कला–साहित्यका समस्याहरू र व्यक्तिवाद

हाम्रा प्रतिभाहरू फरक फरक छन् । सीमाहरू फरक हुने नै भए । हाम्रा सकार–नकारका बान्की मात्र फरक छन् । पानी माथिको ओभानो कोही हुँदैन । ईश्वरीय सत्व कसैसँग छैन । कसैले ईश्वरीय बान्कीमा आफूलाई राख्छ भने त्यसको अर्थ हो –अस्तित्वहीनता, खोक्रोपन, आडम्बर मात्र । डा. ऋषिराज बरालको बौद्धिक दख्खल अगाडि बुर्जुवाहरू समेत नतमस्तक हुन्छन् ।

-अनिल शर्मा ‘विरही’ 

नेपालको क्रान्तिकारी सांस्कृतिक आन्दोलनका समस्याहरूका सन्दर्भमा अहिले छलफलहरू भइरहेका छन् । अपेक्षा गरेअनुसार सांस्कृतिक आन्दोलनले गति लिन नसकेको टिप्पणीहरू पनि भइरहेका छन् । सांस्कृतिक आन्दोलनका समस्याहरूलाई समाधान गर्ने दिशामा प्रारम्भिक पाइलो र भावभूमि कसरी तयार गर्न सकिएला भन्ने सन्दर्भमा यहाँ छलफल उठान गर्न खोजिएको छ ।

जनयुद्ध घनिभूत बन्दै जाने क्रममा लुटको साम्राज्य जगमगाउन थालेपछि बौलाएको श्वेत सत्ताका नङ्ग्राहरू कलममाथि झन्झन् क्रूरतापूर्वक गाडिन थाले । श्वेत सत्ताको चाकरी नगरेकै कारण र जनयुद्धसँग विमति राख्ने कलासाहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउनेहरू, बाजा बजाउनेहरू सबै सबै श्वेत सत्ताको खुनी पञ्जामुनि थिचिंदै गए, किचिंदै गए । त्यस्तो कालारात्रीमा प्रगतिवादी लेखक–कलाकारहरू नथिचिने कुरै भएन । सांस्कृतिक आन्दोलनका अग्रजहरूका अगाडि एउटा प्रश्न उठ्यो– ‘शरीर बचाउने कि विचार’ । दोस्रो वार्ताकालमा बागबजारस्थित पद्मकन्या क्याम्पसमा प्रलेसको एउटा कार्यक्रमको आयोजना गरेको थियो । वरिष्ठ समालोचक तथा आख्यानकार घनश्याम ढकाल सो कार्यक्रमको उद्घोषक हुनुहुन्थ्यो । उहाँले उद्घोषणको क्रममा आफ्नो विचार कायम राख्दा भौतिक शरीर नै गुमाउनुपर्ने स्थिति श्वेत सत्ताले हाकाहाकी सिर्जना गरेको छ । भौतिक शरीर बचाउने हो भने विचार छोड्नै पर्ने स्थिति छ । तर दुईमध्ये एउटा छोड्नुको अर्थ दुवैको मृत्यु हो । विचार कायम राखेर बाँच्ने चुनौतिको सामना कसरी गर्ने ? के हामी यो चुनौतिको सामना गर्न सक्छौं ? भन्ने प्रश्न उक्त कार्यक्रममा राख्नु भएको थियो । त्यो कार्यक्रम सकिएको दुई महिना नबित्दै सरकार–माओवादी वार्ता भङ्ग भयो । त्यसबेला क्रान्तिकारी धाराका सांस्कृतिक अग्रजहरू श्वेत इलाका छोडेर जनताका बीचमा जान आवश्यक थियो । त्यसरी मात्र शरीर र विचार दुवैको रक्षा हुनसक्थ्यो ।

पार्टीले त्यही दिशामा अभिप्रेरित ग¥यो । डा. ऋषिराज बराल, ईश्वरचन्द्र ज्ञवालीलगायतका अग्रजहरू लाल इलाकातिर उक्ले । ताराकान्त पाण्डे, गोपिन्द्र पौडेल, राजन पोखरेल, डा. नन्दीश अधिकारीहरू श्वेत इलाकामै जोखिमसाथ आस्था बचाइराखे । केही न केही लेखिरहे, कालो रातका विरुद्ध धीमा स्वर र चालमै किन नहोस् पाइला चालिरहे । घनश्याम ढकाल लाल इलाकातिरको पाइला त चाल्नुभयो, तर धेरै दिन हिँड्न सक्नु भएन । आफ्नो आत्माले अझ यसो भनौं कि भित्री मनले अस्वीकार गरेको नक्कली वक्तव्य जारी गर्न श्वेत सत्ताले बाध्य पा¥यो । क्रान्तिकारी सांस्कृतिक आन्दोलनका ती जटिल र संवेदनशील क्षणहरूको उचित मूल्याङ्कन, उचित न्याय, खराब पाइला हो आफ्नै खराब पदचिन्हहरूको परित्याग अथवा रूपान्तरण र अन्तरविरोधहरूको मूल्याङ्कन र परिचालनमा रहेको कमजारी नै सांस्कृतिक आन्दोलनका महत्वपूर्ण समस्या हुन् भन्ने लागेको छ ।

