मोदीले क्रान्तिकारी कवि वरवर रावलाई जेलमै मार्दै छन्

‘सहरी नक्सल’ को झुट्टा मुद्दामा जनताका प्रिय कवि वरवर राव यतिबेला जेलमा मृत्युका विरुद्ध सङ्घर्ष गरिरहनुभएको छ ।

– खेम थपलिया

ऊ धर्तीबाट आतङ्कित भयो
धम्कीमाथि धम्की दिँदै
डरमाथि डर फिँजाउँदै
ऊ आफैँ डरायो
ऊ निवासस्थानबाट डरायो
ऊ पानीदेखि डरायो
ऊ स्कुलहरूदेखि डरायो
ऊ हावादेखि डरायो
स्वतन्त्रतालाई उसले नेल लगायो
तर हतकडी बजे
र, ऊ त्यस आवाजदेखि डरायो ।
– वरवर राव

अन्याय र अत्याचारका विरुद्ध आफ्नो कलमद्वारा शब्दहरूको विशाल र प्रतिरोधी जुलुस प्रदर्शन गर्नुहुने कवि वरवर रावलाई आफ्नै जीवनरक्षार्थ यतिबेला सहयोद्धाहरूबाट विशाल र प्रतिरोधी आवाजको आवश्यकता परेको छ । यतिबेला विश्वभरबाट ‘भारतीय क्रान्तिकारी कवि वरवर रावको जीवन रक्षा गर’ भन्ने आवाज उठिरहेको छ । कवि वरवर राव यतिबेला महाराष्ट्रको तलोजा जेलमा गम्भीर बिरामी अवस्थामा हुनुहुन्छ । उहाँको अवस्था कतिखेर के हुने हो, भन्न सकिने अवस्था छैन । रावले आफ्नो कवितामा भन्नुभएजस्तै भारतीय शासक यतिबेला आफैँदेखि डराएको छ । उसले जनताको स्वतन्त्रतालाई हतकडी लगाएको छ । ऊ हतकडीको आवाजदेखि डराएको छ । ऊ अरूदेखि डराएको त छँदै छ, आफैँदेखि पनि यत्ति डराएको छ कि जनपक्षीय स्रष्टादेखि उसको सातो गएको छ । त्यसैले त यतिबेला भारतीय फासिवादी शासक नरेन्द्र मोदी क्रान्तिकारी कवि वरवर रावलाई जेलमै हत्या गर्न खोज्दै छ ।

मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर रावलगायतका बुद्धिजीवी, सामाजिक अभियानकर्मीहरूको गिरफ्तारी र अदालतको आदेशपश्चात् घरमै गरिएको नजरबन्द गरिएको थियो । पछि फेरि उहाँहरूलाई जेलमा लगिएको थियो । मोदी फासिवादले भारतका बहुचर्चित सामाजिक अभियन्ता एवम् बुद्धिजीवीलाई करिब २२ महिनाअघि हिरासतमा लिएको थियो । महाराष्ट्रको भीमा–कोरेगाउँमा आयोजना गरिएको कार्यक्रमले हिंसात्मक रूप लिएपछि त्यसबेला दलित युवाहरूको हत्या एवम् अल्पसङ्ख्यकका घर र पसलसमेत लुटिएका थिए । भीमा–कोरेगाउँको घटनामा भारतीय सरकारले माओवादीको घुसपैठको आरोप लगाउँदै लेखक, पत्रकार, मानवअधिकारवादी, वकिलसमेत आधा दर्जन सामाजिक कार्यकर्तालाई माओवादीसम्बद्ध ‘सहरी नक्सल’ भनेर प्रचार गर्दै आइरहेको छ ।

