सांस्कृतिक बलिदान दिवसको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको अपील

सांस्कृतिक बलिदान दिवसको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको अपील

आदरणीय संस्कृतिकर्मीहरू !
महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को स्मृति र सम्मानमा यतिबेला देशव्यापी विविध कार्यक्रम भइरहेका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्ष इच्छुकले सहादत प्राप्त गर्नुभएको जेठ १३ लाई सांस्कृतिक बलिदान दिवसको रूपमा मनाउँदै आएको छ । १९औँ सांस्कृतिक बलिदान दिवसको सन्दर्भमा हामी महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ लाई हार्दिकतापूर्वक क्रान्तिकारी अभिवादन गर्दछौँ । यस विशिष्ट सन्दर्भमा हामी देश र जनताका पक्षमा कुर्बानी गर्नुहुने सबैलाई सम्मानका साथ स्मरण गर्न चाहन्छौँ ।
निगम पुँजीवादले आफ्नो विषालु फणा विश्वभर फैलाइरेहको यतिबेला कोरोना भाइरस ‘कोभिड १९’ सित विश्व मानव जगत्को भीषण सङ्घर्ष चलिराखेको छ । कोरोनाका कारण विश्वमा अकल्पनीय मानवीय सङ्कट चुलिँदै छ । विशेषतः कोरोनाले उत्पीडित तथा श्रमजीवीलाई नै बढी असर पु¥याएको छ । शासकहरूका चरम लापरवाह र घोर उपेक्षाका कारण मजदुरहरू सयौँ किलोमिटरको पैदल यात्रा गर्न बाध्य छन् । मानिसहरू भोकभोकै मर्न थालेका छन् । कोरोनाभन्दा पनि बढी आभाव र गरिबीका कारण आत्महत्या गर्नेहरूको सङ्ख्या तीव्र बन्दै छ । मानिसहरू ‘मर्नुभन्दा बौलाउनु निको’ भन्दै सडकमा मरेको कुकुरको मासु खान थालेका छन् । यसले समकालीन विश्वको राजनीतिक व्यवस्था र तिनका शासकीय औकात छर्लङ्ग बनाइदिएको छ । कोरोनाका कारण मृत्युवरण गरेका विश्वभरका कवि, कलाकार, लेखक, साहित्यकार, सङ्गीतकारलगायत समस्त संस्कृतिकर्मीप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ । सङ्क्रमितहरूको यथाशीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौँ । स्रष्टाहरूको रक्षार्थ उपलब्ध साधन–स्रोतहरूको अधिकतम उपयोग गर्न पनि हामी विशेष अपिल गर्दछौँ ।
हामी यतिबेला इतिहासकै सङ्गीन घडीबाट गुज्रिरहेका छौँ । केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको पनि प्रतिबन्ध डेढवर्ष नजिक पुग्दै छ । हामी प्रतिबन्धित अवस्थामै आफ्नै कला र कौशल प्रयोग गरेर देश र जनताको पक्षमा काम गरिरहेका छौँ । एकीकृत जनक्रान्तिमा एघारजना कमरेडहरूले सहादत प्राप्त गरिसक्नुभएको छ । हजारौँ नेता–कार्यकर्ता जेल–हिरासतमा हुनुहुन्छ । जेल–हिरासतमा चर्को शारीरिक र मानसिक यातना दिने गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीले ओली नेतृत्वको सरकारलाई ‘दलाल तथा सामाजिक फासिवादी सरकार’ को संज्ञा दिएको छ । ओली सरकारले राजनीतिकर्मी, लेखक, साहित्यकार, कलाकार, कविहरूलाई पक्राउ गर्ने, झुट्टा मुद्दा लगाउने र चरम यातना दिने गरेको छ । सरकारले कवि–कलाकारहरूलाई पक्राउ गरेर कालोपट्टी लगाएर सहर घुमाउने, घर तथा सेल्टरको खानतलासी लिने काम गरिरहेको छ । कविता, नाटक, गीत आदि लेख्न र प्रस्तुत गर्न प्रतिबन्धित छ । यो सरकारले लेखक–साहित्यकारहरूलाई हतकडी लगाउने, कार्यालयबाटै गिरफ्तार गर्ने, माक्र्सवादी पुस्तकहरू जफत गर्ने काम गरिरहेको छ । कविहरू कविगोष्ठीमा सहभागी हुने अवस्था छैन, नाटककारहरू नाटकघरसम्म पुग्न पाउँदैनन् । नेपालको लोकप्रिय साङ्गीतिक टोली सामना सांस्कृतिक परिवारले आफ्नै मौलिक शैलीमा जनताका बिच आफ्नो साङ्गीतिक प्रस्तुति दिइरहेको छ । ओली सरकारले नेपालका चर्चित एवम् लोकप्रिय गीतकार–सङ्गीतकार एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामालाई जेलमा राखेको छ । हामी यसै अपिलमार्फत माइला लामालगायत सम्पूर्ण राजबन्दीको यथाशीघ्र रिहाइको जोडदार माग गर्दछौँ ।