हाम्रा विकास, भूमिका र भौतिक स्थितिहरू एकै प्रकारका छैनन् । आर्थिक र पारिवारिक स्थिति घनश्याम ढकालको जटिल थियो । वार्ता भङ्ग भएपछि ढाड दुख्ने रोगी, सत्ताले लखेटिरहेका अग्रज, पारिवारिक झमेलाले थिचिएका ढकालसँग मैले बानेश्वरको एक समर्थकको निवासमा भेटेको थिएँ । त्यसबेला उहाँलाई कलम प्रकाशित गर्ने जिम्मा थियो । हामीले त्यस विषयमा छलफल ग¥यौं । श्वेत आतङ्क बढ्दै गयो । हामी चन्द्रागिरी पर्वत श्रृङ्खला कटेर महाभारत र चुरेका तरेलीहरूमा विचरण गर्न थाल्यौं । घनश्याम ढकाललाई त्यत्तै आउन खबर पठायौं । उता क. किरणले प्रवासबाट घनश्याम ढकाललाई भेट्नको लागि प्रवासतिर पठाई दिन पठाउनु भएको खबर ढिलो गरी हामीसम्म आएको थियो । आज फर्केर हेर्दा जम्मा ४–५ वर्ष मात्रै भएछन् । तर विज्ञान र प्रविधिका हिसाबले संसार अर्कै ठाउँमा पुगिसकेछ । त्यसबेला आज जस्तो सहज फोन सुविधा थिएन । स्काई फोन आएको धेरै भएको छैन । त्यसबेला काठमाडौं फोन गर्न सेटेलाइट फोन हुनुपथ्र्यो । हामी फोन गर्न दुई दिन हिँडेर कि त नारायणस्थानको चुचुरो या त चुरेमा पुग्थ्यौं । घनश्याम ढकालसम्म क.किरणको खबर पु¥याउन नभ्याउँदै उहाँले विचार त्यागेको नमीठो खबर आयो । शायद त्यही नियतिको पूर्व सङ्केत थियो किरण कमरेडलाई । त्यसपछि कतिपयले आफ्नो बाटो सफा भएको ठाने होलान्, कतिले पलायतवादी भने मलाई भने बुढो रोगी शरीर, पारिवारिक तनाव र पार्टीको उचित सुरक्षाको अभावमा व्यक्तित्व विकास र आन्दोलन दुवै क्षेत्रमा क्षति भयो । वार्ताकालमै प्रलेसको कीर्तिपुरस्थित अडियन्स हल (भिसी कार्यालयको उत्तरपट्टिको हल) मा सम्पन्न सम्मेलनमा मैले घनश्याम ढकाललाई पूर्णकालीन बनाएर पहाड चढाउन भन्दा त प्रलेसकै जिम्मा दिए राम्रो हुन्थ्यो कि भन्ने जिज्ञासा कवि ईश्वरचन्द्र ज्ञवालीसमक्ष राखेको थिएँ । तर उहाँलाई पूर्णकालीन बनाउने पार्टी निर्णय भइसकेको रहेछ । उता त्यसपछि उहाँका पुत्र तथा प्रतिभाशाली युवा नेता प्रकाशको शहादत हुन गयो । त्यो संवेदनाको क्षणमा, पुत्रशोकको क्षणमा आफूलाई एक नम्बरको क्रान्तिकारी दाबी गर्न अग्रजहरूबाट तिर चलाइयो । गत जनसांस्कृतिक सङ्घको राष्ट्रिय सम्मेलनमा हाम्रो लामो भलाकुसारी भएथ्यो । उहाँले जसरी पनि विचार बचाउनु पथ्र्यो । त्यसमा विवाद रहेन । तर उहाँले विचार नबचाएको नक्कली वक्तव्य जारी नगरी धरै पाउनु भएन । त्यस विषयमा उहाँले आडम्बर पनि त, देखाउनु भएन । रूपमा वक्तव्य जारी गरे पनि सारमा सकेजति क्रान्तिको सेवा भने गरिरहनु भएको छ । उहाँले मणि थापा र रविन्द्र श्रेष्ठहरूको पथ समाल्नु भएन । उहाँ सांस्कृतिक आन्दोलनको शत्रु त हुनुहुन्थेन नि । तर हाम्रा कतिपय अग्रजहरूले शत्रुतापूर्ण व्यवहार गरे । यसरी मौका पाउनसाथ हमला गर्ने र आफूलाई अब्बल साबित गर्ने काम अग्रजबाटै भयो । यो अन्तरविरोधलाई बुझ्ने प्रश्नमा रहेको त्रुटीपूर्ण चिन्तन थियो । त्यो व्यक्तिवादको परिणाम पनि थियो ।