भारतीय फासिवादी मोदी सरकार ‘सहरी नक्सल’ को नाममा आज पनि देशव्यापी छापा मार्ने तथा धरपकड गर्ने काम गरिरहेको छ । उसले विभिन्न मुद्दा लगाएर नजरबन्द तथा जेलबन्द गरिनुभएका माक्र्सवादी चिन्तक तथा कवि वरवर राव मात्र होइन, सुधा भारद्वाज, वरनान गोन्जाल्विज, गौतम नवलखालगायत स्थापित व्यक्तित्वहरूप्रति कठोर रुख अपनाइरहेको छ । नेपालको १० वर्षको जनयुद्ध, माओवादी विचार र तत्कालीन नेतृत्वको प्रचार–प्रसारमा उहाँहरूको ठूलो भूमिका थियो । उहाँहरूले हिजो नेपाली माओवादीको ठूलो पङ्क्तिलाई प्रत्यक्ष सहयोग पु¥याउनुभएको थियो । उहाँहरूले कैयौँ माओवादी नेता तथा कार्यकर्ताको जीवन रक्षा गर्नुभएको थियो । हिजो हामीलाई अप्ठ्यारो पर्दा उहाँहरूले हामीलाई साथ र समर्थन दिनुभएको थियो, आज उहाँहरूलाई हाम्रो आवाज, साथ र समर्थनको खाँचो छ ।

निःशस्त्र कलमजीवीहरूलाई घरमा नजरबन्द गरेर, तिनका किताबखाना तथा आफन्तहरूका घरमा छापा मारेर एवम् विभिन्न बहानामा जेल–हिरातमा राखिनु भारतीय क्षेत्रीय फासिवादको ज्वलन्त नमुना हो । नेपाल पनि आज यस्तै यस्तै गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ । नेपालमा पनि लेखक साहित्यकारमाथि ओली फासिवादको डण्डा लगाइएको छ । आज पनि लेखक हेमन्तप्रकाश ओली ‘सुदर्शन’, उमा भुजेल ‘शिलु’, भरत बम, चर्चित जनकलाकार माइला लामाहरू लामो समयदेखि जेलको कठोर यातना भोगिरहनुभएको छ । भारतीय फासिवादी मोदी सरकारभन्दा नेपालको फासिवादी ओली सरकार कुनै मूल्यमा पनि पृथक देखिँदैन । यसर्थ, यो आँखा खोलेर हेर्ने र कलम तिखार्ने बेला हो । परिवर्तनकामी सबै लेखक, साहित्यकार तथा कलाकर्मीहरूलाई सबैखाले र सबैतिरका सामाजिक फासिवाद तथा क्षेत्रीय फासिवादका विरुद्ध प्रतिरोधी आन्दोलन उठाउन अपरिहार्य भइसकेको छ ।

माक्र्सवादी चिन्तक एवम् कवि वरवर राव सन् १९४० मा तत्कालीन आन्ध्रप्रदेशको वारङ्गलमा जन्मिनुभएको थियो । उहाँ क्रान्तिकारी कवि, समालोचक, राजनीतिकर्मी एवम् बुद्धिजीवीका रूपमा स्थापित हुनुहुन्छ । भारतमा मात्र होइन, विश्वस्तरमै बौद्धिक क्षेत्रमा माओवादी बुद्धिजीवीका रूपमा सुपरिचित रावको साहित्य तथा राजनीति दुवैमा उत्तिकै लगाव रहेको पाइन्छ । भारतीय सरकारले उहाँलाई पटक–पटक जेल, नजरबन्द र हिरासतको कठोर सजाय दिँदै आएको छ । केही समयअघि उहाँसित पत्रकार ऐसिक चन्दाले गरेको कुराकानीलाई नेपालमा द नेक्स्ट फ्रन्टले प्रकाशित पनि गरेको थियो । त्यसबेला रावले भन्नुभएको थियो, “भविष्य भनेको माओवादी आन्दोलन नै हो, जुन एक मात्र वैकल्पिक राजनीति हो । जनता संसदीय प्रजातन्त्रबाट वाक्कदिक्क भएका छन्, खास गरेर मोदी सरकारमा आएपछि । सञ्चार–माध्यमहरूले मोदीलाई प्रधानमन्त्री बनाए । ‘अच्छे दिन’ को नारा दिएका उनले प्रधानमन्त्री भएलगत्तै इन्धनको भाउ उचाइमा पु¥याए र रेल्वेको भाडा पनि बढाए । तेलङ्गनामा राज्य सरकार र केन्द्र सरकारको व्यवहारले जनता तिनछक परेका छन् । आन्ध्रको तिरुपतिमा ‘अपरेसन ग्रीन हन्ट’ विरुद्धको कोठेसभा गर्न रोक लगाइयो । थुप्रै ठाउँमा खुला जनसङ्गठनका नेताहरूलाई पक्राउ गरिएको छ । यस्तो स्थितिमा माओवादी आन्दोलनले तेलङ्गना र अन्य नयाँ राज्यमा थप शक्ति आर्जन गर्ने कुरा पक्का छ ।”

