उपनिवेशीकरणमा भाषाको भूमिका निकै शक्तिशाली हुन्छ : न्गुगी वा थ्योङ्गो

विश्वविख्यात साहित्यकार न्गुगी वा थ्योङ्गोकेही दिनयता भारतमा छन् । भारतको कोलकाता हुँदै दिल्ली आइपुगेका उनीसँग हालै दिल्लीमा छलफल गर्ने मौका जुर्यो । ‘डि क्लोनाइजिङ द माइन्ड : दि पोलिटिक्स अफ लेङ्वेज इन अफ्रिकन लिटरेचर’ नामक पुस्तकबाट विश्वभरिको बौद्धिक जगतमा तरङ्ग पैदा गर्ने न्गुगीको जन्म सन् १९३८ मा केन्यामा भएको हो ।

उनको वास्तविक नाम जेम्स न्गुगी हो । आरम्भका उनका रचनाहरू जेम्स न्गुगी नाममै प्रकाशित छन् । तर हालका दिनहरूमा उनले न्गुगी वा थ्योङ्गोको नामबाट कलम चलाउँछन् । सन् १९७७ मा उनले लेखेको र मञ्चन गरेको गिकुयु भाषाको नाटक ‘न्गाहिका न्दिन्दा’ (आई विल मैरी भ्यान आई वाट) का लागि उनलाई तत्कालीन सरकारले पक्राउ गर्यो । माक्र्सवादी विचारबाट प्रेरित भएर लेखेकै आधारमा सरकारद्वारा जेलको चिसो छिँडीमा बस्न बाध्य बनाइएका लेखक न्गुगी सन् १९७८ मा जेलबाट रिहा भएलगत्तै आफ्नो देशमा बस्नसक्ने अवस्था नभएका कारण निर्वासित हुनु पर्यो ।

निर्वासित जीवन बिताउन बाध्य भएलगत्तै उनी लन्डनमा शरण लिन पुगे र पछि अमेरिका गएर बस्न थाले । निर्वाशित भएको २२ वर्षपछि केन्या जाने अनुमति पाएका न्गुगी वा थ्योङ्गोले आफ्नो रचनाकर्म अङ्ग्रेजीमा भाषामा आरम्भ गरे पनि पछि गिकुयु भाषामा लेख्न थालेको बारे उनले भनेका छन् – ‘भाषाको अर्थ हो त्यहाँसम्मको पहुँच । लेखकले जब आफ्नो रचनाक्रमका लागि भाषाको चयन गर्छ, तब उसले आफ्नो रचना अथवा कलाको पनि सीमाङ्कन गर्छ । आफ्नो कामलाई जनताको कुन तप्कामा उसले पुर्याउन चाहेको हो अथवा छ, त्यसको निर्धारण उसले रोजेको भाषाले स्पष्ट हुन्छ ।’

न्गुगीसित सोध्नका लागि धेरै जिज्ञासाहरू हुँदाहुँदै पनि उनको समय अभाव एवम् स्वास्थ्यका कारणले छोटो समय भए पनि हामीले उनीसँग छलफल गर्यौँ । ८० वर्षको उमेर भए पनि आफ्नो लेखनकर्ममा अझै पनि सक्रिय रहेका उनीसँग उक्त छलफलमा भारतका वरिष्ट कवि मङ्गलेश डबराल, वरिष्ठ पत्रकार आनन्दस्वरूप वर्मा, गार्गी प्रकाशनका दिगम्बर, पारिजात, पत्रकार अभिषेक श्रीवास्तव र अध्ययता रेयाजुल हक सहित म सहभागी थिएँ । 

न्गुगी वा थ्योङ्गोसँग छलफलमा उठेका केही महत्वपूर्ण विचारहरू हामीले पाठकका लागि महत्वपूर्ण हुने ठानेर त्यसलाई अन्तरवार्ता शैलीमा प्रस्तुत गरेका छौँ ।– विष्णु शर्मा। यो सामग्री हामीले रातोपाटीबाट लिएका हौं ।

तपाईंले केन्याका जनताको साम्राज्यवाद विरोधी र पछिका सङ्घर्षहरूलाई आफ्नो लेखनको केन्द्रीय विषय बनाउनुभएको छ । के यो एउटा सचेत निर्णय हो ?

