सपनाको भन्ज्याङतिर : निरन्तर क्रान्तिको दस्ताबेज

सपनाको भन्ज्याङतिर निरन्तर क्रान्तिको दस्ताबेज हो । सहिदपथमा उभिएर नयाँ क्रान्तिको युगीन कार्यभार पूरा गर्ने दृढता हो । जनसङ्घर्ष, जनआन्दोलन र जनयुद्धमा भएको सम्झौता, धोका, गद्दारी र महापतनलाई घृणा, विरोध र प्रतिरोध गर्दै दलाल पुँजीवादी सत्ताको खरानीमा वैज्ञानिक समाजवाद स्थापनार्थ एकीकृत जनक्रान्तिको महाअभियानमा सहभागी बन्न सबैलाई आह्वान हो ।

-पूर्णबहादुर सिंह

क) सुरुआत

सपना आदर्श, उद्देश्य, नयाँ भविष्यको आशा र नयाँ सङ्कल्प पनि हो । यो निद्रामा देखिने सपनाको सवाल होइन । यो नयाँ जनक्रान्तिको भविष्य, जीवन र सङ्कल्पको सपना हो । ‘सपना ती होइनन्, जो सुतेर देखिन्छन् । सपना ती हुन् जसले सुत्न दिँदैनन्’, एपीजे अब्दुल कलामले भनेझैँ क्रान्तिकारीहरूका सपना राष्ट्र र जनताका खातिर आत्मत्यागमय ढङ्गले समर्पित भएर सङ्घर्ष र विजय हो । प्रतिक्रान्तिलाई नयाँ क्रान्तिमा र निराशालाई नयाँ आशामा बदल्ने सुन्दर सपना हो । सपनाको मृत्युले मानिसको जीवनमा सबैभन्दा असह्य पीडा दिन्छ तर दर्शक मात्र बन्ने जिन्दगीका लागि । हामी त जिन्दगीमा भाग लिइरहेका छौँ । हाम्रो सपना मरेको छैन । सपनाको तेजोबधकर्ताहरू नै विपनामा गद्दार एवम् महापतनको आर्यघाटमा खरानी बनिरहेका छन् । हामी सुस्केरा हालेर, विलाप गर्दै समयको बर्बादी गर्न जान्दैनौँ । हामी सुन्दर सपनाको सतिसाल दृढतामा विजयको शिखर चुम्न वेगवान् एवम् अविचलित रूपमा अघि बढिरहेका छौँ । ‘पराजित सेनाले मात्र सिक्न सक्दछ’, लेनिनले भनेझैँ हामी सम्झौता, धोका र प्रतिक्रान्तिबाट सिकेर धोकारहित अवश्यम्भावी विजयको सगरमाथा देखिरहेका छौँ । राष्ट्र र जनताको सपना हामी साकार पार्नेछौँ । कमरेड खोमा तरामु मगरको ‘सपनाको भन्ज्याङतिर’ निबन्धसङ्ग्रह केही दिनअघि मैले प्राप्त गरेँ । अद्योपान्त अध्ययन गरेँ । यहाँ यसका बारेमा केही उल्लेख गर्न लागिरहेको छु । यो मेरो समालोचना र समीक्षा होइन, केवल परिचर्चा मात्र ।

