मानिस युद्ध र बर्बरताबाट मुक्ति चाहन्छ भने पुँजीवादबाट मुक्त भएर समाजवादतिर लाग्नुपर्छ

प्रा. प्रभात पटनायक
(भारतीय माक्र्सवादी अर्थशास्त्री एवम् राजनीतिक टिप्पणीकार प्राध्यापक प्रभात पटनायक आफ्ना लेखन तथा विश्लेषणहरूले विश्वविख्यात छन् । विश्वव्यापी वित्तीय पुँजीवाद र नवउदारवादबारे विभिन्न प्रकाशनमार्फत गहिरो विश्लेषण गरेका प्राध्यापक पटनायक समाजवादी आन्दोलनका अग्रणी पनि हुन् । प्राध्यापक पटनायकसँग अन्नपूर्णका लागि लक्ष्मण श्रेष्ठले गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।)

अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउन आयोजना गरिएको कार्यक्रममा सहभागी हुन काठमाडौं आउनुभएको छ । एक सय वर्षपछि अक्टोबर क्रान्तिको चर्चा गर्नुको अर्थ के हुन्छ ?
अक्टोबर क्रान्तिले पहिलोपटक मानवजाति सामु उजागर गरेका आधारभूत समस्या र त्यसले उठाएको आधारभूत अजेन्डाहरू अहिले पनि सान्दर्भिक छन् । त्यो अजेन्डा भनेको संसारलाई साम्राज्यवादबाट मुक्त गर्नु हो । त्यसैले नै पुँजीवादबाट मुक्त गराउनु पनि हो किनभने पुँजीवादबिना साम्राज्यवाद जीवित रहिरहन सक्दैन । यद्यपि अक्टोबर क्रान्तिको लिगासीको रूपमा रहेको सोभियत संघ नरहे पनि हामीले मानव जातिको स्वतन्त्रता चाहन्छौं भने अक्टोबर क्रान्तिका आधारभूत कार्यक्रमलाई अगाडि बढाउनुपर्छ ।

तपाईं अक्टोबर क्रान्तिलाई कसरी सम्झनुहुन्छ ?
त्यो मानव इतिहासमै सबैभन्दा महत्वपूर्ण घटना हो । पहिलो पटक मानिसहरू केही व्यक्तिको स्वतन्त्रता वा स्थानीय तहको स्वतन्त्रताभन्दा माथि उठेर सिंगो मानवजातिको मुक्तिको अजेन्डामा एक भएर जागे । अक्टोबर क्रान्तिले संसारभरका जनता समेट्ने कम्युनिस्ट अन्तर्रा्ष्ट्रिय निर्माण गर्याे । मानव इतिहासमा यसभन्दा पहिला यस्तो भएको थिएन । पहिलो अन्तर्राष्ट्रिय र दोस्रो अन्तर्राष्ट्रिय युरोपमा मात्र सीमित थिए । त्यसभन्दा पहिलाका आन्दोलन पनि केही देशका निश्चित क्षेत्रका व्यक्तिगत मुक्ति लक्षित थिए । अक्टोबर क्रान्तिले विश्वव्यापी क्रान्तिलाई अजेन्डाको रूपमा स्थापित गर्याे । यो आकस्मिक रूपमा वा पवित्र इच्छावश भएको थिएन । यो त पुँजीवादी विकासको विविध विश्लेषणको आधारमा भएको थियो ।

