रुकुम हत्याकाण्ड र अमेरिकामा रङभेद विरुद्ध पाल्पामा विरोध सभा

असार १, पाल्पा । दलित मुक्ति मोर्चा नेपाल पाल्पाले रुकुम हत्याकाण्ड र अमेरिकामा रङ्गभेद विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख वक्ता दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य निशान विकले एक्काइसौं शताब्दीको लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा मान्छे मान्छेबीचमा जातीय छुवाछुट कायम रहेको र राज्यले दलित समुदायको मुक्तिका लागी प्रभावकारी पहल नगरेकोमा खेद प्रकट गरेका छन् । उनले देशमा विद्यमान जातीय असमानता, विभेदसँगै कोरोनाको भाइरस कोभिड १९ लगायत समस्याहरुलाई कुल्चेर कमिसनको चक्कर सहित केपी सरकार एमसीसी पास गर्ने दाउपेच विरुद्ध र रुकुम नरसंहार मच्चाउने हत्याराहरुलाई कारवाही गर्न दवाव दिन संघर्षमा उत्रिनु परेको बताए ।

युवा संगठन नेपाल पाल्पाका अध्यक्ष लिला सारु मगरले विद्यमान अराजकताको समाधान र राष्ट्रिय स्वाधीनताका निम्ति सबै एकभएर लाग्नुपर्ने बताए । कार्यक्रममा प्रगतिशील कलाकार अमरदीप विकले जातिय उत्पीडनका विरुद्ध सङ्घर्ष नै अन्तिम विकल्प भएकोमा जोड दिए ।

कार्यक्रमलाई मोर्चाका सदस्य गंगा विकले सहजीकरण गरेका थिए भने प्रगतिशील साहित्यकार रुपसिंह विकले रुकुम हत्याकाण्डबारे कविता प्रस्तुत गरेका थिए ।

जेठ १० गते रुकुमको चौरजहारी सोती गाउँमा नवराज विक लगायत ५ जना युवाहरुमाथि निशृंश हत्या गरिएको थियो भने २५ मई, २०२० मा अमेरिकाको मिनिएपोलिस सहरमा ४६ वर्षीय अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोएडको ड्युटीमा रहेको अमेरिकन प्रहरीद्वारा निर्ममतापूर्वक हत्या गरिएको थियो ।