आगो !

शारदा भण्डारी अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन् । उनले लुम्बिनी क्षेत्रमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुका साथै श्रमिक जनताको पक्षमा कविता लगायत विभिन्न लेखहरु लेख्दै आएकी छन् । उनको यहाँ प्रस्तुत छ ‘आगो’ शीर्षकको कविता ।

-शारदा भण्डारी-

 

बिर्सेर हो कि उसले ?

पटाकाको टुप्पोमा सल्काउदा

अनि गर्दा प्रयोग मनोरञ्जनमा

भन्दै गर्दा आगो मनोरञ्जन हो,

आगो समाउने हात फेरिएपछी

झिल्को बनेर चुलोमा घेरिएपछी

आगो प्राण पनि बन्न सक्छ !

 

बिर्सेर हो कि उसले ?

गरिबको झुपडीमा सल्काउदा

अनि देखाउदा आफ्नो हैकम

भन्दै गर्दा आगो शक्ति हो,

आगो समाउने हात फेरिएपछी

मसाल बनेर महलमा घेरिएपछी

आगो त्रास पनि बन्न सक्छ !

 

बिर्सेर हो कि उसले ?

निमुखाको बस्तीमा सल्काउदा

अनि देखाउदा आफ्नो सार रुप

भन्दै गर्दा आगो हतियार हो,

आगो समाउने हात फेरिएपछी

बारुद बनेर महलमा घेरिएपछी

आगो डाइनामाइट पनि बन्न सक्छ !

 

बिर्सेर हो कि उसले ?

गरिबको बस्तीमा सल्काउदा

अनि देखाउदा आफ्नो सत्ता उन्माद

भन्दै गर्दा आगो सत्ताको जीवन हो,

आगो समाउने हात फेरिएपछी

डढेलो बनेर महलमा घेरिएपछी

आगो मृत्यु पनि बन्न सक्छ !

 

ए, बिर्सनेहरु हो याद गर !

आगो मनोरञ्जन हो,

आगो प्राण पनि हो,

आगो शक्ति हो,

आगो त्रास पनि हो,

आगो हतियार हो,

आगो डाइनामाइट पनि हो,

आगो सत्ताको जीवन हो,

आगो मृत्यु पनि हो,

आगो पतन पनि हो,

आगो मार्गदर्शन पनि हो !!

000