अक्टोबर क्रान्तिको पूर्वसन्ध्यामा लेनिनले लेखेको पुस्तक ‘साम्राज्यवादः पुँजीवादको उच्चतम् अवस्था’ निकै चर्चित छ । त्यसमा उनले साम्राज्यवादलाई पुँजीवादको अन्तिम अवस्था भएको र यो चाँडै नै समाप्त हुने अनुमान गरेका छन् । तर, एक शताब्दीपछि पनि पुँजीवाद जीवित नै छ, किन ?
तपाईंको प्रश्नसँग म सहमत छु । लेनिनले किताब लेख्दा पुँजीवादका आफ्नै खाले यथार्थहरू थिए । त्यसैले उक्त पुस्तक आफ्नो समयअनुसार सही छ । त्यो यथार्थ अन्तर–साम्राज्यवादी द्वन्द्व हो । लेनिनको तर्क थियो, निश्चित देशमा आधारित वित्तीय पुँजी संसारको पुनः विभाजनप्रति रुचि देखाइरहेको छ । यसले पहिले नै संसारलाई विभाजन गरिसकेको छ । यो पुनः विभाजनले युद्ध निम्त्याउँछ । त्यसैले लेनिनले अन्तर–साम्राज्यवादी युद्ध र युद्ध अनिवार्य भएको देखे । उनले भने, यदि मानिस युद्ध र बर्बरताबाट मुक्ति चाहन्छ भने पुँजीवादबाट मुक्त भएर समाजवादतिर लाग्नुपर्छ । लेनिनको यो विश्लेषणले सन् १९४० देखि १९४५ सम्म काम गर्याे । दुई विश्वयुद्धहरूले उनको ठम्याइँलाई पुष्टि गरे । फाँसीवाद, महामन्दी लगायतका समस्याबाट मानवजगत् पिरोलिनु पर्याे ।
सन् १९४५ पछि भने साम्राज्यवादले आफ्नो पुनर्संरचना गर्यो । यसले लेनिनको समयमा भन्दा पनि बढी पुँजी केन्द्रीकरण गर्यो । तर, यसले आफूमा ल्याएको सबैभन्दा ठूलो परिवर्तन थियो, अहिले वित्तीय पुँजीवाद देश वा राष्ट्र आधारित छैन । यो विश्वव्यापी भएको छ । त्यसैले अहिले वित्तीय पुँजीवादले भागबन्डा वा पुनः भागबन्डा चाहँदैन । यस्तो भागबन्डाले उसको विश्वव्यापीकरण प्रसारलाई रोक्छ । त्यसैले अहिले अन्तर–साम्राज्यवादी द्वन्द्वले नयाँ रूप लिएको छ । अहिले त्यो इराक युद्धजस्ता युद्धहरूमा फेरिएको छ । तेस्रो विश्वविरुद्ध युद्ध, मुक्ति संघर्षविरुद्ध युद्ध, क्रान्तिकारी कदमविरुद्ध युद्धजस्ता युद्धहरूमा फेरिएको छ । पुँजीवाद लामो समयसम्म बाँच्न सफल भएको छ किनभने यसले आफ्नो प्रकृति फेरेको छ ।

अर्थात्, पुँजीवाद आफ्नो पुनर्संरचना गर्न सक्षम छ ?
त्यस्तो भएको छ । यो विश्वव्यापीकरण आफैंमा पुँजीको निरन्तर केन्द्रीकरणको परिणाम हो, जसबारे माक्र्सले पहिले नै व्याख्या गरिसकेका थिए र लेनिनले चिनिसकेका थिए । उनले सोचेका थिए, यस्तो हुनुभन्दा पहिले नै हामीले पुँजीवाद फाल्नेछौं । तर, केही देशमा पुँजीवाद हटे पनि अरु देशमा भने कायम नै भयो । विश्वमा पुँजीवाद मुख्य व्यवस्थाको रूपमा रहिरह्यो जसले गर्दा ऊ आफूलाई पुनस्र्थापित गर्न सफल भयो ।

इतिहासले देखाउँछ, समाजवादी आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको छ । यस्तो किन भयो ?
तर, विश्वव्यापी पुँजीवाद आफैं संकटमा गुज्रिरहेको छ । विश्व पुँजीवादमा आइरहेको लगातारको संकटले बेरोजगारी बढाइरहेछ । यो बेरोजगारीले विश्वभरि नै फाँसीवादी प्रवृत्ति मौलाइरहेछ जसले प्रजातन्त्रलाई नै संकटमा पारेको छ । यसका विरुद्ध संसारभर मानिसहरू एकगठ भइरहेका छन् । त्यसैले अहिले नयाँ क्रान्तिकारी उभार बढिरहेछ ।

