पार्टी एकता कम्युनिष्ट नहुनुको निकृष्ट उदाहरण हो–आहुति

विगत साढे तीन दशकदेखि कम्युनिस्ट आन्दोलनमा रहेका विश्वभक्त दुलाल आहुतिहाल माओवादी केन्द्रका नेता तथा माक्र्सवादी चिन्तक हुन् । उनै आहुतिसँग नेपालको कम्युनिस्ट आन्दोलन, एमालेमाओवादी गठबन्धनलगायत विषयमा रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको अन्तरवार्ता यहाँ प्रस्तुत गरेका छौं

नेपाली कम्युनिस्ट आन्दोलनको उतारचढावलाई कसरी हेर्नुभएको छ ?
नेपालमा कम्युनिस्ट आन्दोलनको सुरुआत सामन्तवादभित्र पुँजीवादको विकास हुन थालेपछि विशेषतः विराटनगर जुटमिल, काठमाडौँको एयरपोर्ट, त्रिचन्द्र कलेज, नयाँ सडक जस्ता केही चीजहरू सुरु भएपछि भएको हो । जसको मुख्य लक्ष्य साम्राज्यवाद, विस्तारवाद र सामन्तवादबाट नेपाली समाजलाई मुक्त गरेर कम्युनिस्टहरूको नेतृत्वमा पुँजीवादको विकास गर्दै समाजवादतर्फ जाने भनेर अगाडि बढ्नुथियो ।

यदि जनयुद्धलाई आधार मान्ने हो भने के नेपालको कम्युनिस्ट आन्दोलनलाई जनयुद्धपूर्व, जनयुद्धपछि र जनयुद्धको अवधिभर भनेर हेर्न मिल्छ ?
टुक्र्याएर हेर्न पनि मिल्छ तर म टुक्र्याउनुको धेरै अर्थ देख्दिनँ । नेपालको कम्युनिस्ट आन्दोलनमा सशस्त्र विद्रोहहरू कुनै बेला थोरै पैमानामा र कुनै बेला ठुलो पैमानामा भएका छन् । त्यसकारण त्यसलाई शृङ्खलामा जोडेर हेर्नुपर्छ । संश्लेषित रूपमा भन्ने हो भने सामन्तवादविरोधी कम्युनिस्ट आन्दोलनले नेपालको सामन्तवादलाई एकै चोटि फाल्न नसके पनि आफ्नै मौलिकतामा चिथोरी–चिथोरी ६० वर्ष लगाएर राजनीतिक र अर्थतन्त्रको क्षेत्रमा पराजित गरेको छ । मेरो बुझाइमा यो परिघटनासँगै नेपालमा सामन्तवाद विरोधी कम्युनिस्ट आन्दोलनको चक्र सकियो । त्यो चक्र सकिएसँगै आज आएर सङ्गठनात्मक रूपमा कम्युनिस्ट आन्दोलन पनि विसर्जन हुन पुग्यो ।

पछिल्लो समय नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा नयाँ परिघटना थपिएको छ, संसदवादी धाराको प्रतिनिधित्व गर्ने एमाले र तुलनात्मक रूपमा क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्ने माओवादी केन्द्रको जसरी पार्टी एकता हुने भनिएको छ, यसलाई तपाईंले कसरी हेर्नु भएको छ ?
वि.स. २०४४ सालमा माओविचारधारालाई छोडेर जसरी एमालेको निर्माण भयो । त्यसलेपछि क्रमशः शान्तिपूर्ण प्रक्रिया हुँदै पञ्चायतसँग बार्गेनिङमा जाने तय गर्यो । त्यसै वरपर एमालेले पञ्चायतमा जनपक्षीय उम्मेदवार उठाउने राजनीतिक लाइन लियो । पछि जनताको बहुदलीय जनवाद भन्यो । जनताको बहुदलीय जनवादको तात्पर्य ‘मल्टी पार्टी डेमोक्रेसी’ हो । जनवाद भनेको ‘डेमोक्रेसी’ र ‘डेमोक्रेसी’ अर्थात् पुँजीवाद । भन्नुको अर्थ, एमालेले वर्तमान पुँजीवादी व्यवस्थाभित्रको बहुदलीय अभ्यासमा प्रतिस्पर्धात्मक राजनीति गरेर क्रमशः व्यवस्थालाई सुधार गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्यो । हामीले त्यसलाई माक्र्सवादबाट विचलन भन्यौँ ।

सन् १९९० पछि संसारभर कथित कम्युनिस्ट सत्ताको पतन सुरु भयो । त्यो सँगसँगै एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले ‘कम्युनिस्ट’ शब्द हामीले ‘टे«डमार्क’को रूपमा राखेको हो भनेपछि स्वतः के सिद्ध भयो भने एमाले कम्युनिस्ट पार्टीका रूपमा क्रियाशील पार्टी नै थिएन । बरु ऊ एउटा ढुलमुल वामपन्थी चरित्र बोकेको पार्टीका रूपमा भने क्रियाशील थियो । एमालेको नेतृत्व गरेर आउने नेताहरूको मूल सपना पञ्चायत फाल्ने मात्र बन्न पुग्यो । त्यहीँबाट एमालेले आफ्नो सपनामा पूर्णविराम लगाएको देखिन्छ । यही चिन्तन र सोच हावी भएका कारण एमालेको नेतृत्वलाई गणतन्त्र आउँछ भन्नेमा विश्वास लागेन । सपनामा पूर्णविराम लगाएको पार्टी र नेतृत्वले गणतन्त्रको सपना देख्नुपर्छ र हामी अगाडि जानुपर्छ भन्ने कहिल्यै ठानेन् । ०४६ पछि पुँजीवादी राजनीतिक विचारधारा बोकेको नेपाली काङ्ग्रेससँग प्रतिस्पर्धा गर्ने भएपछि उहाँहरूले पार्टी र आफ्नो जीवनलाई पुँजीवादी पार्टीको समानान्तर बनाउन पुँजीवादी आर्थिक प्रणालीमा आफूहरूलाई समाहित गर्न लाग्नुभयो ।

त्यसरी समाहित हुन खोज्दाका परिणामहरू सतहमा के देखिए भने पुँजीवादीहरूले प्रतिस्पर्धाका निम्ति जे–जस्तो हत्कण्डा अपनाउँछन्, एमालेले पनि त्यही हत्कण्डा अपनाउन थाल्यो । हुँदाहुँदा एमालेको नेतृत्वको आधारभूत आर्थिक नैतिकता, संस्कृति, जीवनशैली, सोच्ने तरिका पुँजीपति वर्गकै जस्तो हुन पुग्यो, बढीमा मध्यमवर्गको माथिल्लो तप्काले सोच्ने भन्दा फरक सोच्न नसक्ने अवस्था रह्यो ।

