तिनाउ नदी बढ्यो, दोभानमा पहिरो

साउन १५, बुटवल ।  केहीदिन यता लगातार परेको वर्षाले बुटवलको तिनाउ नदीको जलसतह बढेको छ। गत वर्षको तुलनामा यस वर्ष निरन्तर वर्षा भइरहे पनि तिनाउमा खासै जलसतह बढेको थिएन। बिहीबार बिहान भने यसवर्षकै सबभन्दा धेरै जलसतह बढेर बाढीको जोखिम निम्तिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान तिनाउमा ठूलो बाढी आएर नदीको जलसतह २ मिटर बढेको महाशाखाले जनाएको छ।

तिनाउको मुहान रहेको पाल्पा तथा सिद्धबाबा क्षेत्रमा ठूलो पानी आउँदा तिनाउमा एक्कासि जलसतह बढ्ने गर्दछ बिहीबार बुटवलसँगै पाल्पा क्षेत्रमा पानी परिरहेको र दिनभरि नै ठूलो पानी पर्न सक्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ।

तिनाउ नदीको वारिपारि किनारमा रहेका बासिन्दा हरेक वर्ष बाढीको उच्च जोखिममा रहने गर्दछन्। तिनाउ तटीय क्षेत्र पुरानो बसपार्क, सुन्दरनगर, मजुवा, बिनापाते, हात्तिसुढ लगायतका बस्तीमा सयौं परिवार बाढीको जोखिममा रहेका छन्। यी बस्तीमा ४ हजारभन्दा बढी घरहरू नदी किनारमा जोखिम मोलेर बस्दै आएका छन्।

बुटवल-दोभान सडकखण्ड अवरूद्ध

सिद्धार्थ राजमार्गको बुटवल-दोभान सडकखण्ड पहिरोका कारण अवरूद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै रहेको हेडबक्समा पहिरो झर्दा सडक अवरूद्ध भएको हो।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बिहीबार मध्यान्ह पौने १२ बजेतिर सडक माथिबाट पहिरो झरी सडक अवरूद्ध भएको जानकारी दिए।

ठूला ढुंगा सहितको पहिरोले सडक अवरूद्ध बनाएपछि बुटवलबाट पाल्पातर्फ जाँदै गरेका सवारी साधनलाई सिद्धबाबा वारि नै रोकिएको पाण्डेले जानकारी दिए। त्यस्तै, पाल्पाबाट बुटवलतर्फ आउँदै गरेका सवारी साधन पनि दोभानतर्फ नै रोकिएका छन्। सिद्धबाबा तथा दोभान क्षेत्रमा ठूलो पानी परिरहेकाले पहिरो हटाउन नसकिएको उनले बताए।