केही बुद्धिजीवीहरू भन्ने गर्छन्, पुँजीवादको पूर्ण विकासबिना समाजवाद सम्भव छैन । उनीहरू पुँजीवादको पूर्ण विकास नभई समाजवाद लागू गरेकाले नै सोभियत संघमा समाजवाद असफल भएको तर्क गर्छन् । तपाईं के भन्नुहुन्छ ?
समाजवादभन्दा पहिला पुँजीवाद कुनै न कुनै हिसाबले विकास भइसकेको हुनुपर्छ भन्ने विचार सही छैन । तेस्रो विश्वका विभिन्न देशमा पुँजीवादको पूर्ण विकासको प्रतीक्षा गरिरहन आवश्यक छैन । यी देशमा बुर्जुवा नेतृत्वमा भूमि अधिकारको प्रजातान्त्रिक आन्दोलन अगाडि बढ्न पनि असम्भव छ । त्यस्तै विश्वव्यापी वित्तीय पुँजीविरुद्ध पनि पुँजीवादी प्रजातान्त्रिक आन्दोलन असम्भव छ किनभने पुँजीवाद आफैंमा यसको एक भाग हो । त्यसैले सर्वहारा वर्गले नै अहिले पनि सामन्ती भूमि स्वामित्व र विश्वव्यापी वित्तीय पुँजीवादविरुद्ध प्रजातान्त्रिक आन्दोलन अगाडि बढाउनु आवश्यक छ ।

नवउदारवाद कार्यक्रमले मुख्यतः दुई काम गर्छ । पहिलो काम, यसले उत्पादक शक्तिको विकास गर्ने नाममा कामदार वर्गको आन्दोलन कमजोर बनाउँछ । उसले भन्छ, हडताल बन्द गर किनभने हामी लगानी गर्छौं । दोस्रो काम, यसले किसान र निम्न उत्पादकहरूलाई हडपेर पुँजी सञ्चय गर्छ ।

विश्वव्यापी वित्तीय पुँजीवादले अहिले जताततै ससाना सम्पत्ति, कृषि उत्पादन र निम्न उत्पादनलाई आक्रमण गरिरहेछ । त्यसैले अहिले सर्वहारा वर्गले किसान र निम्न उत्पादकहरूसँग मिलेर प्रजातान्त्रिक आन्दोलन अगाडि बढाउन आवश्यक छ । यसो गर्दा निम्न उत्पादकहरू आफैंमा पुँजीवादतर्फ उन्मुख हुने सम्भावना रहन्छ । उनीहरूले पुँजी सञ्चय गर्नुपूर्व नै समाजवाद तर्फको यात्रा थालिहाल्नु उचित हुन्छ । त्यसैले, अब पनि समाजवाद निर्माणपूर्व पुँजीवादको विकास कुरौं भन्ने विचारलाई म अस्वीकार गर्छु । मेरो विचारमा सर्वहारा वर्गको नेतृत्वमा हुने प्रजातान्त्रिक क्रान्तिदेखिको निरन्तर क्रान्तिले समाजवाद स्थापना गर्छ ।

के यो निरन्तर क्रान्ति ट्राट्स्कीको स्थायी क्रान्तिसँग नजिक छ ?
वास्तवमा ट्राट्स्कीले ‘स्थायी क्रान्ति’ को विचार अगाडि सारेका हुन् । ट्राटस्कीले किसानहरूको भूमिकालाई कम आँकलन गरेका छन् । म भने किसान र निम्न उत्पादकहरूलाई सँगै लिएर जानुपर्छ भन्छु । लेनिनले नै बरु निरन्तर क्रान्तिको विचार अगाडि सारेका हुन् नी । उनले सर्वहारा वर्गको नेतृत्वमा हुने सामन्तवाद विरोधी आन्दोलन नै पुँजीवाद विरोधी आन्दोलनको रूपमा विकास हुने बताएका छन् । बोल्सेभिकहरूमा निरन्तर क्रान्तिको विचार स्थापित भएको पाइन्छ ।