माओवादी धाराको कुरा गर्ने हो भने, नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सशस्त्र जनयुद्ध गर्नुपर्छ भन्ने मान्यता राख्नेहरू त्यो आन्दोलनबाट आएका हुन् । तर शान्ति प्रक्रियामा आउने निर्णयसँगै उहाँहरूले तीन चार कुरामा चिन्तन गर्नु भएन । पहिलो, सशस्त्र सङ्घर्षमा पूर्णकालीन भएकाहरूको व्यवस्थापन कसरी गर्ने ? त्यो चिन्तन गर्न नसक्दा परिणाम के देखियो भने हजारौँ युवाहरू सदरमुकाम र राजधानीमा केन्द्रित भए तर उनीहरूलसँग त्यसको व्यवस्थापनको कुनै आर्थिक प्रणाली र योजना थिएन । फलस्वरूप ठूलो भागदौड, रस्साकस्सी र समस्याको जालमा युवाहरूको जमात फस्यो । अर्कोतर्फ नेतृत्वको डफ्फाले आफूलाई टिकाउन आर्थिक रूपमा निश्चित पारदर्शी प्रणालीमा व्यवस्थित गर्न सकेन ।

दोस्रो, कुनै पनि कम्युनिस्ट पार्टी चल्ने भनेको पद्धति, प्रक्रियामा हो तर माओवादी पार्टीको नेतृत्व डफ्फाले सैद्धान्तिक जवाफ दिनुपर्ने कयौँ प्रश्नमा आँखा चिम्लँदै व्यक्तिवादी कार्यशैली अपनाउन थाल्यो । ठूलो नेताले जे भन्यो त्यही हुने स्थिति बन्न थाल्यो । जबकि ती सबै सैद्धान्तिक प्रश्नहरूका जवाफ माक्र्सवादी कोणबाट छलफल गरेर त्यसलाई हल गर्नुपर्ने थियो । समग्रमा पार्टीलाई विधिमा ढाल्नुपर्ने थियो । तर उहाँहरूले त्यसको विपरीत गर्न थाल्नुभयो र प्रश्नको विकल्पमा नयाँ नयाँ भ्रम दिने विधिको खोजी गर्न थाल्नुभयो । यसको परिणाम स्वरूप पद्धति प्रक्रिया मिच्ने, व्यक्तिले पार्टी चलाउने र मनपरेको व्यक्तिलाई मात्र पहुँच दिने हुन थाल्यो । यतिसम्म कि माक्र्सवादी नै नभएको व्यक्तिलाई केन्द्रीय समितिको बैठकै नबसी केन्द्रीय सदस्य बनाउने स्थितिसम्म विकृति बढ्यो ।

तेस्रो, शान्ति प्रक्रियामा प्रवेशसँगै ठूलो सैद्धान्तिक बहस गर्नुपथ्र्यो । तर, उहाँहरूले त्यसलाई निषेध गर्नुभयो । मुखपत्र प्रकाशन गर्न छाड्नु भयो । मुखपत्र प्रकाशन गरिहालेमा भाषण छाप्न थाल्नुभयो । आफ्ना साप्ताहिक पत्रिका बन्द गर्ने, पार्टीभित्रको स्कुल नचलाउने, प्रशिक्षण भनेर भाषण गर्ने हुन थाल्यो । यसको परिणाम के देखियो भने कार्यकर्ता वैचारिक समस्याको जङ्गलमा फस्न पुगे । वैचारिक छलफलमा कसैले ध्यान नदिने सिलसिला चल्यो । फलस्वरूप वैचारिक रूपमा खोक्रो राजनीतिक कार्यकर्ता पङ्क्ति लडेको मुढो सरह अन्योल र भ्रममा जेलिँदै जान थाल्यो । यसले उसलाई बाँच्नका निम्ति जे पनि गर्नुपर्ने अवस्थामा पुर्याइदियो ।

यसको विकल्पमा प्रतिक्रियावादसँग लड्न पार्टीसँग स्पष्ट माक्र्सवादी राजनीतिक दिशा चाहिन्थ्यो तर उहाँहरूले माक्र्सवादी विचारधारालाई प्रवद्र्धन गर्नेभन्दा पनि आफू ‘सेटल’ हुने तर्फ लाग्नुभयो । म कसैलाई भ्रष्ट भन्ने पक्षमा छैन तर पार्टीको अधिकांश नेतृत्व आर्थिक अपारदर्शिताको जङ्गलमा जेलिन पुग्यो । यो दुःखद कुरा थियो । नीतिगत कुरा गर्दा जुन व्यक्ति, संस्था आर्थिक रूपमा अपारदर्शी हुन्छ, त्यसको नैतिक मृत्यु अनिवार्य छ । यस कुराले नेतृत्वको मूल डफ्फामा अब माक्र्सवाद, क्रान्तिकारी आन्दोलनको पुनर्गठन सम्भव छैन भन्ने सोच हावी हुन गयो । तर आम कार्यकर्ता पङ्क्तिसमक्ष यो कुरा भन्न सकिने अवस्था थिएन ।

न्यूनतम आर्थिक अनुसाशनलाई समेत भताभुङ्ग पारी अपारदर्शितामा आधारित समग्र क्रियाकलापले नेतृत्व डफ्फाको हिजोको वर्ग र आजको वर्गमा ठूलो खाडल पैदा भइसकेको थियो । यदि नेतृत्वको वर्ग (निम्नमध्यम) हिजोकै ठाउँमा रहेको भए उहाँहरू सर्वहारावादी हुन कोसिस गर्नु अझै सक्नुहुन्थ्यो तर पुरानो वर्गबाट च्युत भ्इसकेको नेतृत्वका लागि अब पुरानो कुरा पुरानै भइसकेको थियो । यथार्थमा भन्ने हो भने माओवादी केन्द्रको मूल नेतृत्व डफ्फा आज राजनीतिक नोकरशाही पुँजीपतिवर्गमा रूपान्तरित भइसकेको छ । त्यसैले उहाँहरू माक्र्सवादलाई विकास गर्न नसक्ने अवस्थामा पुग्नु भयो । उहाँहरूले अब चाहेर पनि माक्र्सवादलाई विकास गर्न सक्नु हुन्न । उहाँहरूले अपनाएको षडयन्त्रकारी कार्यशैलीको मूल जड पनि उहाँहरूले अपनाएको नयाँ वर्गीय धरातल हो भन्दा अनुपयुक्त हुँदैन ।

माओवादी केन्द्रको अहिले देखिएको बाहिरी रूप त्यो घरको पालीको त्यो फर्सी जस्तो हो जो भित्रभित्रै कुहिएको छ तर बाहिर बोक्रा चाहिँ राम्रो देखिन्छ । त्यहाँ कुनै विरालोले छोयो भने मात्र त्यो फ्यात्त झर्छ । यही अवस्थामा चुनावको जोखिम आइपुग्यो । चुनावले कुहिएको फर्सीको वास्तविकता सबैका अगाडि नङ्ग्याइदियो । उसले हामी पनि एमाले जस्तै हौँ । एकता गर्ने नै हो भनेर आफ्नो सारअनुसारको रूप प्रकट गर्यो, एमाले–माओवादी एकताको प्रकरण यही नै हो ।

