अमेरिकामा जातीय हिंसाविरूद्व प्रदर्शन

मिनियापोलिस, जेठ १९/ (एएफपी) । संयुक्त राज्य अमेरिकाका प्रमुख सहरहरूमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तिव्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ । प्रदर्शनकारीहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई बेवास्ता गरी सडकमा उत्रिएका थिए ।

मिनियापोलिसमा आक्रोशित प्रदर्शनकारीहरूले आगजानी गरेको प्रहरीको सवारीसाधन (एपी)

अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिंसा फैलिएको छ । भीड नियन्त्रण गर्न खटाइएका दङ्गा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अमानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो ।
लस एन्जलस, शिकागो र एटलान्टासमेतका दुई दर्जन सहरमा मानिसहरूलाई स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरी रातभरि घरमै बस्न आदेश दिएको थियो । यहाँ नेसनल गार्डका सैनिकलाई पनि तैनाथ गरिएको थियो जुन अमेरिकी इतिहासमा बिरलै देख्न सकिने घटना हो ।
सियाटलदेखि न्युयोर्कसम्म दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरूको एकमात्र माग थियो, अश्वेत युवा जर्ज फ्लोएडका हत्या आरोपी प्रहरीलाई कडाभन्दा कडा सजाय होस् र घटनामा संलग्न अरू प्रहरीलाई पनि गिरफ्तार गरियोस् ।
मिनियापोलिसका पुलिस अधिकृत डेरेक चौभिनले जर्ज फ्लोएडलाई ८ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयविदारक दृश्य सार्वजनिक भएपछि हिंसा भड्किएको हो । सास फेर्न छाडेपछि पनि चौभिनले झन्डै ३ मिनेटसम्म फ्लोएडको घाँटी थिचेको आरोप छ ।
लस एन्जलसमा उग्र प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाएपछि प्रहरीले उनीहरूलाई तितरवितर गर्न रबरको गोली र लाठीचार्ज गरेका थिए ।
शिकागो र न्युयोर्कलगायतका धेरैवटा सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका थिए । फिलाडेल्फियामा प्रदर्शनकारीले पसलका झ्यालहरूमा ढुङ्गामुढा गरेर तोडफोड गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसमा भएका लुटपाट र आगजनीका लागि अति दक्षिणपन्थी समूह सक्रिय रहेको आरोप लगाउनुभएको छ । प्रदर्शनकारीहरूले फ्लोयडको स्मृतिलाई पनि अनादर गरेको ट्रम्पले बताउनुभयो ।

राष्ट्रपतिले भन्नुभयो, “हामीले एउटा अराजक सानो समूहलाई हाम्रा सहरहरू तोडफोड गर्ने छुट दिनुहुँदैन । मेरो प्रशासनले भीडको हिंसा रोक्नेछ र हामीले यसलाई निर्मम ढङ्गबाट रोक्नुको विकल्प छैन ।”
अमेरिकी सीमा नाघेर प्रदर्शन क्यानाडाको टोरन्टो पनि पुगेको छ । प्रदर्शनकारीहरूले “अश्वेतको जीवनको महत्व छ”, “म सास फेर्न सक्दिनँ” भन्ने जस्ता नारा अमेरिकादेखि क्यानाडासम्म लागेको छ । जर्ज फ्लोयडका भनाइहरू अहिले प्रहरी क्रुरताको नयाँ प्रतीक बनेका छन् ।
मिनेसोटाका गभर्नर टीम वाल्जले मिनियापोलिस सेन्टपल क्षेत्रमा प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन १३,००० शक्तिशाली राष्ट्रिय गार्ड (अर्धसैनिक प्रहरी) परिचालन गरिएको बताउनुभएको छ ।
मिनियापोलिसतर्फ जाने सबै प्रमुख राजमार्गहरूमा शनिबार राति सैनिक हेलिकप्टरहरूले आकाशबाट गस्ती गरेका थिए ।
यसैबीच, अमेरिकी पूर्वउपराष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकाभर जारी जातीय प्रदर्शनसँगै भएको हिंसात्मक घटनाको निन्दा एवं भत्र्सना गर्नुभएको छ । उहाँले अन्यायका विरुद्धमा आवाज उठाउने अमेरिकीहरूको अधिकार भएको बताउनुभएको छ ।
“यस्तो क्रुरताको विरुद्धमा प्रदर्शन गर्ने अधिकार र आवश्यक दुवै हो । तर, आगजनी र अनावश्यक तोडफोड जरुरी होइन । मानिसको जीवनलाई खतरामा लैजाने हिंसा हामीले चाहेको होइन । मानिसको जीवनमा अत्यावश्यक व्यवसाय बन्द हुने हिंसा अक्षम्य हो ।” उहाँले एक विज्ञप्ति प्रकाशित गरी भन्नुभएको छ ।

-मजदुर अनलाइन