प्रोफेसर, पुँजीवाद झन् भन्दाझन् बलियो भइरहेको, नयाँ–नयाँ रूपमा आइरहेको दृश्यले समाजवादी आन्दोलनमा निराशा सिर्जना गर्दैन ?
तर, त्यो पुँजीवाद त अहिले झन् भन्दा झन् संकटमा फसिरहेको छ । त्यसबाट निस्कन सजिलो पनि छैन । पुँजीवादको विकल्प नै नभएको होइन । फेरी पुँजीवादले आफूलाई स्थापित गरिरहन नयाँ नयाँ विकल्प नखोज्ने पनि होइन । पुँजीवादले आफूलाई पुनर्निर्माण गर्न पटकपटक प्रयास गर्छ । प्रश्न के हो भने, पुँजीवादले आफ्नो पुनर्निर्माण गर्न कति सजिलो छ र कति गाह्रो छ । सर्वहारावर्गले पुँजीवादले आफ्नो पुनर्निर्माण गर्नभन्दा पहिला नै आन्दोलन गर्नुपर्छ ।

अर्थात्, समाजवादी क्रान्ति तत्काल आवश्यक छ ?
अवश्य । सर्वहारा आन्दोलनलाई समाजवादी आन्दोलनले नै अगाडि बढाउने छ ।

के तपाईं समकालीन विश्व परिवेशमा समाजवादी आन्दोलनको सम्भावना देख्नुहुन्छ ?
समाजवादी आन्दोलन अगाडि आइरहेछ । उदाहरणको लागि तपाईंले बेलायतलाई हेर्नुस् । लेबर पार्टीका जेरेमी कर्बिनले यस्तै आन्दोलन उठाइरहेछन् र उनले प्रशस्त समर्थन पाइरहेछन् । अमेरिकामा पनि बर्नी स्यान्डर्सले पनि समाजवादी आन्दोलनमा समर्थन बढाइरहेछन् । विश्वभरि नै समाजवादी आन्दोलनहरूले समर्थन पाइरहेछन् ।

तर, उनीहरू त कम्युनिस्टभन्दा पनि बढी सामाजिक–जनवादीहरू जस्तो देखिन्छन् नि !
यस्ता फरक नामहरूले खासै अर्थ राख्दैनन् । उदारवादी प्रजातन्त्रबाट टाढा जाने कि नजाने भन्ने नै महत्वपूर्ण हो । त्यस्तै कम्युनिस्ट नाम राख्दैमा कम्युनिस्ट पार्टीको सदस्य बन्दैमा पुँजीवाद विरोधी हुन्छ भन्ने पनि म विश्वास गर्दिनँ । हामीले के कार्यक्रम अपनाइरहेको छ भन्ने हेर्नुपर्छ । यदि कम्युनिस्ट नाम गरेको पार्टीले नवउदारवादी परियोजना अपनाइरहेको छ भने म भन्छु, ‘तिमी कम्युनिस्ट पार्टी होइनौ ।’ यदि कसैले पनि नवउदारवादको विरोध गर्छ भने त्यसले आन्दोलन अगाडि बढाउँछ । र, यस्ता शक्तिहरू बढिरहेका छन् ।

तपाईं त्यसो भन्नुहुन्छ, आफूलाई समाजवादी भन्ने अनि कम्युनिस्ट पार्टीकै शासन चलिरहेको चीनले भने खुला बजार अर्थतन्त्र र स्वतन्त्र व्यापारलाई स्वागत गरिरहेछ ।

अँ हो । उनीहरू त्यसै गरिरहेछन् । उनीहरू त्यस्ता धेरै काम गर्छन् जसमा म सहमत छैन ।