भारतीय माओवादी विचारक, तेलुगुभाषी कवि वरवर रावको सेप्टेम्बर २०१६ को समकालीन तीसरी दुनियाँमा अर्को एक महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित भएको थियो । अनिल शर्माद्वारा अनुदित उक्त अन्तर्वार्तामा रावले भन्नुभएको थियो, “माओवादीको रणनीति हो दीर्घकालीन सशस्त्र सङ्घर्ष । जनतालाई मेरुदण्ड बनाएर नयाँ जनवादी क्रान्ति गर्नु त्यसको लक्ष्य हो । सङ्घर्षको मुख्य रूप युद्ध हुनेछ, जसमा जनसङ्गठनले जनआन्दोलनको नेतृत्व गर्छन् । आधारभूत सङ्घर्ष जमिनका लागि हो । ‘जमिन जोत्नेको’ एउटा आर्थिक नारा हो । जोताहालाई जमिन दिलाउनु आधारभूत आर्थिक नारा हो । जमिनदारका दलालहरूसँग र प्रहरी तथा राज्य सरकारका विरुद्ध जमिन रक्षाका लागि सशस्त्र सङ्घर्ष अनिवार्य छ । यो सङ्घर्षको सैन्यरूप हुनेछ । अन्तिम लक्ष्य केन्द्रीय सत्ता कब्जा हो । जसरी सोभियत सङ्घमा सम्पूर्ण सत्ता सोभियत सङ्घमा र चीनमा कम्युनमार्फत् जनतालाई हस्तान्तरण गरिएको थियो; त्यसरी नै भारतमा पनि सम्पूर्ण सत्ता जनतालाई हस्तान्तरण गरिनुपर्छ । चारु मजुमदारले यसलाई निकै सुन्दर ढङ्गले भन्नुभएको छ– आधारभूत आर्थिक सङ्घर्ष हो जमिन ! छापामार सङ्घर्ष यसको सैन्यरूप हो र राजनीतिक लक्ष्य सत्ता कब्जा गर्नु हो । यो नै पार्टीको रणनीति हो । विरसमजस्ता जनसङ्गठनका लागि हामीले कुनै रणनीति वा कार्यनीति बनाउँदैनौँ । नयाँ जनवादी क्रान्तिलाई सहयोग पुग्नेखालका साहित्यिक–सांस्कृतिक कार्यक्रम निर्माण गर्छौँ । जस्तो कि माओले भन्नुभएको थियो– हरेक क्रान्तिका लागि दुई प्रकारका सेनाको आवश्यकता पर्छ, एउटा आधारभूत सेना, जसले मुख्य सङ्घर्षको नेतृत्व गरोस् र दोस्रो सांस्कृतिक सेना, जसले मुख्य मोर्चालाई सहयोग गरोस् ।” प्रसिद्ध भारतीय लेखक प्रेम चन्दले भन्नुभएको थियो– हामी कलमका सिपाही हौँ ।”

यतिबेला भीमा कोरेगाउँको मामिलामा मोदी सरकारले झुट्टा मुद्दा लगाएर ८१ वर्षीय कवि एवम् बुद्धिजीवी वरवर रावलाई महाराष्ट्रको तलोजा जेलमा कैद गरिराखेको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । रावको परिवारदेखि धेरैले र धेरैतिरबाट राम्रो अस्पतालमा उपचारका लागि जति आग्रह गरिए पनि मोदी सरकारले सुनेको नसुन्यै गरिरहेछ । उहाँलाई केही समयअघि अस्पताल लगिएको पनि झारा टार्ने खालको मात्र थियो । जनताका लेखक, कवि, कलाकारलाई दमन र उत्पीडन गर्ने मामिलामा काङ्ग्रेस आई पनि बीजेपीकै लाइनमा उभिएको छ । आदिबासी जनजातिमाथि दमनमा पनि काङ्ग्रेस आई मोदीको मुख्य सहयोगी बनेको छ । भारतका संसदीय फाँटका अन्य राजनीतिक दलको पनि हालत उस्तै छ । मोदीको नेतृत्वमा रहेको भारत यतिबेला अन्धराष्ट्रवाद, धार्मिक रुढीवाद र सामाजिक फासिवादको चौपल नचाइरहेको छ । यसबाट भारतीय शासकको जनविरोधी चेहेरा झनै मुखरित हुँदै गएको छ ।

