कपिलवस्तुमा क्वारेन्टीनको बिजोग

जेठ ५, बुटवल । भारतबाट आएका वा स्थानीय व्यक्तिमा कोरोना संक्रमणको आशंका देखिए क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । त्यस्ता क्वारेन्टाइनस्थल विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरु घरमा भन्दा क्वारेन्टाइनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरुलाई सार्ने सम्भावना कम हुने भएकैले शायद क्वारेन्टाइनमा बस्न भनिएको हो ।

कपिलवस्तुमा अहिले ७७ जिल्लाकै सबैभन्दा बढी अर्थात् ७ हजार ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वैधानिक र अवैध रूपमा भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई १० वटा पालिकाले स्थापना गरेका क्वारेन्टाइनहरूमा खाना खुवाएर राखिएको छ र, कोरोना रोकथामका लागि पर्याप्त तयारी गरेको दाबी गर्ने संघीय सरकारको क्षमता पनि कपिलवस्तुको सीमा क्षेत्रमा पटाक्षेप भएको छ । स्थानीय तहहरुले आफ्नो क्षमताले भ्याए अनुसारको व्यवस्थापन गरे पनि प्रदेश र संघबाट कुनै सहयोग पाएका छैनन् ।

क्वारेन्टाइनमा ७ हजार, जाँच न्यून

प्रदेश ५ मा सबैभन्दा बढी कोरोना संक्रमित कपिलवस्तुमा देखिएका छन् । देशकै रेडजोनमा रहेको कपिलवस्तुमा बाँके र रुपन्देहीपछि मात्र कोरोना देखिएको थियो । तर, तीन साताभित्र प्रदेशकै उच्च जोखिममा परेको कपिलवस्तुमा आइतबारसम्म ४३ जना संक्रमित फेला परेका छन् ।

देशमै पहिलो पटक स्वास्थ्यकर्मी, सुरक्षा अधिकृतहरु तथा सरकारी कर्मचारीहरु हुँदै कपिलवस्तुमा दोस्रो चरणमा कोरोना संक्रमण फैलिइसकेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लकडाउन घोषणा गरिएयता वैधानिकरुपमा ६ हजार ९७४ जना नागरिक भारतीय सीमाबाट कपिलवस्तु प्रवेश गरेका छन् । करिब १ हजार बढी मानिसहरु खुला सीमानाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका छन्, जसको तथ्यांक वा सम्पर्क प्रशासनसँग छैन ।

कपिलवस्तुमा अहिले ७७ जिल्लाकै सबैभन्दा बढी अर्थात ७ हजार ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वैधानिक र अवैधरुपमा भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई १० वटा पालिकाले स्थापना गरेका क्वारेन्टाइनहरुमा खाना खुवाएर राखिएको छ ।

यीमध्ये १६ सय ४१ जनालाई क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । अहिलेसम्म क्वारेन्टाइन बसेका ११ सय १० जनाको मात्र र्‍यापिड टेस्ट भएको छ भने ९२९ जनाको पीसीआर टेस्ट गरिएको छ । तीमध्ये ४२ जनालाई कपिलवस्तुमा र एक बालिकालाई काठमाडौंमा कोरोना संक्रमण देखिएको हो ।

अझै क्वारेन्टाइनमा बसेका ६ हजार बढीको पीसीआर जाँच गरिएको छैन ।

सीमानाबाट अवैध प्रवेश जारी

सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेलगत्तै भारतमा रोजगारी गर्नेहरु धमाधम नेपाल प्रवेश गर्न थाले । केही वैधानिक बाटो हुदै आए भने केही खुला सीमानाबाटै नेपाल छिर्न थाले ।

लगत्तै जिल्लाको ९७ किमी लामो सीमानामा सशस्त्र प्रहरीका ६५ वटा पोष्ट र नेपाल प्रहरीका १९ वटा प्रहरी चौकी स्थापना गरियो । हाल १७ सय सुरक्षाकर्मी सीमानामा खटिएका छन् ।

तर, प्रशासनको तथ्यांकअनुसार लकडाउनयता मात्रै जिल्लामा ८ हजार ६ सय ४९ जना प्रवेश गरेका छन् । तीमध्ये ८ हजार ६ सय २१ जना भारत र बाँकी अन्य मुलुकबाट आएका हुन् ।

तर, सुरक्षा श्रोतका अनुसार त्यसबाहेक १ हजार बढी मानिसहरु खुला सीमानाबाट नेपाल प्रवेश गरेका छन् । उनीहरु न त क्वारेन्टाइन बसेका छन्, न उनीहरु जाँचको दायरामा आएका छन् । क्वारेन्टाइन बाहिर रहेका ती एक हजार व्यक्तिहरुबाट समुदायमा थप संक्रमण फैलन सक्ने उच्च जोखिम देखिएको छ ।

आत्मघाती क्वारेन्टाइन

कपिलवस्तुका १० वटा स्थानीय तहले ७ हजार ४ सय १५ जना अटाउने क्वारेन्टाइन निर्माण गरेको प्रशासनको तथ्यांक छ । राजमार्ग किनारका क्वारेन्टाइन केही व्यवस्थित छन् भने हुलाकी तथा सीमाना छेउका क्वारेन्टाइनको अवस्था दयनीय छ ।

नेपालमै सबैभन्दा बढी ७ हजार मानिसलाई क्वारेन्टाइन राखिएको जिल्ला कपिलवस्तुमा क्वारेन्टाइनको अवस्था र मापदण्ड हेर्न सक्ने निकायसमेत छैन । अव्यवस्थित क्वारेन्टाइनमा बसेका ९० प्रतिशतको अझैसम्म कोरोना सम्बन्धी जाँच गरिएको छैन ।

क्वारेन्टाइनको एउटै कोठामा १५ देखि २५ जनासम्म राखिएको छ । सुत्ने, खाने र स्वास्थ्य उपचारको अवस्था निकै दयनीय छ । कतिपय स्थानमा त पाल टाँगेर क्वारेन्टाइन बनाइएको छ । उनीहरुलाई घर परिवारले खाना लिएर आउने, कपडा लत्ता धोइदिने र विस्तरा ल्याइदिनेसमेत गरेका छन् । केही मानिसहरु क्वारेन्टाइनस्थल वरपरका चिया पसलहरुमा जाने– आउने गर्छन् ।

कपिलवस्तुमा मापदण्डविना बाध्यताले निर्माण गरिएका ती क्वारेन्टाइनहरु कोरोनाको एम्बुस बन्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

‘सामाजिक दुरी छैन, सबै सँगै हुन्छन् । बाहिर जान्छन्, घुम्छन्, शौचालय–स्नान सबैमा छैन, अवस्था सोचेकाभन्दा गम्भीर छ’ ,महाराजगञ्जमा कार्यरत एक स्वास्थ्यकर्मीले भने ।

एउटा क्वारेन्टाइनमा एकजनामा मात्र कोरोना संक्रमण भएमा त्यहाँ बसेका २० प्रतिशतलाई सहजै सर्न सक्ने स्वास्थयकर्मीहरुकै दाबी छ ।

क्वारेन्टाइन बसेकाहरुलाई केही जनप्रतिनिधिको सिफारिसमा घरसमेत लाने गरेको हुँदा समुदाय पनि जोखिममा रहेको पाइन्छ । हाल क्वारेन्टाइन बसेका ७ हजार जना सबै भारतबाट आएका हुन् ।

-अनलाइनखबर