सङ्कटकालको त्यो कालो रातमा, पाइला–पाइलामा मृत्युसँग पौंठेजोरी खेल्दै जनसेनाको पङ्तीमा बसेर कलम चलाउनु सामान्य कुरा थिएन । डा. ऋषिराज बराल, ईश्वरचन्द्र ज्ञवालीजस्ता अग्रजहरू त्यति कठिन यात्रामा निस्कलान भनेर हामी मध्ये कमैले सोचेका थियौं । त्यो एक दुई व्यक्ति हिंड्नु र नहिँड्नुको कुरा मात्र थिएन । नेपाली सर्वहारा वर्गले बुद्धिजीवी र श्रष्टाहरूमा पारिरहेको विचार र प्रभावको मापन पनि थियो । यस मानेमा हाम्रो वर्गले गर्व गर्न आवश्यक छ । तीन दिनहरूमा ऋषिराज बरालका मर्मस्पर्शी आख्यानहरू आइरहन्थे । कहिले पूर्व त कहिले पश्चिमतिरका यात्राका खबरहरू आइरहन्थे । यता ईश्वरचन्द्र ज्ञवाली काभ्रे, मकवानपुरतिरका पहाडहरूमा रेडियो सञ्चालन गरिरहनु भएको थियो । प्रवासबाट जनादेश प्रकाशित गर्ने क्रममा मकवानपुरमा उहाँसँग भेट हुँदा उहाँको शरीर थाकेको, गोडा सुन्निएको पसिना र थकानले लथ्रक्क भएको तर महान् सपना र स्वाभिमानले चम्केका आँखा हेर्दा मलाई गर्व लागेको थियो । यी बुद्धिजीवीहरू पक्कै पनि हारिने युद्धमा छैनन्, पक्कै पनि पश्चगमनको लडाइँमा छैनन् भन्ने विश्वास पैदा भएको थियो । क्रान्तिप्रतिको विश्वास चुलिएको थियो । क्रान्तिप्रतिको विश्वास जति बढ्छ, क्रान्तिकारी क्रियाकलाप पनि त्यत्तिकै बढ्ने रहेछ । क्रियाशीलताको अभाव क्रान्तिप्रतिको अविश्वास रहेछ ।

सङ्कटका दिनहरूमा ताराकान्त पाण्डे, नन्दिश अधिकारी, राजन पोखरेलहरू निश्चल नकर्मी (क. सङ्घर्ष) ले भनेझैं “मकै भुट्ने हाँडी जस्तो भ्यालीमा कत्तिबेला भुटिने हो” भन्ने चुनौतीको सामना गर्दै भ्यालीमै रहनु भयो । हामी आधार क्षेत्रमा थियौं । जनता र जनसेनाको सुरक्षा घेरामा बसेर हामीले आफूलाई घाघडान, साहसी र अब्बल दर्जाको क्रान्तिकारी दाबी गरिरह्यौं । तर उपत्यकाका अग्रजहरू श्वेत इलाकामा निरीह जनताका बीचमा मृत्युसँग लडिरहेका थिए । त्यो काम चानचुने थिएन । तर युद्ध विराम हुनासाथ हामी सहर आयौं र युद्धकालमा शहरमा रहेका अग्रजहरूलाई, भिन्न भूमिकामा रहेका सहयोद्धाहरूलाई धारेहात लगाउन थाल्यौं । हामीले द्वन्द्ववादलाई समात्न सकेनौं । अधिभूतवादको शिकार भयौं । हामीभित्रको “म” सिगौरी खोल्दै आयो । हामीलाई धरती आफ्नै औंलाको टुप्पोमा घुमिरहेको भान भयो । हामीले अरुका पौरख, लगानी, योगदान र बलिदानहरू बिस्र्यौं । हामीमा अरुको श्रम लुट्ने सामन्ती लुटाहा प्रवृत्ति हावी भयो । सामन्तले कानुन मिचेर लुट्छ । पू्ँजीवादले कानुन समातेर लुट्छ । आखिर अर्काको योगदान नदेख्नु पनि त लुट्नु नै त हो ।