यो एकता के कुराको द्योतक हो त ?
मेरो विचारमा यो एकता पहिलो, नेपाली कम्युनिस्ट आन्दोलनको औपचारिक रूपमा सङ्गठनात्मक विसर्जन हो । दोस्रो, यो एकताले अहिलेसम्म लडेर संविधानमा स्थापित गरेको जातीय, क्षेत्रीय, लैङ्गिक र दलितलगायतका मुद्दालाई क्रमशः सङ्कुचनमा लैजाने कडीको सुरुवात हो । मेरो स्पष्ट अडान के हो भने यो एकताले सबै उत्पीडित वर्ग र समुदायको अधिकारलाई कटौतीतर्फ लैजान्छ । यसको कारणका खुट्याउन तपाईं यी पार्टीहरूको सामाजिक, सांस्कृतिक बनोटतर्फ फर्किनुपर्ने हुन्छ ।

माओवादी पार्टीको मूल नेतृत्व डफ्फाको प्रवृत्ति उदार हिन्दु सामन्तवादी ब्राह्मणवादी थियो (सारमा कठोर नै) त्यसको मूल कारण जनयुद्धमा महिला, दलित, मधेसी, आदिवासीले बगाएको रगत र ती कार्यकर्ताहरूको गर्जनका अघि नेतृत्वले कड्केर यसो गर्दिनँ, त्यो नारा ठीक छैन भन्ने अवस्था थिएन । बरु ऊहामीले गर्न खोजेकै हो तर अरूले रोके भनेर नरम ढङ्गले पेश हुन्थ्यो । यस्तो चरित्र भनेको रूपमा उदार हिन्दु सामन्तवादी ब्राह्मणवादी चरित्र थियो ।

माओवादी पार्टीको मूल नेतृत्व डफ्फाको प्रवृत्ति उदार हिन्दु सामन्तवादी ब्राह्मणवादी थियो (सारमा कठोर नै) त्यसको मूल कारण जनयुद्धमा महिला, दलित, मधेसी, आदिवासीले बगाएको रगत र ती कार्यकर्ताहरूको गर्जनका अघि नेतृत्वले कड्केर यसो गर्दिनँ, त्यो नारा ठीक छैन भन्ने अवस्था थिएन । बरु ऊ– हामीले गर्न खोजेकै हो तर अरूले रोके भनेर नरम ढङ्गले पेश हुन्थ्यो । यस्तो चरित्र भनेको रूपमा उदार हिन्दु सामन्तवादी ब्राह्मणवादी चरित्र थियो ।

एमालेको मूल नेतृत्वको वास्तविक प्रवृत्ति भनेको चाहिँ कठोर हिन्दु सामन्तवादी ब्राह्मणवादी हो । उनीहरू हाक्काहाकी हामीले सबै कुरा दिई सक्यौँ अब पनि तिमीहरूलाई के कुरा चाहिँयो भन्ने डफ्फा हो । अब यो दुई पार्टीको एकताले के हुने भयो भने अब बन्ने पार्टीमा हिन्दु सामन्तवादी ब्राह्मणवादी प्रवृत्ति नेतृत्वमा दुई तीहाई बहुमतमा पुग्ने भयो । यसको परिणाम स्वभाविक रूपमा उत्पीडित समुदायको अधिकार कटौती हुने प्रष्ट छ किनभने हिजो एमालेभित्रको ठूलो तप्काले र माओवादी केन्द्रभित्रको सानो तप्काले उत्पीडित समुदायका सीमित अधिकारहरू संविधानमा सुनिश्चित गर्दा नै छाती दुखेको अनुभव गरिरहेको दृश्य सबैले देखेकै हो ।

हामीले यस कुराको राम्रो उदाहरण दुवै पार्टीहरूले अहिलेको चुनावमा उठाएका उम्मेदवारहरूमा महिला र दलितको सङ्ख्या हेरे पुग्छ । १६५ सिटमा दुबै पार्टीले जम्मा आधा दर्जन महिलालाई उम्मेदवार बनाए । जम्मा ३ जना दलितलाई स्थान दिइयो । यसबाट के प्रष्ट हुन्छ भने उहाँहरू संविधानमा स्थापित मूल्य–मान्यताहरूलाई कटौती गर्न कम्मर कसेर लाग्नु भएको छ । निष्कर्षमा यो एकता एकतिर सङ्गठनात्मक रूपमा कम्युनिस्ट आन्दोलनको विसर्जन हो भने अर्कातिर जनयुद्ध र जनआन्दोलनद्वारा संविधानमा स्थापित उत्पीडित वर्ग र समुदायका सीमित अधिकारहरू पनि कटौती गर्ने यात्राको प्रस्थान विन्दु पनि हो ।

तपाईं कम्युनिस्ट आन्दोलनमा जति दशकदेखि हुनुहुन्छ त्यो आन्दोलन विघटनतर्फ जाँदैछ भन्ने कुरा तपाईंले पहिले नै उठाउनुपर्ने होइन र ? अब आन्दोलन विघटित भयो भनेर भन्नु भनेको तपाईंको पनि असफलता र अदूरदर्शिता होइन ?
तपाईंले उठाएको कुरा ठीक छ र त्यो पनि समीक्षाको विषय हुनुपर्छ । तर यो विषय मैले आजभन्दा साढे दुई वर्षअघि खुला रूपमा ‘खबरडबली डटकम’ अनलाइन पत्रिकामा– नेपालमा सङ्गठित रूपमा कम्युनिस्ट पार्टी छैन भनेर उठाएको थिएँ । कम्युनिस्टहरू छन् । कम्युनिस्ट पार्टी बनाउन चाहने र कम्युनिस्टलाई मन पराउने जनसमुदाय पनि छन् । तर सङ्गठित रूपमा कम्युनिस्ट पार्टी छैन भनेर ‘विरक्तिएको माओवादी आन्दोलन’ शीर्षकमा लेखको शृङ्खला लेखेको थिएँ ।

त्यहाँ मैले के भनेको थिएँ भने यसलाई सच्याउन र नयाँ ढङ्गले विकास गर्नतर्फ नलाग्ने हो भने माओवादी पार्टी पनि कम्युनिस्ट पार्टीको रूपमा फर्किने सम्भावना छैन । बहस त्यहाँबाट सुरु गरिएको थियो तर सँगसँगै जनताले लडेर ल्याएको अधिकारलाई संविधान बनाएर बढीभन्दा बढी सुरक्षित गर्नुपर्ने कार्यभार पनि हामी माझ थियो । त्यसकारण हामीले पार्टीभित्रको त्यो बहसलाई रोक्यौँ । केन्द्रीय समितिमा हाम्रो के समझदारी भएको थियो भने संविधान बनाइसकेपछि एउटा महाबहस सृष्टि गरेर महाधिवेशनतिर जाने र एउटा नयाँ पार्टी निर्माणमा लाग्ने । त्यसकारण हामीले बहस पर्खेर बस्यौँ ।