ख) निबन्धकार

ठूलो ल्हुम्पेक, गुल्मीबाट वर्गसङ्घर्षमा श्रेष्ठ विचारयुक्त एवम् उदात्त भावनासहित होमिएको एक योद्धा, युवा स्रष्टा, कवि र निबन्धकार हुनुहुन्छ– कमरेड खोमा तरामु मगर । कुनै औपचारिक उपमा र हैसियतले व्यक्ति (मानिस) लाई खासै फरक पार्दैन । उसको दृढता, समर्पण र क्रियाशीलतालाई तिनीहरू पछ्याउँदै आउने गर्छन् । क्षमता आममानिसमा हुन्छ तर विशिष्ट क्षमता विरलैमा । भयानक विचलन, महापतन र प्रतिक्रान्तिलाई नयाँ क्रान्तिमा पुनर्सङ्गठित गर्ने अभियानका क्रममा हामी परिचित भएका हौँ । गौरवशाली नेकपाका आदरणीय महासचिव कमरेड विप्लव प्रमुख अतिथि र आदरणीय कमरेड सुदर्शन प्रमुख रहेको स्कुलिङ (काठमाडौँ) मा हाम्रो पहिलो भेट भएको हो । ‘पूर्वमा बग्ने सुनकोसी, पश्चिममा बग्ने भेरी, वर्गीय मायाले भेट भयो हाम्रो फेरि’ गीतझैँ हामी एकीकृत जनक्रान्तिका अभियन्ता हौँ । खोमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गतको अखिल नेपाल लेखक सङ्घको महासचिवको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । वैचारिक स्पष्टता, वर्गीय पक्षधरता, कार्यतत्परता र कुशलता उहाँमा अन्तरनिहित विशेषता हुन् । ‘युवा पुस्ताका अत्यन्त आशालाग्दा र भरपर्दा स्रष्टा पनि हुनुहुन्छ खोमा । युवा पुस्ताका सशक्त स्रष्टा कविका रूपमा स्थापित खोमालाई निबन्धमा पाउँदा पाठकहरूलाई कविता पढेको भान हुन्छ र आलोचकहरूलाई नेपाली माक्र्सवादी साहित्याकाशमा भर्भराउँदा युवा स्रष्टाको उपस्थितिले निकै आशावादी बनाउँछ’ भनेर अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष, माक्र्सवादी साहित्य प्रतिष्ठानका अध्यक्ष कमरेड अशोक सुवेदीले प्रकाशकीय भूमिका (पृष्ठ ३–४) मा स्पष्ट रूपले उल्लेख गर्नुभएको छ । साहित्यिक–सांस्कृतिक आन्दोलनमा क्रियाशीलताकै उपज उहाँ कृष्ण सेन ‘इच्छुक’ पुरस्कारद्वारा पुरस्कृत पनि हुनुभएको छ ।

ग) निबन्ध

‘सपनाको भन्ज्याङतिर’ निबन्धहरूको सङ्ग्रह हो । १५२ पृष्ठको यो कृतिमा जम्मा २६ वटा निबन्धहरू सङ्गृहीत छन् । यसमा २०६९ देखि ०७६ सम्म विभिन्न घटना, स्थान, सन्दर्भ, पात्र, प्रवृत्ति आदि समेटेर लेखिएका निबन्धहरू रहेका छन् । ‘मुलुकमा आमूल परिवर्तन चाहनेहरूका निम्ति उनका निबन्धहरूमा अमृतवर्षा भएको पाइन्छ भने यथास्थितिवादी, अझ प्रतिगमनकारीका लागि उनका निबन्ध बिखालु काँडा भई बिझाइरहेका छन्’ आदरणीय दिल साहनी र ‘न्यायलाई दबाउन खोज्ने र सत्यलाई छोप्न खोज्नेजति मूर्ख संसारमा अरू कोही हुँदैनन् । …यतिबेला शासकहरू वर्गसङ्घर्षलाई निस्तेज पार्ने मूर्खता गरिरहेका छन् र आगोलाई जिस्क्याउँदैछन्’, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष आदरणीय कमरेड माइला लामाले कृतिको सार (बाहिरी गाताको पछाडि) उल्लेख गर्नुभएको छ । ‘आख्यानात्मकता बोकेका प्रायः सबै रचनाहरूले पाठकलाई लोभ्याइरहन्छन् । मौलिक र सरल शैलीका कारण अझै पढौँ, अझै रमाऊँ भन्दाभन्दै कृति सकिएको पत्तै हुँदैन’, प्रकाशकीयमा आदरणीय कमरेड अशोक सुवेदीले यस कृतिको आकर्षणलाई व्यक्त गर्नुभएको छ ।