यसको अर्थ तपाईंले चीनलाई समाजवादी मान्नुहुन्न भन्ने हो ?
उनीहरूले के गर्नुपर्छ र गर्नु हुँदैन मैले भन्ने होइन । यत्ति हो, भारतमा समाजवादी आन्दोलन अगाडि बढाउनेले उनीहरूले गरिरहेका धेरै अभ्यासहरू पछ्याउनुहुन्न भन्ने म ठान्छु ।

त्यसो भए तपाईं भारतको समकालीन समाजवादी आन्दोलनलाई कसरी व्याख्या गर्नुहुन्छ ?
सामान्य हिसाबले भन्दा अहिले त्यो पछि परिरहेको छ । नवउदारवादी अर्थनीतिले संकट र गरिबीमात्र ल्याउँदैन यसले जनतामा विभाजन पनि ल्याउँछ । नवउदारवादले वाम एकता र किसान आन्दोलनलाई कमजोर बनाउँछ । त्यसैले अहिले भारतमा कम्युनिस्ट आन्दोलन पछि परिरहेछ । तर मलाई लाग्छ, यदि हामीले सही बाटो समात्यौं भने यसले पुनर्जीवन पाउनेछ । अहिले भारतमा फासीवाद मौलाइरहेछ । हामीले त्यसको विरोध गर्नुपर्छ । तर, मोदी त चुनाव जितिरहेछन् । यस्तोमा कसरी समाजवादी वा फासीवाद विरोधी आन्दोलन अगाडि बढ्छ भनेर विश्वास गर्न सकिन्छ ?
चुनाव त हिटलरले पनि जितेका थिए । तर, फासीवाद त रहिरहेन । इतिहासमा त्यस्तो हुन्छ । उनीहरूले अहिले हिन्दु र मुस्लिमको नाममा विभाजन गरिरहेछन् । अल्पसंख्यकलाई झनै ओझेलमा पारिरहेछन् । फेरि, मोदी पूर्ण बहुमतमा पनि त छैनन् । उनीसँग कुल भोटको जम्मा ३१ प्रतिशतमात्र छ । उनले साम्प्रदायिक विभाजन र हिंसाको प्रयोग गरेर चुनाव जितेका हुन् । म भने ऐतिहासिक विकासक्रमको आधारमा यो रहिरहन सक्दैन भनेको हुँ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने, पछिल्ला निर्वाचनमा कुल मिलाएर हेर्दा कम्युनिस्ट पार्टीहरूले ६० प्रतिशत जति भोट ओगटेको देखिन्छ । तर, उनीहरूले नै नवउदारवादी नीति लागू गरे । अनि हामीले कसरी नवउदारवाद पराजित हुन सक्छ भनेर आशा गर्ने ?
उनीहरूले गल्ती गरिरहेका छन् । म त्यसको विरोध गर्छु । मलाई लाग्दैन, कम्युनिस्ट पार्टीले नवउदारवादी नीति लागू गर्छ । यदि नवउदारवादी नीति लागू गरिरहेका छन् भने ती कम्युनिस्ट पार्टी होइनन् । त्यसो हो भने, नवउदारवादको विरोधमा नयाँ शक्ति आउनेछ र जनताले त्यसको समर्थन गर्नेछन् ।

सजिलो भाषामा भनिदिनुस् न नवउदारवाद कसरी हानिकारक छ ?
नवउदारवाद कार्यक्रमले मुख्यतः दुई काम गर्छ । पहिलो काम, यसले उत्पादक शक्तिको विकास गर्ने नाममा कामदार वर्गको आन्दोलन कमजोर बनाउँछ । उसले भन्छ, हडताल बन्द गर किनभने हामी लगानी गर्छौं । दोस्रो काम, यसले किसान र निम्न उत्पादकहरूलाई हडपेर पुँजी सञ्चय गर्छ ।