तर नेतृत्वको डफ्फाले छापामार शैलीमा कुनै कमिटीको बैठक नराखी एमालेसँग पार्टी एकताको सात बुँदे ल्याएर– एमालेसँग पार्टी एकता गर्ने भइयो, तपाईंहरूले अनुमोदन गरिदिनु पर्यो भनेर प्रस्ताव होइन निर्णय सुनायो । यो निर्णय त्यस्तो अनौपचारिक वैठकमा ल्याइएको थियो, जहाँ चुनावका लागि टिकट दिन सिफारिस गर्ने कार्यदलको बैठक डाकिएको थियो । त्यस्तो अवस्थामा छलफलको कुनै सम्भावना थिएन । यस विषयमापछि मैले के भने भने यो त ३० वर्षदेखि दुवै पार्टीहरूले कार्यकर्तालाई एउटा कुरा भनेर प्रशिक्षित गर्ने र पछि अर्कै काम गर्न लगाउने कुरा भयो । के त्यत्रो समयदेखि भनिएको र प्रशिक्षित गरेको कुरा कार्यकर्तालाई ढाट्नका लागि थियो ?

वास्तवमा संसारले देख्ने गरी दुवै पार्टीले सैद्धान्तिक रूपमा ३० वर्षदेखि जुन मूल्य, मान्यता बोक्र्दै आए । त्यसलाई एक झट्कामा फेरेर, आफ्नो बैंस सिध्याएका, जीवनको बलिदानी दिएका मानिसहरूलाई, एक घण्टा पनि सोच्न नदिई निर्णय मान भन्ने यति ठूलो स्तरको अपमानको दृष्टान्त मैले आजसम्मको कम्युनिस्ट आन्दोलनमा कहीँ पढेको छैन । यो त कस्तो भयो भने आमाले भोलिपल्ट उठ्ने बित्तिकै बच्चाहरूलाई तेरो बाउ अर्कै हो भने जस्तो भयो ।

त्यसैले यो एकता कम्युनिस्ट वा वामपन्थीको रूपमा अभिनय गर्ने मध्यमवर्गको माथिल्लो हिस्सा र राजनीतिक नोकरशाही पुँजीपतिवर्गको हैसियतमा पुगिसकेका नेताहरूको डफ्फामा मच्चिएको गैरसर्वहारा भागदौड हो । यो एकता सर्वहारावर्गको निष्ठाबाट च्यूत हुनुको पछिल्लो निकृष्ट उदाहरण हो । यो माक्र्सवादको विकास गर्न गरिएको कुनै महान एकता हुँदै होइन ।

एमालेमाओवादीको एकतापछि यो पार्टी कस्तो बन्ला भनेर केही आँकलन गर्न सकिन्छ ?
यसको जवाफ केपी ओलीजीले दिइसक्नु भएको छ । त्यो वामपन्थी अथवा कम्युनिस्ट पार्टी हुँदैन भनेर उहाँ आफैले प्रष्ट भन्नुभएको छ । उहाँको कुरालाई कसैले खण्डन गरेको छैन । वाम गठबन्धनको नेता केपी ओलीजी हो किनभने जुन पार्टी ठूलो हुन्छ, त्यसकै नाममा गठबन्धन बन्ने हो । त्यसकारण यो एमाले गठबन्धन हो । जसको नेतृत्व सारमा एमाले अध्यक्ष ओलीजीले गर्ने हो । उहाँले प्रष्ट भनेको हुनाले के बुझिन्छ भने उहाँ नेतृत्वको भावि पार्टीको चरित्र सामाजिक जनवादी खालको बुर्जुवा पार्टी वा ढुलमूल वाम प्रजातान्त्रिक पार्टी हुनेछ ।

मलाई के लाग्छ भने सामाजिक जनवादी खालको पार्टी उहाँले बनाउन सक्नुहुन्न किनभने त्यसका लागि नेतृत्व राजनीतिज्ञ मात्र हुनुपर्ने हुन्छ । उहाँहरू त उद्योग, कलेज, अस्पताल, सञ्चारमाध्यम आदिको प्रत्यक्ष–अप्रत्यक्ष सेयरधनी भएर पुँजीपतिका रूपमा बसी सक्नुभएको छ । यस स्थितिमा सामाजिक जनवाद लागू गर्न उहाँहरू सक्नुहुन्न । अर्कोतर्फ वाम प्रजातान्त्रिक भूमिका पनि ठोस रूपमा खेल्न सक्नु हुन्न किनभने उहाँहरू पहिचानलगायतका उत्पीडित वर्ग र समुदायको आधारभूत अधिकारको पक्षमा पनि हुनुहुन्न । उहाँहरू बढीमा आफूलाई काङ्ग्रेसभन्दा पृथक देखाउन राष्ट्रवाद, समाजवाद जस्ता कुरा उठाएर एउटा नयाँ पुँजीवादी पार्टी चलाउन सक्नुहुन्छ ।

एमालेमाओवादीको नेतृत्व पुँजीवादीकरण हुनुका सामाजिक आयामहरू के होलान् त ?
उहाँहरू कम्युनिस्ट आन्दोलनमा लागेपछि सङ्घर्ष गर्नु भयो, त्याग गर्नु भयो, रगत–पसिना बगाउनुभयो । त्यसबेलासम्म उहाँहरूमा कम्युनिस्ट स्प्रिट नै थियो । तर आज बदलिएको परिस्थितिमा नेपाली क्रान्ति, विश्व कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने कुरा आयो, उहाँहरू चुक्नुभयो । विचार निर्माणको सन्दर्भमा उहाँहरूको चेतनाले काम गर्न छोडेको देखिन्छ । हामीले बुझ्नुपर्ने के छ भने उहाँहरूले सुरु गरेको आन्दोलन मेसिनको युगको कम्युनिस्ट आन्दोलन हो । मेसिनको युगको कम्युनिस्ट आन्दोलनले धक्का दिने भनेको सामन्तवादलाई मात्र हो । सामन्तवादविरुद्ध उहाँहरू निकै सानदार ढङ्गले लड्नुभयो ।

भन्नुको अर्थ मेसिनको युगमा विकास भएको कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट नेताको रूपमा उहाँहरू लड्नुभयो । तर आज विश्व धेरै अघि बढी सकेको छ । आजको विश्व हार्डवेयरबाट सफ्टवेयर अर्थात डिजिटलमा पुगिसकेको छ । आज मेसिन उत्पादक शक्तिको नायक होइन । आजको उत्पादक शक्तिको नायक विज्ञान प्रविधिको गुणात्मक उन्नतस्तर हो । जसलाई हामी बोलीचालीको भाषामा डिजिटल भन्न सक्छौँ । डिजिटल युगमा प्रवेश गरेपछि अबको कम्युनिस्ट क्रान्ति र समाजवाद कस्तो हुने भन्ने कुरालाई उहाँहरूले छिचोल्न सक्नुभएन ।