मूलतः निबन्ध विधामा यस कृतिले वर्ग, विचार, दृष्टिकोणसहितको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत शोषण, उत्पीडन, विकृति, विसङ्गतिका विरुद्ध विद्रोह एवम् क्रान्ति बोलेको छ । विशुद्ध सपना होइन, सुन्दर सपनाको शिखर चढ्ने उत्प्रेरणा पैदा गरिरहेको छ । ‘जुनसुकै प्रकारको गम्भीर क्रान्तिकारी कार्यको सफलताका लागि क्रान्तिकारीहरूले वास्तवमा नै सजीव र प्रगतिशील वर्गको अग्रदलको भूमिका मात्रै खेल्न सक्छन् भन्ने कुरा बुझ्न र यस कुरालाई जीवनमा लागू गर्न आवश्यक छ’, लेनिन (लडाकु भौतिकवादको महत्व, सङ्कलित रचनासङ्ग्रह, खण्ड ४५, पृष्ठ २३–३३) ले भनेझैँ स्रष्टाले यस कृतिमा राष्ट्र र जनताप्रति समर्पित हुने, एकाकार हुने र सुन्दर सपना जीवनमा साकार पार्ने सङ्कल्प गर्नुभएको छ । ‘विभिन्न कार्यक्षेत्रहरूमा गैरकम्युनिस्टहरूसँग मेलमिलाप नगर्ने हो भने कुनै पनि सफल साम्यवादी निर्माणबारे कुरै नगरे हुन्छ’, लेनिन (उही) ले भनेझैँ निबन्धकारले ‘सपनाको भन्ज्याङ’ मा रहेका प्रगतिशील, देशभक्त, क्रान्तिकारीहरूलाई सपनाको शिखरमा पुर्याउने अठोट र आह्वान गर्नुभएको छ । ‘आँधीको राजमार्गमा एक्लै हिँड्न असम्भव छ । सिर्जनात्मक यात्रामा प्रियजनहरूको सानिध्यको अनिवार्यता कति महत्वपूर्ण हुन्छ भन्ने कुरा विदितै रहेको विषय हो’, लेखकीयमा प्रस्ट रूपले उल्लेख भएको छ । ‘हामी जिन्दगीमा हरेक बाधा र कठिनाइका चुचुराहरू नाप्दै क्रान्तिको नयाँ शिखरमा पुग्न आँधी र तुफानसँग लड्दै वर्गसङ्घर्षमा सामेल छौँ’ (सहिदभूमिमा उभिएर, पृष्ठ १५) सपनाको भन्ज्याङबाट महान् अभीष्टसहित विजयको शिखर पुुग्ने दृढता स्पष्टै देखिन्छ । ‘हरेक मान्छेले सपना देख्छ । सामथ्र्यअनुसार सपनाको पनि कद हुँदोरहेछ । विपना सपनाको गन्तव्य हो । अर्थात् जीवन छ र त सपना छ । सपना छ र त जीवन । सपना र जीवनबीच द्वन्द्वात्मक सम्बन्ध छ’, (सपना ओढेको त्यो रेसुङ्गा, पृष्ठ २६) लेखकले सपनाको लक्ष्य, उद्देश्य र गन्तव्य मात्र होइन, जीवन र सपनाको महत्व र औचित्य पुष्टि गर्नुभएको छ ।

घ) विषयगत पक्षहरू

१) वैचारिक पक्ष

‘हतियारद्वारा सुसज्जित छन् उनीहरू । हामीसित त्योभन्दा शक्तिशाली अर्थात् मालेमावादी विचार र बलिदानीपूर्ण भावना छ’, (मधेसमा गुन्जिएको अनेकोट, पृष्ठ २९) उल्लेख गर्दै पुँजीवाद, सांस्कृतिक प्रदूषण, उपभोक्तावादी, उत्तरआधुनिकतावादी चिन्तन र कोकाकोला (साम्राज्यवादी) संस्कृति सहरदेखि गाउँसम्म पुगेको छ । ‘यसका विरुद्ध लड्ने वैचारिक हतियार भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । अर्थात् साहित्य र कलाका क्षेत्रमा समाजवादी यथार्थवाद हो र सांस्कृतिक आन्दोलनमा अबको बाटो ‘येनान गोष्ठी’ र ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ ले देखाएको बाटो नै हो’ (लेखकीय, पृष्ठ ८) मा व्यक्त विचार र दृष्टिकोणले वैचारिक पक्ष दृढतापूर्वक र स्पष्ट रूपले अभिव्यक्त भएको छ ।