आदरणीय संस्कृतिकर्मीहरू !
टर्कीमा ‘सत्यबारे गाउन पाउने अधिकार’ को सङ्घर्षका दौरान अनसनका क्रममा क्रान्तिकारी साङ्गीतिक ब्यान्ड ‘ग्रुप योरम’ को सदस्यहरू हेलिन बोलेक र इब्राहिम गोसेकको निधन भएकोमा हामी स्तब्ध भएका छौँ । यो साङ्गीतिक ब्यान्डलाई टर्किस सरकारले चार वर्षदेखि निरन्तर दमन गर्दै आएको थियो । उसले कार्यालय र कार्यक्रमस्थलमा छापा मार्ने, बिनाकारण पक्राउ गर्ने र यातना दिने गरिरहेको थियो । हेलिनहरूले बलिदानमार्फत् विचारको, प्रतिबद्धताको र सपनाको झन्डालाई माथि उठाउनुभएको छ । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादी जगजगीको यतिबेला उहाँहरूको प्रतिरोध, साहस, प्रतिबद्धता, बलिदानले सर्वोच्च शिखर चुमेको छ । मूल्य र आदर्शको स्खलनको यति डरलाग्दो अवस्थाका बिचमा पनि बलिदानीपूर्ण मार्गलाई उहाँहरूले हाँसीहाँसी पछ्याउनुभएको छ । जनताका आवाज बोल्ने कलाकारमाथि गरिएको यस प्रकारको दमनका विरुद्ध हामी टर्किस सरकारको घोर भत्र्सना गर्दछौँ । गहिरो समवेदनाका साथ हेलिन बोलेक र इब्राहिम गोसेकको बलिदानको उच्च सम्मान पनि गर्दछौँ ।
हामी यस्तो देशमा सङ्घर्ष गरिरहेका छौँ, जहाँ प्रधानमन्त्रीको जन्म दिनमा हेलिकप्टरले नेपालको नक्सासहितको केक ओसार्छ, पसिना गन्हाउने भन्दै श्रमजीवी जनतालाई नजिक पर्न दिइँदैन । देशको राष्ट्रपतिलाई कोदोबारी देखाउन हेलिकोप्टर चार्टर गरिन्छ । बडेबडे ‘कम्युनिस्ट’ नेताहरू भैँसीपूजा गर्छन् । कतिपय भारतीय जनता पार्टीको जन्म दिनमा कोरोनासित लड्ने भन्दै मैनबत्ती–दियो बाल्नुलाई गौरव ठान्छन् । यहाँका शासक अन्तर्राष्ट्रिय खेलाडीलाई बिनाड्रेस दालमोठ–चिउरा खुवाएर खेल्न पठाउँछ र आफू भने सीआईएका औतारीहरूलाई बोलाएर होलीवाइनको महाभतेर चलाउँछ । यो सत्ता आत्म–प्रशंसाको यति भोको छ कि ऊ लेखक–कलाकारलाई गीतिदास बनाउन चाहन्छ । यो सत्ता आफ्नो लुटको स्वर्ग जोगाउन असङ्ख्य झुटका पुलिन्दा बुनिरहेछ । इतिहासको यस घडीमा हामी फासिवादी शासकको यस्तो मनसुवालाई पूरै खारेज गर्दछौँ । देश र जनताका विरुद्ध बुनिएका झुटका पुलिन्दाको भण्डाफोर गर्न आह्वान् गर्दछौँ ।