यो कुरालाई उहाँहरूले छिचोल्न सकेको भए अबको वैज्ञानिक समाजवादी क्रान्तिको मार्ग के हुन्छ भन्न सक्नुहुन्थ्यो तर त्यो सम्भावना रहेन । त्यसमा उहाँहरूको निष्ठाको कुरा पनि जोडिन्छ, त्यसमा समेत उहाँहरू खरो उत्रन सक्नुभएन । नभएपछि अब के गर्ने त भन्दा जे छ त्यसमै सुधार गरेर आफ्नो अस्थित्व धान्नेतर्फ उहाँहरू लाग्नुभयो । आफ्नो वर्गबाट च्यूत भइसकेको नेतृत्वमा नयाँ कुराको आविष्कार गर्नुपर्छ भन्ने चेतना आउने कुरा पनि भएन । आजको डिजिटल युगमा माक्र्सवादको विकास र क्रान्तिको मोडेलमाथि नै नयाँ संश्लेषण नगरिकन कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन ।

केही महिनायता तपाईं कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आवश्यकतामा जोड दिइरहनुभएको छ, समग्र कम्युनिस्ट आन्दोलनकै पुनर्गठनको कुरा उठाउनुभएको अथवा माओवादी आन्दोलनको ?
म आफ्ना थोरै कुरा सन्दर्भसहित विस्तारमा राख्ने प्रयास गर्छु । माक्र्सवादले समाज व्यवस्थामा समाज परिवर्तनको मुख्य उत्प्रेरक शक्ति ‘उत्पादक शक्ति’ हो भन्छ । बाँदरबाट मानिसतर्फ सङ्क्रमण हुन लागेको बेलामा जब मानिसले आगोको विकास गर्यो मानिस पूर्णरूपमा पशुबाट अलग भयो । आगो उत्पादक शक्ति हो अथवा ज्यावल हो । त्यही मानिसले जब तीरको आविष्कार गर्यो, जङ्गली घुमन्ते युगको विकास भयो । त्यसमा जब तामा र फलामको आविष्कार थपियो, दास युगको विशाल पाहाड हाम्रा अघिल्तिर उभियो (फलामले खोस्रेर उत्पादन बढाउन थालेपछि दास युगको सुरुवात भयो) । त्यसमा जनावरले जोत्ने हलो र प्राविधिक रूपमा आरनको विस्तारसँगै त्यसले परिमिड र ताजमहल बनाउने सामन्तवादको निर्माण गर्यो (भूदास/मोही किसान र सामन्तहरूको युग) ।

त्यसपछि आरनलाई विस्तापित गरेर फलाम गाल्ने भट्टी र इन्जिनको आविष्कारले सामन्तवादलाई विस्तापित गरेर पुँजीपति वर्गको निर्माण भयो । त्यसले किसानलाई मजदुरमा परिणत गरिदियो र विशाल मजदुरहरूको फौज खडा भयो । अनि पुँजीपतीले मजदुरमाथि लुट मच्चाउन थालेपछि त्यो लुटविरुद्ध लड्नलाई मजदुरलाई एउटा हतियार चाहिएको थियो । त्यसपछि त्यस्तो वैचारिक हतियारका रूपमा माक्र्सवादको जन्म भयो । भन्नुको अर्थ हरेक युगलाई उल्ट्याउन केले काम गरेको छ भन्दा औजारको गुणात्मक विकासले । मात्रात्मक होइन गुणात्मक विकासले हो ।

लेनिनको युगसम्म के देखियो भने मेसिनमा मात्राहरूको विकास भयो । ५ मिटर बुन्ने मेसिनले १० मिटर बुन्न थाल्यो । सय मिटर बुन्नेले एक हजार मिटर बुन्न थाल्यो । तर युग चाहिँ मेसिनकै थियो । सन् १९५० सम्म मेसिनकै युग थियो । मेसिन नै उत्पादनको नायक थियो । कम्युनिस्ट आन्दोलन पनि त्यही मेसिनमा आधारित भएर रणनीतिहरू बुन्थ्यो । मेसिनका कारण मजदुरहरू कारखाना जान्थे । कारखानाहरूमा कमिटी, टे«ड युनियन बन्थ्यो, जहाँ तिनलाई क्रान्तिकारी बनाएर विद्रोह गरी सत्ता आफ्नो हातमा लिन सकिन्थ्यो ।

सन् १९५० पछि क्रमशः संसार डिजिटलाइज हुन थाल्यो । सन् ८० र ९० को दशकमा पुग्दा विकसित भनिएका मुलुकहरूमा मेसिनको नायकत्व खोसेर सफ्टवेयर वा डिजिटलले नायकत्व लियो । समग्रमा भन्दा गुणात्मक रूपमा समृद्ध भएको विज्ञान प्रविधिले नायकत्व लियो । अब मेसिन डिजिटली चल्न थाले । यसले विश्वको पर्यावरण फेर्दै लग्यो र मेसिनको युगमा सत्तासिन भएको कम्युनिस्ट आन्दोलन ९० कै दशकमा ढल्न थाल्यो । त्यसबेलाका नेताहरूदेखि आन्दोलन सबै मेसिन युगका थिए तर नायकत्व डिजिटलमा ‘सिफ्ट’ भइसकेको थियो । मनमोहन अधिकारीले कम्युनिस्ट पार्टी भन्ने नाम हामीले ‘टे«डमार्क’को रूपमा राखेको हो भन्नु त्यसैको द्योतक थियो । तर नेपालमा अन्तरविरोध बेस्सरी पाकेको हुनाले त्यसले सबै कम्युनिस्टलाई निल्न सकेन ।

पहिले रूपलाल विश्वकर्मालाई र पछि एमालेलाई झण्डा मात्र राख्ने तर काम अर्कै गर्ने बनाइदियो । त्यसपछि जनयुद्ध सुरु भयो । शान्ति प्रक्रियामा आइसकेपछि त्यसले बाबुरामजीलाई लिएर गयो र अहिले सबैलाई लिएर गयो । त्यसकारण मेसिनको युगबाट सुरु भएको कम्युनिस्ट आन्दोलन, मेसिनले उत्पादक शक्तिको नायकत्व गुमाउने क्रमसँगै मेसिनको युगको कम्युनिस्ट आन्दोलनको चक्र पनि संसारभर सकियो भन्ने मेरो निष्कर्ष छ । अब उत्पादक शक्ति डिजिटल भएपछि, आज चिन्तकहरू केसम्म भन्छन् भने विगत आठ हजार वर्षमा प्रविधिमा भएको विकास र सन् १९५० देखि अहिलेसम्म भएको विकासलाई हेर्ने हो भने आठ हजार वर्षको भन्दा यो ५० वर्षको प्रविधिमा विकास बढी छ । यो विकास विज्ञान–प्रविधिको मात्रै विकास होइन । त्यसैले अब हाम्रो सोच्ने तरिकादेखि काम गर्ने शैली पनि फेरिनुपर्ने हुन्छ ।