२) वर्गीय पक्षधरता

‘वर्गीय समाजमा हरेक मान्छे कुनै न कुनै विशेष वर्गको सदस्य भएर रहन्छ र बिनाकुनै अपवादले हरेक किसिमको विचारमा विशिष्ट वर्गको छाप परेकै हुन्छ । हामी वर्गभन्दा निरपेक्ष रहन सक्दैनौँ । हामी वर्गसापेक्ष क्रान्तियात्रामा छौँ’ (गुन्जिरहेछन् गाउँमा यी गीतहरू, पृष्ठ १९) मा उल्लेख गर्दै लेखकले वर्गीय समाजमा विचार, दृष्टिकोण, राजनीति, युद्ध, क्रान्ति, कला, साहित्य, संस्कृति, व्यक्ति आदि सबै वर्गसापेक्ष रहने सार्वभौम विज्ञानलाई आत्मसाथ गर्दै वर्गीय पक्षधरताको स्पष्ट पक्षपोषण गर्नुभएको छ ।

३) बलिदानको मूल्यबोध

‘रगतले इतिहास लेखेर जो सहिद भए, जसले परिवर्तनका सपना साकार पार्न पसिना बगाए र आजादीका लागि ज्यान कुर्वान गरे, उनीहरूको सपना पूरा गर्नु हाम्रो कर्तव्य हो’ (झन्डा बोकेर सूर्यास्तमा, पृष्ठ ४२) मा निबन्धकारले महान् जनयुद्ध र एकीकृत जनक्रान्तिका मृत्युञ्जयी अमर सहिद, बेपत्ता योद्धा तथा उनीहरूका परिवारजनहरूको सपना साकार पार्ने प्रण गर्नुभएको छ । ‘हाम्रो हृदयमा बहुसङ्ख्यक जनताको सपना छ र त्यसका निम्ति मर्दा मृत्यु गौरवशाली हुँदोरहेछ’ (पृष्ठ ५८) मा क्रान्तिमा हुने बलिदानको मूल्यबोध प्रस्ट गर्नुभएको छ । जनयुद्धका दसौँ हजार महान् सहिद, दिलबहादुर रम्तेल, लली रोका, कृष्ण सेन इच्छुक, चुनु गुरुङ, मनोज, च्याङ्बा लामालगायत र एकीकृत जनक्रान्तिका अमर सहिद धनरूप बटाला, सनराइज, तीर्थ घिमिरे, निरकुमार राई, कुमार पौडेल, महान्, दीपेन्द्र, रामकुमार, निरन्तर, प्रज्वलहरूको सगरमाथाझैँ उच्च बलिदानको मूल्यबोध र उहाँहरूको सपना फलीभूत बनाउने दृढता निबन्धमा व्यक्त भएको छ ।

४) प्रतिक्रान्तिका विरुद्ध नयाँ क्रान्ति

‘सपना बेचिखाने वर्गशत्रुप्रति तीव्र घृणा र आक्रोश बोकेर विद्रोहका ज्वारभाटा उठाइरहेछन्’ (पृष्ठ २०), ‘यो युगको नयाँ उचाइबाट … नयाँ अभियानमा छौँ हामी’ (पृष्ठ १६), ‘यो समय निस्पट्ट अँध्यारो चिरेर क्रान्तिको जून फुल्ने बेला हो’ (पृष्ठ २२), गडबडी गर्नु, असफल हुनु, फेरि गडबडी गर्नु र परास्त नहुँदासम्म गडबडी गर्नु दुस्मनहरूको तरिका र ‘सङ्घर्ष गर्नु, असफल हुनु, फेरि सङ्घर्ष गर्नु, असफल हुनु, विजय प्राप्त नगरुन्जेल सङ्घर्ष गरिरहनु, यो मालेमावादी नियम हो’ (पृष्ठ ५८–५९) भनेर निरन्तर क्रान्तिका पक्षमा दृढता व्यक्त गर्नुभएको छ । ‘हामीलाई तथाकथित पुँजीवादी गणतन्त्रका नाउँमा चलाइएको अत्याचारका पक्षमा चारणगीत गाउन स्वीकार्य छैन । हामीले निर्भयपूर्वक सत्य बोल्ने सङ्कल्प गरेका छौँ । जनताका पक्षमा लेख्नु, जीवनका पक्षमा सिर्जना गर्नु, वर्गसङ्घर्षको गीत गाउनु हाम्रो दायित्व हो’ (पृष्ठ ४२) उल्लेख गर्दै निबन्धकारले प्रतिक्रान्तिका विरुद्ध नयाँ क्रान्तिको पक्षपोषण गर्नुभएको छ । जनसङ्घर्ष, जनआन्दोलन र जनयुद्धमा भएको सम्झौता, धोका, गद्दारी र महापतनलाई उहाँले घृणा, विरोध र प्रतिरोध गर्दै दलाल पुँजीवादी सत्ताको खरानीमा वैज्ञानिक समाजवाद स्थापनार्थ एकीकृत जनक्रान्तिको महाअभियानमा सहभागी बन्न सबैलाई आह्वान गर्नुभएको छ ।

