ठूलो लुम्पेकमा पहिरोको कहर : १ बर्षसम्म पनि पुनर्वास भएन, पहिरोको त्रासदी उस्तै

असार ७, गुल्मी । गुल्मीको ठूलो लुम्पेकमा पहिरोको अत्यधिक जोखिम बढेको छ । बर्खा सुरु भएसँगै स्थानीयबासीहरु त्रसित भएका छन् । दुईदिन देखि लगातार पानी परेपछि पहिरो गएर सडक, खेतबारी, घरगोठहरुमा क्षति हुन सुरु भएको छ । अत्यधिक घरगोठहरु जोखिममा रहेका छन् । एकबर्ष अगाडी पहिरोको ठूलो विपत्ति आएपछि प्रदेश सरकार र स्थानीय गाउँपालिका र वडा कार्यालयले पुनर्वास एवं व्यवस्थापन गर्ने घोषणा गरेर निकै तामझाम र प्रचारबाजी गरेपनि एकबर्षसम्म एकघर पनि पुनर्वास हुन सकेको छैन ।

अहिले लगातार पानी परेपछि पहिरोको डरले स्थानीयहरु रातीमा घर छाड्ने थालिसकेका छन् । उनीहरु सबैमा पोहोर सालको विपत्तिको घटना दोहोरिने हो भन्ने चिन्ता गरेका छन् । गत बर्ष साउन ७ गते राती भीषण पानी परेपछि पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । विपत्तिमा परेका पीडितहरुलाई पुनर्वास गर्ने भनेर देश विदेशबाट समेत स्वतःस्फुर्त रुपमा ठूलो पैमानामा आर्थिक तथा जिन्सी सहयोग उठेको थियो भने प्रदेश सरकार र स्थानीय पालिकाले यसको व्यवस्थापन गर्ने भनी प्रतिबद्धता समेत गरेको थियो ।

घटनास्थलमा पुगेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश सरकार सामाजिक विकास मन्त्री सुदर्शन बराल, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी लगायत नेताहरुले पुनर्निर्माणको लागी पुरै सहयोग गर्ने बताएका थिए । अहिले एक बर्षपछि फेरि बाढी पहिरोको त्रासदीले उही अवस्था दोहोरिन थालिसक्दा पनि पुनर्निर्माणको कामले भने सिन्को भाँच्न सकेको छैन । उनीहरुको त्यो प्रतिबद्धता झुट सावित भएको छ । स्थानीयले ती नेताहरु जनताको वास्तविक सेवा गर्नुभन्दा पनि राजनीतिक उद्देश्यले प्रेरित भएर चुनावको भोट सुरक्षित गर्न मात्र आएको बताएका छन् । विपत्तिको पुनर्निर्माण हुन नसक्नुका अर्को कारण राजनीतिक पुर्वाग्रही रहेको बताइएको छ । जहाँ सबैभन्दा बढी विपत्तिले प्रभावित पार्यो, उक्त स्थान आफ्नो दलसँग सम्बन्धित मतदाता नरहेकोले पुनर्निर्माणमा पुर्वाग्रही बनेको एक स्थानीय समाजसेवीले बताए ।

गत बर्ष पहिरोले ठूलो लुम्पेकमा १४० घर उच्च जोखिम रहेको, १८ वटा पूर्ण रुपमा क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । ती घरहरु पुनर्निर्माण गर्नका लागी बजेट छुट्याइएको तर अहिलेसम्म एउटा घर पनि निर्माण भएको छैन । गोर्खा वेल्फेयरले २ वटा घरमात्र निर्माण गरेको छ । प्रदेश सरकारले निर्माण गर्न लागेको काम पनि स्थानीय सरकारले रोकेको स्थानीयको गुनासो रहेको छ । प्रदेश सरकारले ठूलो लुम्पेक र लिम्घामा ६९ घर पुननिर्माण गर्ने बताएको थियो ।
पुनर्निर्माणका लागी सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्ष सुवर्ण ज्वारचन, रुकबहादुर राना, दानबहादुर राना, यादव भण्डारी रहेको विपद व्यवस्थापन समिति बनाएको थियो । तर समितिले एक बर्षसम्म पनि काम गर्न नसकेपछि तीव्र विरोध भएको छ । स्थानीयले पीडितको नाममा आएको रकमको हिसाब सार्वजनिक गर्नुपर्ने, पुनर्निर्माण तत्काल गर्नुपर्ने, ठाउँ छनौटमा स्थानीयसँग समन्वय गर्नुपर्ने, अहिले जोखिम रहेका स्थानीयलाई तत्काल सुरक्षित स्थानमा राख्नुपर्ने, ढिलासुस्ती गर्नेलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

“गाउँ–गाउँमा सिंहदरबार”, “सुखी नेपाली समृद्ध नेपाल”, “भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिदैनँ” भन्ने नारा दिएर चुनावपछि बनेको स्थानीय, प्रदेश र संघीय सरकारले आधारभूत जनताको सेवा गर्नुभन्दा सास्ती मात्रै दिएको भन्दै जनता आक्रोशित भएका छन् । स्थानीय सरकार नारा भन्दा उल्टो परिणाम भएपछि सर्वत्र बदनाम भएको छ । “पुनर्निर्माणको नाममा पुराना घर देखाएर आफ्ना कार्यकर्तालाई बजेट बाँड्ने, आफ्ना मतदाताको मात्रै घर निर्माण गर्ने, केही जनप्रतिनिधिको हददर्जाको राजनीतिक पूर्वाग्रही, अदुरदर्शी, बडप्पन, जिद्दी, दम्भ र घटिया व्यवहारले विपतमा परेका ठूलो लुम्पेक र लिम्घाका पीडित जनताले दुःख पाएका छन् ।” –एक स्थानीय समाजसेवीले बताए ।

file photo