सफ्टवेयरको सङ्केतमा मेसिन चल्न थालेदेखि मजदुरहरू कारखानाबाट विस्थापित हुन थाले र सेवाको क्षेत्रमा छरिन बाध्य भए । जस्तै– नेपाल बाहिर गएका ३०–४० लाख युवाहरूको एक प्रतिशत मान्छे पनि उत्पादनको क्षेत्रमा छैनन् । कोही पसलमा छन्, कोही बुढाबुढी स्याहार्नेमा । कोही एयरपोर्टमा पाले छन्, कोही हङकङमा सुरुङ खनिरहेका छन् । कोही कतारमा घर र बाटो बनाइरहेका छन् । आज अरबौँ मानिस सेवाको क्षेत्रमा छन् । हिजो लेनिनले भने जसरी मजदुरहरू कारखानामा केन्द्रित हुन सक्ने स्थिति अब भएन । बरु कारखानाबाट विस्थापित भएर असङ्गठित सेवाको क्षेत्रमा जान बाध्य भए । ती मजदुर र श्रमिकलाई अब कसरी सङ्गठित गर्ने ? त्यस कुराको उपाय पनि हामीलाई विज्ञान प्रविधिले दिएको छ ।

आजको गुणात्मक रूपमा विकसित विज्ञान प्रविधि र ज्ञानका सबै शाखाहरूलाई उपयोग गरेर असङ्गठित श्रमीकहरूलाई तीव्र रूपमा सङ्गठित गर्न सकिने र क्रान्तिपछि मात्र समाजवादको निर्माण होइन बरु अहिलेदेखि नै पुँजीवादसँग समानान्तर रूपमा समाजवादी समाजको भ्रुणहरू हुर्काउँदै जान सकिने एउटा महान परिस्थिति खडा हुन पुगेको छ । अबको नेपाली कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलन मुख्य उत्पादक शक्तिको स्तरमा विकसित आजको विज्ञान प्रविधि र लेनिनले भनेझैँ आफ्नो युगको ज्ञानको सबै शाखामा विकसित चेतनालाई मुख्य हतियार बनाएर कार्यनीति र रणनीति निर्माण गर्ने हुन्छ । यसरी मात्र नयाँ युगमा नयाँ चरणको थालनी गर्नुपर्ने वस्तुगत आवश्यकताले साकार रूप लिन सम्भव छ । त्यसकारण मैले भन्न खोजेको के भने यो वस्तुगत आवश्यकतालाई पक्रेर १६–३५ वर्षका युवाहरूले सपना देख्न सक्ने गरी, त्यो पुस्ताले नै क्रान्तिको वास्तविक नेतृत्व लिएर वैज्ञानिक समाजवादी व्यवस्थामा जानका निम्ति नवीन कम्युनिस्ट आन्दोलनको चक्र सुरु गर्नु आवश्यक छ । हामी त्यसैमा चिन्तनरत र त्यसैको तयारीमा छौँ ।

महिला जसलाई आधा आकास भनिन्छ, नेपालको कम्युनिस्ट आन्दोलनलाई नियालेर हेर्ने हो भने महिला नेतृत्वको निकै अभाव देख्छौँ । यसका के कारण हुन् र महिला नेतृत्वको फौज तयार पार्न केके चुनौतीहरू छन् ?
यो छोटो अन्तरवार्तामा धेरै विषयमा विचार राख्न सम्भव छैन । अबको कम्युनिस्ट आन्दोलन निर्माण गर्न हामीले कतिपय परिमार्जन गर्दै र कतिपय नवीन अवधारणाहरू संस्लेषण गर्दै अगाडि बढ्नुपर्ने आवश्कता छ । त्यसमध्येका दुइटा कुरा म तपाईंलाई भन्न चाहन्छु । पहिलो, महिलाकै विषय हो भने दोस्रो दक्षिण एसियामा रहेको जात व्यवस्था ।

माक्र्स–एङ्गेल्सले महिलाहरूको मुक्तिको सन्दर्भमा जे अवधारणा ल्याउनु भयो, त्यो पितृसत्ता विरोधी अवधारणा हो । कम्युनिस्ट पार्टीहरूले राजनीतिक आन्दोलनमा ल्याउनका निम्ति महिलाहरूलाई अपिल गरे र ल्याए पनि । तर महिला पर्यावरणलाई हेर्ने माक्र्सवादी अवधारणाद्वारा सिङ्गो कम्युनिस्ट आन्दोलनलाई प्रशिक्षित गर्न सकेनन् । महिला भनेको सामान्य लिङ्गको प्रश्न मात्रै थिएन र होइन । आदिम साम्यवादी युगपछि सबै युगमा महिला यो समाजको उत्पीडित र प्रतिपक्षी समुदाय हो । किसानको मुक्ति सामन्तवादको अन्त्यपछि हुन्छ । मजदुरको मुक्ति पुँजीवादपछि प्राप्त हुन्छ । तर महिलाको सम्पूर्ण मुक्ति सम्पूर्ण मानवजातिको मानवताको मुक्तिसँगै जोडिएको छ ।

विश्वको आधा जनसङ्ख्यामा रहेका महिलाहरूको बारेमा कम्युनिस्ट आन्दोलनमा जुन उचाइका साथ नीतिहरू बनाइनुपर्ने थियो, त्यो नबनाइएकै हो । भन्नुको अर्थ सिङ्गो १७० वर्षको कम्युनिस्ट आन्दोलनमा महिलाहरूको विषयमा गम्भीर त्रुटि भएको छ । आज पनि महिलालाई एउटा पुँजीवादी कार्यकर्ताले जुन दृष्टिकोणका साथ हेर्छ, कम्युनिस्ट पार्टीको कार्यकर्ताले पनि आधारभूत रूपमा त्यही दृष्टिकोणले हेर्छ । राजनीतिक भाषणमा महिला यस्तो हुनु पर्छ, त्यस्तो हुनुपर्छ भन्छ तर आधारभूत सामाजिक हेराइमा ऊ पनि फेरिन सकेको छैन ।