५) बहुआयामिक पक्ष

नेपालका हिमाल, पहाड र तराईमा रोग, भोक, अशिक्षा आदिले आक्रान्त सविना विक, दुःखीरामहरूको जीवनकहानी, विदेशमा रोजीरोटीका लागि पुगेका लाखौँलाख युवाहरूको सपना, सहिद परिवार, हजारौँ अस्मिताका आर्तनादहरू, बेपत्ता योद्धा पूर्ण पौडेलकी आमाहरूका करुण क्रन्दनहरू, चरम यातनामा पनि तिमीहरूले हारेका छौ भनेर दुस्मनलाई सवक दिने तर जीवनको भिक नमाग्ने कृष्ण सेन इच्छुकहरू, जुलियस फ्युचिक र वीरभूषण पटनायकको दृढता, बाहुनडाँडामा छापामार गम्भीरहरूका जीवनलीला र राष्ट्रियताका प्रतिमूर्ति उजिरसिंह थापाहरूले बचाएको जितगढीको वीरतापूर्ण इतिहास आदिको वर्णन यो निबन्धसङ्ग्रहमा छ । राष्ट्रियता, जनतन्त्र र जनजीवन सबै समेटिएका छन् । देशको भूगोगको प्राकृतिक सौन्दर्य, सम्भाव्यता आदि बोलेको छ । इच्छुक र चुनुहरूका गीत, कविता र जीवनगाथाहरू कोरिएका छन् । शिवगढी लालगाउँ र अजम्मरी कम्युनका सपनाहरू कुँदिएका छन् । सामाजिक दलाल पुँजीवादी सरकारको फासिवादी दमन र प्रतिरोध अनि एकीकृत जनक्रान्तिका अभियानहरूका उपलब्धिहरू पनि ।

ङ) अन्त्यमा

सपनाको भन्ज्याङतिर निरन्तर क्रान्तिको दस्ताबेज हो । सहिदपथमा उभिएर नयाँ क्रान्तिको युगीन कार्यभार पूरा गर्ने दृढता हो । जनसङ्घर्ष, जनआन्दोलन र जनयुद्धमा भएको सम्झौता, धोका, गद्दारी र महापतनलाई घृणा, विरोध र प्रतिरोध गर्दै दलाल पुँजीवादी सत्ताको खरानीमा वैज्ञानिक समाजवाद स्थापनार्थ एकीकृत जनक्रान्तिको महाअभियानमा सहभागी बन्न सबैलाई आह्वान हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको संवद्र्धनको सन्देश हो । पुँजीवाद, सांस्कृतिक प्रदूषण, उपभोक्तावादी, उत्तरआधुनिकतावादी चिन्तन र कोकाकोला (साम्राज्यवादी) संस्कृतिविरुद्धको जेहाद हो । आमजनताको जीवनगाथा कोरिएको सङ्घर्ष, बलिदान र विजयको शिखरसम्म पुग्ने प्रण र अपिल पनि हो । निबन्धकार खोमा तरामु मगरलाई हार्दिक शुभकामना ।

२९ असार, २०७७

(source :-www.eratokhabar.com)