साहित्यकार पारस राहादी मगरको रिहाइका लागी सर्वत्र अपिल

साउन १८, बुटवल । साहित्यकार पारस राहादी मगरको गिरफ्तारी विरुद्ध सरकारको सर्वत्र विरोध गर्दै विभिन्न साहित्यिक संघसंस्थाहरुले तत्काल उनको रिहाइको माग गरेको छन् । आइतबार प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिको तर्फबाट केन्द्रीय अध्यक्ष प्रा.डा. जितेन्द्रदेव गिरी र महासचिव समिर सिंहले प्रेस विज्ञप्ती जारी गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । विज्ञप्तीमा विचार प्रवाह गरेकै आधारमा कुनै पनि स्रष्टालाई गिरफ्तार गर्नु गलत भएको बताएका छन् । त्यसैगरी प्रलेस रुपन्देही शाखाले पनि नेपाली साहित्यको क्षेत्रमा उदयीमान युवालाई विचारको आधारम गिरफ्तार गरी झुठा मुद्दा लगाउने कार्यको घोर विरोध गरेको छ । विज्ञप्तीमा राहादी मगरको गिरफ्तारी निन्दनीय र संविधान विपरित रहेको बताएको छ ।

त्यसैगरी बुटवल साहित्य परिषदका अध्यक्ष बसन्त पोखरेल एक विज्ञप्ती जारी गर्दै कलम बोकेर श्रमजीवी वर्गको पक्षमा क्रियाशील साहित्यकार राहादी मगरलाई गिरफ्तार गरी झुठा मुद्दाको आरोप लगाउनु निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । उनले सरकारले स्रष्टाहरूमाथि दमन गरेर विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध उभिएको भन्दै देश तथा श्रमिक जनताको पक्षमा कलम चलाउँदै आएका सम्पूर्ण स्रष्टाहरुलाई निर्वाध रूपले सिर्जनात्मक क्षेत्रमा क्रियाशील हुने वातावरण सिर्जना गर्न माग गर्दै राहादी मगरको गिरफ्तारीप्रति घोर आपत्ति सहित रिहाइको माग गरेका छन् ।

त्यसैगरी गजल सागर नेपालले गिरफ्तारीको विरोध गरेको छ । अध्यक्ष मिन राना र सचिव कृष्ण गाउँलेले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, “कवि पारसलाई विप्लव नेतृत्व नेकपा पार्टीको नाममा प्रहरीले गिरफ्तार गरी झुट्ठा मुद्वा लगाएर फसाउन खोजेको छ । नेपाली साहित्य क्षेत्रका उदयमान युवालाई विचारको आधारमा गिरफ्तार गरी झुट्टामुद्दा लगाउने कार्यको गजल सागर, नेपाल घोर बिरोध गर्दछ । गिरफ्तार गरिएका पारस राहाडीलाई विनासर्त तत्काल रिहा गरी नेपाली साहित्य क्षेत्रको सम्मान गर्न हामी सरकारसंग माग गर्दछौ ।”

साहित्यकार पारस राहादी मगर रुपन्देहीमा बुटवल साहित्य परिषद्, साहित्य संगम, गजल सागर नेपाल लगायत दर्जनौं साहित्यिक तथा सांस्कृतिक संगठनहरुमा आबद्ध रहेर सिर्जनात्मक क्षेत्रमा क्रियाशील रहेका छन् ।

उनको गिरफ्तारीपछि साहित्यकारहरु बलाराम तिमिल्सिना, खोमा तरामु मगर, मुक्तान थेबा, निभा शाह, ज्ञानु केसी, विहानी मगर, लिला राना मगर, रसुवाली कवि, रामचन्द्र श्रेष्ठ, श्याम पोखरेल, विकल्प खत्री, माधवकुमार पौडेल, सुर्जन तिवारी, सागर केसी, श्रीराम स्वरुप, प्रगति राना, टिका राना, अर्जुन तरामु, प्रदीप राहादी, गुणदेव सिंजाली, गणेश थापा , गणेश खनाल, टेकराज भुसाल,यज्ञप्रसाद न्यौपाने, गणेश खनाल, राजेश थापा, सुमिना, दलबहादुर गुरुङ, पुरन भट्टराई, कृष्ण गाउँले, ऋषी आजाद, सुमन भण्डारी, गुणाखर भट्टराईलगायतले रिहाइका लागी माग गरेका छन् ।

Print