कवि वरवर रावको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उहाँको परिवारले १२ जुलाई २०२० मा एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँको जीवन रक्षाको माग गरेको छ । प्रस्तुत छ– हिन्दी भाषामा जारी गरिएको उक्त विज्ञप्तिको कवि बलराम तिमिल्सिनाको नेपाली रूपान्तर ः वरवर रावलाई जेलमा हत्या नगर ! हामी, नवी मुंबईको तलोजा जेलमा कैद गरिनुभएका विश्वप्रसिद्ध तेलुगु क्रान्तिकारी कवि तथा जन बुद्धिजीवी, वरवर रावका परिवारका सदस्य, उहाँको बिग्रँदो स्वास्थ्यलाई लिएर धेरै चिन्तित छौँ । उहाँको स्वास्थ्यको स्थिति जब २८ मई २०२० मा उहाँलाई अचेत अवस्थामा तलोजा जेलबाट जेजे अस्पताल लगिएको थियो, त्यो छ हप्ता बढी समयदेखि डरलाग्दो बनेको छ । जब कि उहाँलाई तीन दिनपछि नै अस्पतालबाट बिदा गरेर जेल फिर्ता गरिएको थियो तर उहाँको स्वास्थ्यमा कुनै सुधार भएको छैन र उहाँलाई अझै पनि आपतकालीन चिकित्सकीय हेरविचारमा राख्न जरुरी छ ।

हाम्रो चिन्ताको तात्कालिक कारण शनिबार साँझमा आएको उहाँको नियमित फोनले गर्दा हामी असाध्यै चिन्तित छौँ । २४ जून र २ जुलाईमा आएका दुईवटा फोन पनि निराश पार्नेखाले थिए । उहाँको आवाज कमजोर र धोद्रोजस्तो लागिरहेको थियो, बोल्दै गर्दा उहाँ चिप्लनुहुन्थ्यो र अचानक हिन्दी बोल्न थाल्नुहुन्थ्यो । उहाँ पाँच दसकदेखि तेलुगु भाषाका एउटा राम्रो वक्ता र लेखक हुनुहुन्छ, चारदसकसम्म तेलुगु भाषाको शिक्षक हुनुभएको छ र आफ्नो तीक्ष्णस्मृतिको लागि सुपरिचित हुनुहुन्छ । यस्तो अवस्थामा बोल्दाखेरि लर्खराउने, चिप्लिने र भुल्ने हुनु आफैँमा एउटा आश्चर्य लाग्नेखाले र डर लाग्ने कुरा थियो । भर्खरै ११ जुलाईमा आएको फोन कैंयौँगुणा बढी चिन्ताजनक छ । उहाँलाई सोधिएको स्वास्थ्यसम्बन्धी सिधा प्रश्नको जवाफ उहाँले दिनुभएन र आफ्ना माता एवम् पिताको अन्तिम संस्कारको बारेमा बहकिँदै बहकिँदै कुरा गर्न थाल्नुभयो, जुन कुरा क्रमशः सातदसक र चारदसक पहिलेका घटना हुन् । अनि उहाँका सहआरोपी साथीले उहाँबाट फोन लिएर हामीलाई भन्नुभयो कि उहाँ हिँडडुल गर्न, शौचालय जान र दाँत माझ्न पनि सक्षम हुनुहुन्न । हामीलाई उहाँका साथीले भनेअनुसार उहाँलाई रिहा गरिँदै छ भन्ने लाग्छ रे ! आफ्ना परिवारका सदस्यहरू जेलको ढोकामा पर्खिरहेका छन् भन्ने उहाँलाई सधैँ भ्रम हुने गर्छ रे !