रचनाकर्म अथवा सृजनलाई सङ्घर्षको अर्को मोर्चाका रूपमा हेर्नुपर्छ । सन् १९५९ मा मैले लेख्न आरम्भ गरेँ र सन् १९६१ मैले ‘द रिभर बिटविन’ पूरा गरेँ । कलेजको अध्ययन पूरा गर्ने क्रममा नै मेरा दुईवटा उपन्यासका पाण्डुलिपि पूरा भइसकेका थिए । साथै दुईवटा नाटकहरू मञ्चन भइसकेका थिए ।

तिनताका म एउटा साप्ताहिक पत्रिकाका लागि नियमित स्तम्भ लेखिरहेको थिएँ । मलाई लाग्छ, यो सबै कुरा त्यस बेलाको सङ्घर्षका कारण सम्भव भयो । हामीहरू आफैले आफूलाई समाजको प्रबुद्ध अग्रदस्ताको रूपमा हेर्ने गथ्र्यौँ । राजनीतिक रूपमा त्यतिबेला केन्यामा ‘मेड इन केन्या’को नारा घन्किरहेको थियो ।

हामी नयाँ समाजको निर्माणमा उत्साहकासाथ सामेल भयौँ । हामीहरूलाई हामी पनि केही रचना र निर्माण गर्न सक्छौँ भन्ने लाग्थ्यो । त्यो भनेको सङ्घर्षको चरण थियो । हाम्रो सोच सही थियो भन्ने कुराको आभास हामीलाई त्यसबेला भयो जति बेला हामीले केही निर्माण गर्न सक्छौँ भन्ने कुरा हामीलाई हाम्रो समाजको सङ्घर्षले सिकायो । त्यसबेला हाम्रो अभियान नै थियो– ‘केन्यामा बनाउँ, केन्याको किनौँ’ ।

त्यो उपनिवेशवादबाट मुक्तिपछिको कुरा हो ? र अन्य समाजजस्तै आत्मनिर्भर हुने सपनाको युग पनि थियो होइन त ?
यहाँ हामी सबैले के कुरा बुझ्नुपर्ने हुन्छ भने अन्य देशहरू जस्तै अफ्रिकाको उपनिवेशीकरण यथार्थमा उसको संसाधनको उपनिवेशीकरण हो । जसले जे भने पनि एकले अर्कोलाई उपनिवेशन बनाउने कुरा कुनै खालको सौन्दर्य मूल्यको अभिव्यक्ति अथवा सदिच्छा होइन । बरू मनुष्यहरूको उपनिवेशीकरण उनीहरूको संसाधनलाई आफ्नो कब्जामा लिनका लागि हुन्छ । यो एक प्रकारको लुटको स्वरूप हो ।

त्यसो भए ‘मेड इन केन्या’ एक प्रकारले उपनिवेशवादको प्रतिकारका रूपमा जन्मिएको थियो ?
हो, १९६० मा केन्याका जनताले के बुझे भने, लौ अब हामीले आफ्नै संसाधनमाथि नियन्त्रण गर्न सक्छौँ र त्यस प्रक्रियामा उपनिवेशवादी देशहरू अथवा पश्चिमको हार हुनु स्वाभाविक हो । त्यो बेला हाम्रो मूल नारा राष्ट्रीयकरण थियो । हामीले भारत, ल्याटिन अमेरिका, बाङ्डुङ सम्मेलनलगायतबाट प्रेरणा लिँदै राष्ट्रीयकरणको कुरा गरिरहेका थियौँ ।

यो सबै उतार–चढाव हुँदै गर्दा पश्चिमले हेरिरहेको थियो । पश्चिमको समृद्धि यी देशहरूका संसाधनहरूमा पूर्णरूपले निर्भर थियो । त्यो बेलाको विचार नै राष्ट्रीयकरण थियो । केन्यामा हाम्रो नारा तीन रोगहरूबाट मुक्त हुनुपर्छ भन्ने थियो । जस्तै– अज्ञानता, गरिबी र रोग । यी तीन कुरा सबै नीतिहरूको केन्द्रमा थिए । युरोपले यी सबै कुरालाई नियाली रहेको थियो र १९७० मा युरोपले नयाँ नारा लिएर आयो जसलाई निजीकरण भनियो ।
के भन्न थालियो भने, सरकारको अवधारणा नराम्रो कुरा हो । सरकारले चलाएका संस्थाहरूको अवस्था सारै नराम्रो छ । निजीकरणलाई धेरै प्रचार गर्न थालियो । केन्यामा कपडा र अन्य कारखानाहरूलाई

