही बेहोराको दोस्रो पत्र पनि काट्यो । प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरीको मुख्यालयसम्मै यो विषय पुगेपछि र बारम्बारको फोन ताकेतापछि केरुङ नाकामा उक्त दिन खटिएका सशस्त्र प्रहरीको नामावली परिसरले पाएको थियो । पत्र पाएपछि काठमाडौं प्रहरी परिसरले सशस्त्र प्रहरीका एक असईसहित चार जवानलाई बोलाएर सोधपुछ गरेको थियो ।
केरुङ नाकामा खटिएको सशस्त्र प्रहरी युनिटको नेतृत्व सम्हालिरहेका डीएसपी प्रकाश वाग्लेले आफूहरूले ड्युटीमा खटिएकाहरूको नामावली पठाएको पुष्टि गरे ।