मानवसभ्यता, मानवसमाज, मानव संस्कृति जेजस्तो रूपमा यहाँसम्म आइपुगेको छ; यो बलिदान, आँसु, पीडा, अपमान, असहयोग, अन्याय, अत्याचारको अकल्पनीय क्षणहरूद्वारा निर्मिति रूप हुन् । जेसुकै नारामा र जेसुकै सन्दर्भ भए पनि ठुला ठुला बलिदानको मूल्य जनताले नै चुक्ता गरे पनि सत्तामा जनताका दुश्मन र लुटेराहरू नै छन् । कानुनका धारा–उपधारा बनाउने पनि तिनै छन् । हुन त बगरेहरूले आफ्नो पेसालाई नै धराप पार्नेगरी कसरी कानुन बनाउन सक्थे र ? आज जनता आफ्नै बगैँचाको फूल टिप्न पाउँदैनन् । आज माइला लामाहरू खुला आकाशमा विचरण गर्न पाउँदैनन् । आज इच्छुक, चुनु, च्याङ्बा, शारदाहरूका कविता, गीत र नृत्य प्रतिबन्धित छन् ।

आदरणीय संस्कृतिकर्मीहरू !
प्रतिक्रियावादी–दक्षिणपन्थी हावाहुन्डरी मडारिइरहेको यतिबेला नेपालमा नियमितता र आकस्मिकताका परिघटना देखापरिरहेका छन् । जनयुद्धको जगमा उठेको जनआन्दोलनबाट प्राप्त उपलब्धि धरापमा पारिएका छन् । प्रतिक्रियावादीहरू नेपालका सबै किसिमका वर्गसङ्घर्ष, तिनमा जनताबाट अभिव्यक्त त्याग, समर्पण र बलिदानी मूल्यका विरुद्ध षड्यन्त्र गरिरहेका छन् । मरणासन्न, राष्ट्रघाती तथा जनघाती एकाधिकार दलाल पुँजीवादी संसदीय व्यवस्थाका मतियारहरूका गतिविधिले सीमा नाघिसकेको छ । उनीहरू नेपालमा क्रान्तिकारी विचार, सपना र सम्भावनाको मुना निमोठ्न ज्यान छाडेर लागेका छन् । जनताको भौतिक–सङ्घर्षसित वैचारिक–सांस्कृतिक सङ्घर्ष अन्योन्याश्रित हुन्छन् । हामी त्यसैको बलमा वैज्ञानिक समाजवादको स्थापनाको सहिदी सपनालाई पुँजीकृत गर्न चाहन्छौँ ।
भारतमा फासिवादी मोदी सरकारको उद्दण्डता बढ्दो छ । उसले नेपालको चौबीस जिल्लाका करिब साठी हजार हेक्टर बढी जमिन अतिक्रमण गरेको छ । उसले हालसालै नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपाली भूमिमाथि अनधीकृत रूपमा मानसरोवर राजमार्ग बनाएर उद्घाटन पनि गरिसकेको छ । भारतीय साम्राज्यवादको यस प्रकारको हस्तक्षेपका विरुद्ध नेपालमा सशक्त प्रतिरोध भइरहेको छ । हामी यो प्रतिरोधको उच्च प्रशंसा गर्दछौँ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको आफ्नो वास्तविक भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले नेपाल र नेपाली जनताका विरुद्ध, नेपाली जनयुद्ध र नेपाली जनताको देशभक्तिका विरुद्ध विषवमन गरिरहेको छ । भारतको यस प्रकारको निकृष्ट हर्कतप्रति हाम्रो घोर आपत्ति छ । नेपाली राष्ट्रियताप्रति नेपाली जनताको लगाव धेरै उच्च र पवित्र छ । भारतले नेपाल र नेपाली जनतालाई मात्र दुःख दिएको छैन, उसले आफ्नै देशका वरिष्ठ लेखक तथा बुद्धिजीवीहरूलाई पक्राऊ गरिहेको छ, यातना दिइराखेको छ । जनताका पक्षमा लेख्ने तथा बोल्ने जो कोहीलाई पनि भारतीय सरकारले देशव्यापी धरपकड गरिरहेको छ । हाम्रो सङ्गठन मोदी सरकारको यस प्रकारको फासिवादी रवैयाको घोर भत्र्सना गर्दै वरवर रावलगायत सबैको यथाशीघ्र र स–सम्मान रिहाइको माग गर्दछ ।
नेपालमा अढाईसय वर्षदेखि जनताको रगत पिउँदै र हड्डी चुस्दै आएका जनबैरीहरू नयाँ नयाँ आबरणमा नयाँ नयाँ फन्डा गरिरहेका छन् । यो फन्डाको पछिल्लो संस्करण केपी ओलीको हातसम्म आइपुगेको छ । यतिबेला केपी ओली लकडाउन र नयाँ नक्साको वैशाखी टेकेर अमेरिकी सैन्य रणनीति एमसीसी पारित गराउन मरिहत्ते गरिरहेका छन् । केपी ओलीले देश र जनताका दुश्मनका रूपमा आफूलाई ‘सगौरव’ उभ्याएका छन् । यस्तो बेला जनताका सबैखाले दुश्मनलाई परास्त गर्न क्रान्तिकारी ध्रुबीकरण अनिवार्य बन्न गएको छ । क्रान्तिकारी शक्तिहरूका बिचमा एकता अपरिहार्य बनेको छ । नयाँ शिरा र नयाँ संरचनाका साथ क्रान्तिकारी संयुक्त मोर्चा आजको टड्कारो आवश्यकता बनेको छ । सहिदहरूका रगतले लेखेको इतिहास, उनका जीवनोत्सर्ग, आस्था, बलिदानको सपना र वैचारिक निष्ठाले प्रतिरोध संस्कृति, त्याग, बलिदान र वर्गसङ्घर्षको संस्कृतिको निरन्तरताको आवश्यकतालाई नै इङ्गित गरेको छ । हामीलाई फेरि एकपटक शौर्य, साहस र वीरताको यौद्धिक–गायन चाहिएको छ । फेरि एकपटक कुची, कलम र मादलसित वर्गीय विचार, आस्था र सघन वर्गसङ्घर्षको अन्तर्घुलनको आवश्यकता परेको छ । कृष्ण सेन ‘इच्छुक’ सहित एकसय सत्तरी बढी सांस्कृतिक सहिदहरू हाम्रा प्रेरणा, गौरव र सचेतना भएर उभिएका छन् । महान्् सांस्कृतिक सहिदहरूले हामीलाई भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादका विरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा लामबद्ध हुन प्रेरित गरिरहेका छन् ।