हाम्रो सांस्कृतिक आन्दोलन प्रचण्डपथको आलोकमा हिँडिरहेको छ । तर कतिपय सन्दर्भ र प्रसङ्गमा मतभेदहरू, विमतिहरू देखिन्छन् । विज्ञानप्रति इमान्दार भएर उठ्ने प्रश्नभन्दा आग्रहपूर्वाग्रहका पोकाहरू धेरै छन् । अझ यसो भन्दा हुन्छ, हाम्रो बीचमा विचारमा अनेकता, बुझाईमा अनेकता पैदा भइरहेको छ । बाली कसरी धेरै मुठ्याउने भन्ने होडबाजी चलिरहेको छ । यसै कारणले अर्थात् वैचारिक अनेकताले भावनातमक एकता पैदा हुन सकिरहेको छैन या कमी छ । हो यस्तै–यस्तै समस्याहरू हामीले जताततै महसुस गरिरहेका छौं । यो समस्याको हल नगरीकन विज्ञानप्रति इमानदार हुन सकिन्न । विज्ञानप्रति इमान्दार नभइकन सांस्कृतिक आन्दोलनका समस्याहरू समाधान गर्न पनि सम्भव छैन भन्ने कुरा बुझ्नैपर्दछ ।

हाम्रा प्रतिभाहरू फरक फरक छन् । सीमाहरू फरक हुने नै भए । हाम्रा सकार–नकारका बान्की मात्र फरक छन् । पानी माथिको ओभानो कोही हुँदैन । ईश्वरीय सत्व कसैसँग छैन । कसैले ईश्वरीय बान्कीमा आफूलाई राख्छ भने त्यसको अर्थ हो –अस्तित्वहीनता, खोक्रोपन, आडम्बर मात्र । डा. ऋषिराज बरालको बौद्धिक दख्खल अगाडि बुर्जुवाहरू समेत नतमस्तक हुन्छन् । उहाँको सरल र सम्प्रेषणीय आख्यानबाट पाठकहरू पुलकित हुन्छन् । ईश्वरचन्द्र ज्ञवालीमा लोभलाग्दो सङ्गठन गर्ने क्षमता छ ।मृदुता र सरलता छ । त्यसो त बौद्धिकता पनि नभएको कसले भन्न सक्छ । डा. नन्दीश अधिकारी निरन्तर बुढो गोरुझैं प्रकाशन र लेखनमा जोतिइरहनु भएको छ । दर्जनौं छन् यस्ता अग्रजहरू, प्रतिभाहरू । उपत्यका र त्यसको वरपर छोडेर पहाड र मधेसतिर हेर्ने हो भने ठूलै लर्को देख्न सक्छौं हामी । दिल साहनी, हिरामणी दुःखी, खुशीराम पाख्रिन अग्रजहरूको ठूलो जुलुस देख्छु म । यी सबै नयाँ र पुराना लेखक–कलाकारहरूको समष्टि नै हाम्रो सांस्कृतिक आन्दोलन हो ।

सत्य निरपेक्ष र अमूर्त हुँदैन । जथाभावी आक्रमण मात्रै क्रान्तिकारिता हुन सक्दैन । धेरै मान्छेको मन, दुःखाउने, धेरैलाई होच्याउन नसक्ने, एक्लो ढेंडुले ढुङ्गा हानेझैं ठोक्नु मात्र क्रान्तिकारिता होइन । सत्य नै भएपनि आन्दोलन र बहुजनको हित नगर्ने कुरा विद्रोही हुन सक्ला क्रान्तिकारी हुन सक्दैन । विद्रोह र क्रान्ति फरक फरक कुरा हुन् । त्यसैले ठीक चिज पनि सम्प्रेषणीय भएन भने आफ्नो पङक्तीलाई विश्वासमा लिएर लागू गरिन भने प्रत्युत्पादक हुने रहेछ । फलेको वृक्षको हाँगो नुहिन्छ भन्थे बुढा लेखनाथ । त्यसैले हामी बीचको एकता, विचारमा एकता, भावनामा एकता नै सांस्कृतिक आन्दोलनका समस्याहरू समाधान गर्ने पहिलो पाइलो हो कि भन्ने मलाई लागेको छ ।

(बिरहीले यो लेख २०६४ पुस १० मा लेखेका हुन् । हामीले यो जनदिशाबाट लिएको हौं ।  समयसान्दर्भिक रहेको हुनाले पोस्ट गरिएको छ । – सं.)