उहाँका कैदी साथीले भनेअनुसार उहाँलाई शारीरिक मात्र होइन, न्युरोलोजिकल समस्याको लागि पनि तत्काल चिकित्सकीय हेरविचारको जरुरी छ । भ्रम, स्मरण शक्ति गुमाउनु र दिमागले सिलसिला नपक्रनु इलेक्ट्रोलाइट असन्तुलन र सोडियम र पोटासियमको स्तरमा गिरावटको परिणाम हो । जसले मस्तिष्कलाई क्षति पु¥याइरहेको छ । यो इलेक्ट्रोलाइट असन्तुलनले ज्यान जोखिममा पनि पार्न सक्छ । तलोजा जेलको अस्पतालमा यस्तोखाले गम्भीर बिरामीको लागि न त कुनै चिकित्सा विशेषज्ञ छन्, न उपकरण नै छ । त्यसैले उहाँको जीवनरक्षाको लागि र इलेक्ट्रोलाइट असन्तुलनको कारण सम्भावित मस्तिष्कमा हुने क्षति र जीवनमाथिको जोखिमबाट बचाऊको लागि उहाँलाई तत्काल कुनै राम्रो अस्पतालमा स्थानान्तरण गर्न एकदमै आवश्यक छ । यो समय हामी अन्य सबै कुरालाई उपेक्षा गरिरहेका छौँ– जस्तो कि उहाँका विरुद्ध पुरै षड्यन्त्र रचिएको छ । उहाँले विचाराधीन कैदीको रूपमा २२ महिना जेलमा बिताउनुप¥यो, जहाँ प्रक्रियालाई नै सजायमा फेर्ने काम भयो । उहाँको धरौटीमा छुट्ने आवेदनहरू कमसेकम पाँचपटक खारेज गरिसकिएको छ । यहाँसम्म कि उहाँको उमेर, खराब स्वास्थ्य र कोभिडको जोखिमको आधारमा धरौटीको लागि दिइएको आवेदनलाई पनि नजरअन्दाज गरिएको छ ।

उहाँको जीवन अहिले हाम्रो लागि सबैभन्दा धेरै चिन्ताको विषय हो । यो समय हाम्रो माग उहाँको जीवनरक्षाको लागि हो । हामी सरकारसँग माग गर्छौँ कि उहाँलाई कुनै राम्रो अस्पतालमा स्थानान्तरित गरियोस् या हामीलाई आवश्यक चिकित्सा सुविधा प्रदान गर्ने अनुमति दिइयोस् । हामी सरकारलाई सम्झाउन चाहन्छौँ कि सरकारलाई कुनै पनि व्यक्तिको जीवनको अधिकारबाट बञ्चित गर्ने कुनै अधिकार छैन, एउटा विचाराधीन बन्दीलाई त झन् बिल्कुलै छैन ।
पी. हेमलता (पत्नी), पी. सहजा, पी. अनला, पी. पावना (छोरीहरू)

क्रूर शासकहरू जनपक्षीय शक्तिालाई दमन गर्न र ब्रह्मलुटको स्वर्गको रक्षा गर्न अनेक निहुँ खोजिरहेका हुन्छन् । वरवर रावहरूमाथिको ‘सहरी नक्सल’ को आरोप मोदी सरकारको त्यही निहुँ खोजाइ थियो । ‘सहरी नक्सल’ को झुट्टा मुद्दामा जनताका प्रिय कवि वरवर राव यतिबेला जेलमा मृत्युका विरुद्ध सङ्घर्ष गरिरहनुभएको छ । फासिवादी मोदी वरवर रावलाई जेलमै हत्या गर्न खोजिरहेको छ । ८१ वर्षको उमेरमा पनि मोदी सरकार कवि रावलाई रिहा र उपचार गर्न अस्वीकार गरिरहेछ । यो मोदीको अमानवीय, संवेदनहीनता र गैरजिम्मेवारीपनाको पराकाष्ठा हो । आउनुहोस्, वरवर रावको रिहाइका लागि विश्वभरिका न्यायप्रेमी संस्कृतिकर्मीद्वारा दबाब सिर्जना गरौँ । समवेत स्वरमा भनौँ– क्रान्तिकारी वरवर रावलाई तत्काल रिहा गर । क्रान्तिकारी कवि वरवर रावको जीवन रक्षा गर । क्रान्तिकारी कवि वरवर रावलाई जेलमै नमार । कलमजीवीहरूमाथि दमन बन्द गर ।

२९ असार, २०७७