म एउटा सानो उदाहरण दिऊँ– समाजको निरन्तरताको निम्ति प्रजनन अनिवार्य छ । प्रजननमा निर्णायक र आधारभूत भूमिका महिलाको हुन्छ । तर आजसम्म कम्युनिस्ट पार्टीको कार्यशैली र कार्यविधि हेर्ने हो भने महिलाहरूले बच्चा जन्माएकै आधारमा उसको अङ्क घट्ने गरेको छ । यसको जरो हाम्रो परिवारको सामाजिक बनोटमा गएर जोडिन्छ । किनभने परिवारहरूको बनोट पितृसत्तात्मक संरचनामा आधारित छ । समग्र महिला र ती महिला कार्यकर्तालाई हेर्ने कम्युनिस्ट अवधारणाको निर्माण परिवारहरूको पुनर्गठन गरेर गर्नुपर्ने थियो । तर हामीले परिवार गठनको पितृसत्तात्मक ढाँचालाई परिवर्तन गर्न सकेनौँ ।

त्यसैले आजको कम्युनिस्टले यस विषयलाई पनि नयाँ ढङ्गले सोच्न जरुरी छ । उसले महिलाहरूले बच्चा पाउने भनेको समाजको, क्रान्तिको निम्ति प्राथमिक कुरा हो भनेर किन नबुझ्ने ? पार्टीमा सक्रिय महिलाहरू सन्तान उत्पादनमा लाग्दा पार्टीहरूले उनीहरूका लागि क्षतिपूर्तिसहितको विशेष प्रशिक्षण किन नचलाउने ? समाजको निरन्तरता र क्रान्तिका निम्ति तपाईंले थप एउटा मानिस जन्माउनुभयो भनेर उनीहरूलाई सम्मान किन नगर्ने ? त्यस कारण यस विषयमा कम्युनिस्टहरूबाट गम्भीर त्रुटि मात्र होइन कि कसुर नै हुन पुगेको छ । त्यसैले यसलाई परिवर्तन गर्नुपर्ने गम्भीर आवश्यकता छ ।

त्यसैगरी दक्षिण एसियाको सन्दर्भमा अर्को महत्वपूर्ण जात व्यवस्थाको बारेमा माक्र्सवादीहरूले ध्यान दिन सकेनन् । जात व्यवस्था भएको समाजमा वर्ग निर्माणमा जात व्यवस्थाको कस्तो भूमिका छ भन्ने बारेमा र वर्ग र जात व्यवस्थाको अन्तरसम्बन्धका बारेमा कम्युनिस्टहरूले ध्यान दिन सकेनन् । माक्र्सवादी ढङ्गले यस विषयमा हामीले कहिलै पनि सही धारणा बनाउन सकेनौँ र त्यसको अपनत्व पनि लिन सकेनौँ । दक्षिण एसियाको समाज भनेको मूलतः जात व्यवस्थामा आधारित समाज हो ।

भन्नुको अर्थ जात व्यवस्थामा आधारित समाजको वर्ग निर्माणमा जातको जबरजस्त भूमिका छ । हामीले वर्गको कुरा गर्दा जात व्यवस्था छोडिदिने जात व्यवस्थालाई सांस्कृतिक रूपमा मात्रै हेर्न मिल्दैन । जात व्यवस्था भनेको समग्र अर्थराजनीतिक प्रणाली हो । अनि यसलाई खुट्याउनै नचाहने । यसलाई चलायो कि वर्वाद भइन्छ भन्नु भनेको गलत सोच हो । बरु कम्युनिस्टहरूले अन्तरविरोधलाई चलाएर बर्बाद भइन्छ होइन कि त्यसको सही सञ्चालन गरेर हल पो गर्छन् । त्यसकारण संसारकै हकमा महिला र दक्षिण एसियाको सन्दर्भमा दलित अथवा जात व्यवस्थाबारे नयाँ युगका कम्युनिस्टहरूले ठीक ढङ्गले परिभाषित गर्नुपर्नेछ ।

पहिलो संविधानसभाको निर्वाचनपछि देशमा एउटा कुरालाई निकै जोडतोडका साथ उठाइएको छ त्यो होसमृद्धि र आर्थिक विकास । के हामी अहिलेकै समाजिक संरचनामा समृद्धि र समाजवादतर्फ जाने हो अथवा त्यो समृद्धि र समाजवाद आएमा कस्तो र कसका लागि भन्ने प्रश्न रहँदैन ?
पहिलो कुरा त पुँजीवादीहरूले परिभाषित गरेको समृद्धि र माक्र्सवादीहरूले परिकल्पना गरेको समृद्धि एउटै हो कि होइन ? जसले समृद्धि भनिरहनु भएको छ, उहाँहरूले यो उत्तर दिनुपर्छ कि पर्दैन ? यहाँ त कस्तो देखिएको छ भने घोर पुँजीवादी र आफूलाई माक्र्सवादी हुँ भन्नेले पनि समृद्धिको खास अवधारणा पेश गर्न सकेका छैनन् । भन्नुको अर्थ समृद्धि भन्ने वित्तिकै एउटै र उस्तै हो भने जस्तो । तर कुरा के हो भने फरक–फरक वर्गको स्वार्थका निम्ति गरिने समृद्धि एकै प्रकारको हुँदैन ।

उदाहरणका लागि पुँजीवादीहरूले समृद्धिभन्दा ठूलो सडक– आफ्ना धेरै कार गुडाउन र सपिङ कम्प्लेक्स– साना पसलेलाई सकेर मुनाफा आफूमा केन्द्रित गर्नका लागि भनिरहेका हुन्छन् । तिनको कार र मुनाफा कटाइदिने हो भने किन चाहियो ठूलो सडक र सपिङ मल ? लुटेर खाने वर्गका निम्ति ठूलो सडक बनाउने भन्दा भूमिहीनहरूलाई उत्पादनका निम्ति जमिन उपलब्ध गराए हुँदैन ? पुँजीवादी विकास र समृद्धि भनेको मुठ्ठीभर मानिसका लागि भव्य विलासिताको सृजना गर्ने र बहुसङ्ख्यक जनतालाई १८ घण्टा काम लगाएर जीवनभर एउटा फ्ल्याटको ऋण तिर्न नसक्ने गरी मेसिन बनाउनका लागि हो ।

मेसिन के अर्थमा भनेको भने मेसिनले ऊर्जा खान्छ तर उसले आफ्नो बारे भने कहिलै पनि सोच्दैन । मेसिनले समाजका बारे सोच्दैन । मेसिनले सिङ्गो पर्यावरणीय विनासका बारेमा सोच्दैन । पुँजीवादी समृद्धिले मानिसलाई यस्तै खाले मेसिनमा परिणत गरिदिन्छ । पुँजीवादी समृद्धिको मूल मर्म कमजोरको शोषण र दोहन गरेर आफूले विलासिताको उपभोग गर्ने भन्ने हो । हामीले चाहेको समृद्धि त्यही हो ? यस्तो खाले समृद्धिले विश्वको पर्यावरण ध्वस्त पार्दैछ । स्टेफेन हकिङसको शब्दमा पुँजीवादी समृद्धिले हामीलाई चन्द्रमामा भाग्नुपर्ने अवस्था ल्याउँदैछ ।