तर, नवउदारवादी चिन्तकहरूले त यो मानवजातिको हितमा छ भन्छन् । यसले सम्पर्क बढाउँछ, रोजगारी सिर्जना गर्छ र ग्रामीण क्षेत्रमा विकास गर्छ भन्छन् त !
स्वाभाविक रूपमा उनीहरू त्यस्तो भन्छन् किनभने ती नवउदारवादी नीतिका पक्षपोषक हुन् । तर, भारत र अरू देशको अनुभवबाट मलाई थाहा छ, नवउदारवादले गरिबी बढाउँछ । जीवनस्तर झन् जीर्ण बनाउँछ ।

जस्तै ?
भारत नै त्यसको उदाहरण हो । सन् १९९३, १९९४ मा भारतको ग्रामीण जनसंख्यामा गरिबीको रेखामुनि रहने जनसंख्या ५८ प्रतिशत थियो । सन् २०११, २०१२ मा यो ६८ प्रतिशतमा पुग्यो । भारतमा अहिले भोकमरी बढिरहेछ । यो के हो ?

के त्यो नवउदारवादकै परिणाम मात्र हो त ?
तपाईं हेर्नुस्, सन् १९८० सम्म प्रतिव्यक्ति आय, खाद्यान्नमा पहुँच आदि बढिरहेको थियो । अहिले यो घट्दो छ किनभने नवउदारवादी नीतिले किसान र निम्न उत्पादकहरूसँगबाट पुँजी खोसिरहेको छ ।

सन् १९८० भन्दा अगाडि पनि भारतले उदारवादी अर्थतन्त्र नै अपनाएको होइन र ?
होइन, त्यसबेला राज्य नियन्त्रित अर्थनीति अपनाइरहेको थियो । नवउदारवादी अर्थतन्त्र त्यो हो जहाँ राज्यले विकास र स्वतन्त्र बजारको नाममा किसान र निम्न उत्पादकहरूलाई शोषण गरिरहेको हुन्छ ।

विश्व पुँजीवाद विकास भइरहेको सन्दर्भमा नेपाल जस्ता तेस्रो विश्वका देशहरू कसरी यसविरुद्ध संघर्ष गर्न सक्छन् ?
संघर्षको पहिलो कदम सही बुझाइ निर्माण गर्नु हो । सही बुझाइ भएपछि बल्ल केका लागि र कसका विरुद्ध संघर्ष गर्ने भन्ने थाहा हुन्छ । अहिलेको पहिलो संघर्ष नवउदारवादी पुँजीवादविरुद्ध नै हो । नेपालका धेरैजसो वामपन्थीहरूले यही बुझिरहेका छैनन् ।

थोरै प्रसंग बदलेँ, सोभियत संघको विघटनपछि माक्र्सवादको अन्त्य भयो, इतिहासकै अन्त्य भयो भनियो । के अझै पनि माक्र्सवादको सान्दर्भिकता छ ?
अवश्य । मानव जाति मुक्तिको बाटोमा हिँडिरहेको छ भने, उसलाई सिद्धान्त त चाहिन्छ नै । त्यो माक्र्सवाद नै हो । मानवमुक्तिका लागि पुँजीवादले कसरी केन्द्रीकरणतिर, केन्द्रीकरणले कसरी साम्राज्यवादतिर लगिरहेछ भनेर बुझ्नुपर्छ । माक्र्सवादले मात्र त्यो बुझ्न सिकाउँछ ।

तर, केही विद्वानहरू त लेनिन र माओले माक्र्सको अपव्याख्या गरे भन्छन् । के त्यस्तो हो ?
हेर्नुस् माक्र्सवाद यही हो भन्ने छैन । माक्र्सवादले समकालीन यथार्थ बुझ्न सघाउ पुर्याउँछ । यो एउटा विधि हो । लेनिनले आफ्नो समयको यथार्थ बुझे । हामीले हाम्रो समयको यथार्थ बुझ्ने हो । माक्र्सवाद धर्म त होइन ।

त्यो विधि के हो त ?
माक्र्सवादले पुँजीवादले कसरी काम गर्छ भनेर व्याख्या गर्छ । त्यो बुझेपछि संसार कसरी चलिरहेछ भन्ने बुझ्न सकिन्छ ।