निजीकरण गरियो र अफ्रिकाका अन्य देशहरूमा पनि सोही नीतिलाई लाद्दै निजीकरण गरियो ।

आज हामीले त्यसका परिणामहरू भोगिरहेका छौँ । त्यति नै बेला शिक्षा र स्वास्थ्यको निजीकरणको कुरा पनि गरियो । कुनै पनि कुरा निःशुल्क नहुने भनियो । सरकारले जागिर दिन हुन्न भनियो । त्यो अवस्थामा अतिरिक्त श्रम कता खप्ने त ? बुद्धिजीवीहरूलाई एनजीओ अथवा गैरसरकारी संस्थाहरूमा छिराउने र तीनको बौद्धिकतामा ल्याउन लगाउने कामको सुरुवात पनि त्यति नै बेलादेखि हुन थालेको हो ।

आजभोलि न्यूनतम सरकारको धेरै कुरा हुने गर्छ नि, त्यसलाई कसरी हेर्ने ?
सरकारलाई कसरी बुझनुपर्छ भने यो एक प्रकारको कम्पनी हो । जसमा हाम्रो सेयर छ । यो हाम्रो भोटले निर्माण भएको कम्पनी हो । यो कम्पनी जस्तो भए पनि हाम्रो हो तर निजीकरणका पक्षधरहरूले हामीलाई आफ्नै कम्पनीमा अविश्वास गर्न सिकाए ।

उनीहरूले हामीलाई बरु यस्तो कम्पनीमा विश्वास गर्नुपर्छ भने जसमा हाम्रो कुनै दखल नै हुन सक्दैन । हामीले यो कुरा ठीक होइन भन्न सक्नुपर्छ । लेखकका रूपमा हामीले के कुरा पनि भन्न सक्नुपर्छ भने असामानता साधारण कुरा होइन र यसलाई आम कुरा भन्न मिल्दैन । हामीले सरकारको अवधारणामाथि विश्वास गर्नुपर्छ ।

भाषाको सन्दर्भ लिऊँ, तपाईंले अङ्ग्रेजीमा लेख्न छोड्नुभयो । अङ्ग्रेजीमा लेख्दा धेरै जनमानसले तपाईंका कुरा बुझने अवसर पाउँथे होला होइन र ? यसबारे थप स्पष्ट पार्नुहुन्छ कि ?
यो प्रश्न पनि एक प्रकारको असामान्यतालाई सामान्य बनाउने कुरा हो । बारम्बार मलाई तपाईं अङ्ग्रेजीमा किन लेख्नुहुन्न भनेर सोध्ने गरिन्छ । म भन्छु, यो प्रश्न गैरपश्चिमी लेखकहरूलाई मात्र कनि सोध्ने गरिन्छ ? कुनै फ्राँसिसी, अङ्ग्रेजी अथवा पोलिस भाषाका लेखकहरूलाई यो प्रश्न किन सोधिन्न ? मैले भाषा रोझनुको अर्थ हो केन्याका श्रमिकहरूले मेरो लेखन पढ्न सकून । अन्यले पनि अनुवादमार्फत यसको अध्ययन गर्न सक्छन् ।

उपनिवेशीकरणमा भाषाको कस्तो भूमिका हुन्छ ? उपनिवेशवादी शक्तिहरूले गुलाम बनाउन भाषाको प्रयोग गर्छन् भनेर तपाईंले भन्नुभएको छ, यसलाई प्रष्ट पार्नुहुन्छ कि ?
उपनिवेशीकरणमा भाषाको भूमिका निकै शक्तिशाली हुन्छ । जब जनताको भाषामाथि नियन्त्रण हुन्छ तब ती जनताका धेरै कुराहरूमा नियन्त्रण कामय गर्न सजिलो हुन्छ । समाजको ढाँचा ‘हाइरार्की’मा अडिएको हुन्छ । समाजको त्यो ‘हाइरार्की’लाई भाषाको माध्यमद्वारा सुदृढ गरिन्छ । सत्ताधारी वर्गको भाषालाई आदर्श भाषाका रूपमा प्रस्तुत गरिन्छ र धेरै मानिसलाई त्यो भाषासम्मको पहुँच हुनबाट रोक्न अवरोधहरू खाडा गरिन्छ । यसैलाई हामीले भाषाको साम्राज्य भन्न सक्छाँै । शासकहरूले यसैका माध्यमबाट शोषण र आफ्नो लुट कायम राख्छन् ।