आदरणीय संस्कृतिकर्मीहरू !
सहिदहरूका रगतद्वारा लेखिएको इतिहास कसैले मेट्न सक्तैन । वर्गसङ्घर्षभित्रका एकाध मानिस पलायनतावादी भागदौडमा सामेल हुँदै लम्पसारवादी आत्मकेन्द्रित अवसरवादको आहालमा चुर्लुम्म डुबे पनि हाम्रो आस्थाको प्रतीक प्रिय रातो झन्डा कहिल्यै झुक्नेछैन । फासिवादी दलालहरूका विरुद्ध लड्ने क्रान्तिकारी संस्कृतिलाई कुनै पनि हालतमा कमजोर हुन दिइनेछैन । मरणासन्न राष्ट्रघाती तथा जनघाती दलाल संसदीय पुँजीवादी व्यवस्थाका विरुद्धको सङ्घर्षमा सहभागी हुन हामी सबैलाई विशेष आह्वान गर्दछौँ । एकीकृत जनक्रान्तिको महान् यात्रामा वर्गचेतना, वर्गप्रेम, साम्यवादी सपना र शौर्यका साथ सम्पूर्ण क्रान्तिका पक्षधर कवि, कलाकार, लेखक–साहित्यकार र संस्कृतिकर्मीहरूलाई वैज्ञानिक समाजवादको दिशामा लामबद्ध हुन हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ विशेष अपील गर्दछ ।
क्रान्तिकारी अभिवादन !

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रीय समिति
१३ जेठ, २०७७