यसमै अर्को महत्वपूर्ण कुरा भनेको अहिले समृद्ध भनिएका पुँजीवादी मुलुकहरू कसरी समृद्ध भए त ? यो गम्भीर प्रश्न हो । युरोप, अमेरिका आज जुन अवस्थामा छ के त्यो उनीहरूले आफैले गरेर अथवा के त्यो उनीहरूको आफ्नै साधान स्रोतले भएको हो त ? भन्दा जवाफ सजिलो छ– होइन । युरोपियनहरू आजको जस्तो खाले समृद्धिमा पुगेका छन्, के त्यो सबै उनीहरूले युरोपमै उत्पादन गरेको हो ? होइन । अफ्रिका, ल्याटिन अमेरिका र एसियामा २–३ सय वर्ष लुट मच्चाएर, उनीहरूको साधान स्रोतबाट उनीहरूलाई नै बेदखल गरेर आजको युरोप, युरोप भएको हो ।

विश्वका मानिसहरूलाई रद्दीको टोकरीमा फालिनलायक भन्ने अमेरिका के आफ्नै साधन स्रोतमा ठडिएको हो ? होइन । विश्व अर्थतन्त्रमाथिको उसको पकड के उसले पसिना बगाएर निर्माण गरेको हो ? होइन । सारा ल्याटिन अमेरिकालाई चिहान बनाउने को हो ? अरबका अस्पताल र विद्यालयमा बम खसालेर प्रजातन्त्रको कुरा गर्ने को हो ? डिप्रेसनका रोगीहरू कहाँ छन् ? जवाफ सजिलो छ, सारा अफ्रिका, ल्याटिन अमेरिका र एसिया लुटेर अमेरिका त्यो ठाउँमा पुगेको हो ।

हाम्रा केही नेताहरू चीन गएर आएपछि सास पनि फेर्न नसक्ने गरी विकास भएको सुनाउनु हुन्छ । चीन कसरी विकास भयो ? जिम्बाब्बेले आफ्नो नोटसमेत चलाउन नसक्ने गरी चिनिया युआन चलाउन बाध्य भएको छ । सारा अफ्रिका, ल्याटिन अमेरिका र एसिया लुटेर निर्माण गरिएको समृद्धिको के अर्थ छ ? मानिलिनुस नेपालले लुटेरै भए पनि समृद्ध हुने भयो भने कसको लुट्ने ? त्यसकारण समृद्धिको अहिले भइरहेको बहसको प्रस्तान विन्दु नै गलत छ ।

उहाँहरूले भनेजस्तो यदि त्यस्तो समृद्धि निर्माण भयो भने पनि त्यो दुःखद हुनेछ । किनभने त्यो समृद्धिले आम नागरिकको समस्या हल गर्ने होइन कि समस्या बल्झाउने छ । नेपाल मुठ्ठीभर मानिसहरूका लागि स्वर्ग र बहुसङ्ख्यकका लागि मृत्युको नारकीय खाडल हुनेछ । साथसाथै हामीले जोगाएर राखेको अलिहेसम्मको पर्यावरण समेत ध्वस्त हुनेछ । संसारको पर्यावरण बचाएर मानव जातिको अस्तित्व जोगाउन र न्यायपूर्ण वितरण प्रणालीमा आधारित वैज्ञानिक समाजवादी समृद्धितिर नगईकन पुँजीवादले ल्याएका विनासकारी समृद्धिविरुद्ध जुध्न सम्भव नै छैन् भन्ने कुरा प्रष्ट छ ।

अनि समाजवाद ?
समाजवाद त नेपालमा ठट्टा भएको छ । जर्मनीमा हिटलरले पनि आफूलाई समाजवादी भन्थे । भारतमा इन्दिरा गान्धीले घोषणा गरेको सङ्कटकाल पनि समाजवाद ल्याउने नाममा नै थियो । नेपालमा केपी ओली र प्रचण्डले भनेको पनि समाजवाद नै हो । कहाँसम्म भने देउवाले भनेको पनि समाजवाद नै हो ।

पदावलीकै कुरा गर्ने हो भने पनि कम्युनिस्टहरूले भनेको घिसेपिटे समाजवाद होइन, वैज्ञानिक समाजवाद हो । समाजवाद समृद्धि आउने वित्तिकै अथवा धनी हुने वित्तिकै आउने कुरा पनि होइन । यदि त्यसो हो भने सबैभन्दा पहिले समाजवाद अमेरिकामा आउनुपर्ने हुन्थ्यो । अहिले होइन, त्यो पनि धेरै पहिले । बेलायतमा आउनुपर्ने हुन्थ्यो अहिले होइन, धेरै पहिले । सारा युरोप समाजवादमय हुनुपर्ने थियो । त्यो पनि आज होइन धेरै पहिले ।

समाजवादी क्रान्तिमा जान समृद्धि अथवा धेरै उद्योगधन्धा भएर मात्र गइँदैन । त्यहाँ सिद्धान्तनिष्ट कम्युनिस्ट पार्टी, त्यसमा पनि सिद्धान्तनिष्ट नेतृत्वको डफ्फा र आम श्रमिक सर्वहारालाई कम्युनिस्टको रूपमा सङ्गठित गरिएको समाज चाहिन्छ । के अहिले पनि माक्र्सवाद क्रमिक सुधारको अथवा विकासवादी सिद्धान्त हो भन्छन् कि क्या हो यहाँका कम्युनिस्टहरू ? अनि बल प्रयोगको सिद्धान्त मान्दैनन् भने समाजवाद आउँछ कसरी ? कपाल काट्न पनि बल प्रयोग गर्नुपर्ने हुन्छ । अपरेशन गर्नुपर्छ भन्ने तर चक्कु चलाउनुपर्दैन भन्ने ? यो कुरा मिल्ने कुरा होइन ।

निरपेक्ष रूपमा जहिले पनि बल प्रयोग हुन्छ, त्यो पनि होइन । अर्को विरोधी वर्ग अरर्बौंको वार्षिक बजेट छुट्याएर सेना र ट्याङ्क लिएर बसेको छ अनि तपाईं भन्नु हुन्छ विकास गर्दै समाजवाद आउँछ ? आजको युवा यति मूर्ख छैन, जसले त्यस्तो कुरा पत्याओस् । आजको युवा जसलाई समाजवाद चाहिएको छ, त्यसले आफ्नो भविष्य र भावि पुस्ताका निम्ति लड्छ । जसले आफ्नो आस्था, निष्ठा, विगतप्रतिको इतिहासलाई समेत धमिलो बनाएर हिँडेको छ, त्यो पुस्ताको मान्छेले समाजवाद ल्याउँछु भन्नु हास्यास्पद हुन्छ । आज नयाँ युवा आएको छ, जसले डिजिटल युगको बारे सोच्छ, त्यो युवाले समाजवादको सपना देख्छ र त्यसले नै समाजवादी क्रान्तिलाई अघि बढाउँछ ।